मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक उम्मेदवार सूची बदल्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

समानुपातिक उम्मेदवार सूची बदल्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

कांग्रेसले आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर पार्टीभित्रै विरोध भएपछि संशोधन गर्न लागिएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फका उम्मेदवारमा एकलौटी गरेको आरोप लगाएपछि सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्।

समानुपातिक उम्मेदवार सूची संशोधनलगायत नमिलेका विषय टुंग्याउन १० बजेदेखि बालुवाटारमा छलफल भइरहेको हो।

कांग्रेसले ३ असोजमा निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर पार्टीभित्रै विरोध भएपछि संशोधन गर्न लागिएको हो।

एक कांग्रेस नेताका अनुसार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न सभापति देउवा सहमत भएकोले तीन दिनदेखि यो विषयमा छलफल भइरहेको छ।

आयोगले समानुपातिक उम्मेदवार सूची संशोधन गर्न १६ असोजसम्म दलहरूलाई समय दिएको छ।

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकटले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै धर्नालगायत कार्यक्रम गरिरहेका छन्।

प्रतिनिधिसभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो। सोही कारण कोइराला पक्षका नेताहरू असन्तुष्ट छन्।

कोइराला–थापा पक्षका केही नेताहरूको नाम समावेश गरेर समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताको भनाइ छ।


प्रकाशित: Sep 29, 2022| 11:13 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...