शुक्रबार, साउन १, २०८३

ब्युरो अवधारणाको बाधक प्रहरीकै नियमावली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीमा हालै दुई वटा ब्युरो थपिए । तीसँगै प्रहरीमा ब्युरो संख्या पाँच पुगेको छ । प्रहरी ब्युरो संरचनातर्फ अगाडि बढ्दै गर्दा ‘करिअर प्लानिङ’को पाटो भने परम्परागत नै छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो र लागूऔषध नियन्त्रण ब्युरो स्थापना भएका थिए । ती सबैको नेतृत्व नायब महानिरीक्षक (डीआईजी)ले गर्दै आएका छन् । भरखरै साइबर क्राइम ब्युरो र मानव ओसारपसार अपराधविरुद्धको ब्युरो स्थापना भएका छन्, जसको कार्यालयलगायत संरचना तयार हुने क्रममा छन् ।

साइबर क्राइमको नेतृत्व डीआईजीले गर्नेछन् भने मानव ओसारपसारमा एसएसपी कमान्डर हुनेछन् । दुवै नयाँ ब्युरोमा दरबन्दी पनि कायम भइसकेको छ ।

नेपाल प्रहरीमा ब्युरोको अवधारण विकास हुनुलाई जानकारहरूले सकारात्मक मानेका छन् । तर, हालसम्म काम गरिरहेको प्रहरी ऐन र नियमावलीका प्रावधानका कारण ‘करिअर प्लानिङ’को पाटो कमजोर देखिएको छ ।

कार्यसम्पादन मूल्यांकनका क्रममा दिइने अंकको प्रावधानका कारण तल्लो तहका प्रहरी ब्युरोमा बसिरहन रुचाउँदैनन् । अधिकृत तहको त हरेक वर्ष सरुवा हुने प्रावधान छ । जब कनिष्ठ अधिकृत मानिने नायब निरीक्षक (सई), सहायक निरीक्षक (असई)देखि तल्लो तहका कर्मचारी स्थायी ढंगले ब्युरोहरूमा बस्न सक्ने गरी करिअरको योजना हुँदैन, ब्युरोहरूले ‘आफ्ना क्याडर’ पाउँदैनन् । 

र, जबसम्म लामो समय काम गरेको जनशक्ति ब्युरोहरूमा हुँदैनन्, तबसम्म अपराध अनुसन्धानको पाटोमा जिल्ला, इलाकालगायत प्रहरीका अन्य एकाइकै जस्तो मानिस आउने र जाने क्रम चलिरहन्छ । त्यसका कारण ब्युरोहरूको प्रभावकारिता अन्य एकाइको भन्दा फरक हुन सक्दैन ।
 

प्रहरीमा बढुवा हुने आधार नम्बरअनुसार दुर्गममा काम गरेका प्रहरीले पाँच नम्बर बढी पाउँछन् । काठमाडौं केन्द्रित ब्युरोहरूमा लामो समय बिताउनुको अर्थ फिल्डमा खटिएका आफ्ना ब्याचीहरू भन्दा पछाडि पर्नु हो ।


‘ब्युरोहरू विशेष अनुसन्धान एकाइहरू भएकाले त्यसमा काम गर्ने अनुसन्धानकर्ता र प्रहरी जवानलाई कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट अंक दिनुपर्छ,’ पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, ‘नत्र, उनीहरूको मनोबल उच्च हुन सक्दैन । ब्युरोमा काम गर्ने कर्मचारीलाई प्राथमिकतामा राखेर मूल्यांकन गर्नुपर्छ ।’

तथापि, कामका आधारमा प्रहरीको वृत्ति विकास हुने हालको कानूनी व्यवस्था ब्युरोमैत्री छैन । प्रहरी नियमावलीअनुसार प्रहरीमा बढुवा हुने आधार नम्बरअनुसार दुर्गममा काम गरेका प्रहरीले पाँच नम्बर बढी पाउँछन् । जबकि, ब्युरोहरू काठमाडौं केन्द्रित हुन्छन् । र, ब्युरोहरूमा लामो समय बिताउनुको अर्थ फिल्डमा खटिएका आफ्ना ब्याचीहरू भन्दा पछाडि पर्नु हो ।

सोही कारण ब्युरोमा थोरै समय बिताएर फिल्डतिरै खटिने दाउमा हुन्छन्, प्रहरीहरू । जबकि, पछिल्लो दशकमा नेपाल प्रहरी ब्युरोहरूकै कारण प्रभावी देखिँदै आएको छ । लागूऔषध, सीआईबी र विशेष ब्युरोको प्रभावकारिताले अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान पाइसकेको छ ।

सीमित स्रोत-साधनका बावजुद प्रहरीको चुस्त कार्यसम्पादन अन्तर्राष्ट्रियस्तरमा पनि प्रशंसा बटुल्न सफल छ । हाल प्रहरीको जनशक्ति करिब ७५ हजार छ । संघीय शासन व्यवस्थाअनुसार प्रादेशिक संरचनामा जानैपर्ने बाध्यतामा छ, प्रहरी । पुनर्संरचना हुँदा केन्द्र सरकार मातहतमा प्रहरीको केन्द्रीय एकाइ रहनेछ । र, हाल स्थापना भएका पाँच ब्युरो केन्द्रीय प्रहरी मातहतमा रहनेछन् । 

अनि, ती ब्युरोमा खटाइने जनशक्तिका लागि हालका ऐन र नियमावलीका प्रावधान वृत्ति विकासका दृष्टिबाट उपयुक्त छैनन् । गहन अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीका ब्युरोहरू केन्द्रबाटै सञ्चालन गरिँदै आएको छ ।

‘ब्युरोको प्रभावकारिता गहन अनुसन्धानबाट सम्भव हुन्छ र त्यसका लागि सम्बन्धित ब्युरोमा लामो समय काम गरेको अधिकृत आवश्यक हुन्छ,’ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन् । 

उनका अनुसार विगतमा साइबर क्राइम र अवैध मानव ओसारपसारको अनुसन्धान साँघुरो दायराबाट हुन्थ्यो । अब ब्युरोको रूप पाएपछि दुवैको दायरा बढेको छ ।

गम्भीर प्रकृतिका हरेक घटनालाई टुंगोमा पुर्‍याउन शुरुदेखि नै त्यसमा अनुसन्धान गरेको र निरन्तर ‘फलो अप’ गरिरहेको अधिकृतबाट मात्र सम्भव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । अनौठो कुरा के भने नेपाल प्रहरीले करिब ३० वर्षदेखि ब्युरोको अभ्यास गर्दै आएको छ । तर, यति लामो अभ्यासमा पनि कार्यसम्पादन मूल्यांकनको प्रावधान परिमार्जन भएको छैन ।

निरीक्षकभन्दा माथिल्लो दर्जाका अधिकृतहरूले ‘कमान्ड’ र त्यसभन्दा मुनिका अधिकृत र कर्मचारीले दुर्गम क्षेत्र रोज्नुको कारण पनि त्यही हो । राज्य पुनर्संरचनाअनुसार संघीय प्रहरी ऐनको मस्यौदा छलफलको क्रममा छ । नयाँ प्रहरी ऐनमा ब्युरोहरू र तिनमा कार्यरत जनशक्तिको वृत्ति विकासको पाटो समेटिनुपर्ने माग प्रहरी अधिकारीहरूको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।