काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्।
प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले सदस्यता प्रदान गरेका थिए। प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन्। उनलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेको स्रोतको दाबी छ।
यसअघि उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए। चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन्। उनलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्री समेत बनाएका थिए। ०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन्।
केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन्। यसअघि उनी माइती महोत्तरी–३ बाट सांसद बन्दै आएकी थिइन्। तर, अब उनले लोसपा त्यागेर आफ्नो घर रहेको सर्लाही जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएकी छन्।