काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए। उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए। नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।
उनले भने, ‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ। अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली कांग्रेस नै हो।’
कांग्रेस नेता खेमराज केसीले समानुपातिकतर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए। उनले अझै पनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताए। उनले पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको बताए। नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीबिरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए।
उनले भने, ‘दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरु, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ति मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ। कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रुपमा वितरण गर्नुपर्छ। न्यायोचित रुपमा टिकट वितरण भएको खण्डमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको रुपमा सरकार बन्न सक्दछ। न्यायोचित रुपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभएको खण्डमा त्यो परिस्थिति पनि नआउला भन्न सकिँदैन।’
नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए। उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको बिरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाए। उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चिन सक्ने बताए। उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको बताए।
नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए। उनले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए। उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए बिद्रोहको विकल्प नभएको बताए। उनले पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले बिरोध गर्नुपरेको बताए। उनले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए। उनले सिट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताए।
त्यस्तै कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए। उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए। उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए।
उनले भने, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ। गठबन्धनसँग जनमत छ। राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो। मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन। हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ। त्यही अन्तर्गत यो चियापन हो। सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ। भएन भने बाँकी निर्णय हुन्छ। एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ।’
नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गरे। उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए। उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए। नेता शिवाकोटीले असोज २३ गते हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके विरोध थप चर्किने बताए।
बिहीबार काठमाडौंमा कोइराला पक्षधरका नेताहरुले चियापान र दसैं, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए। चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए।