सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • रवीन्द्रलाई राप्रपामा भित्र्याउने कार्यक्रममा किन आएनन् लोहनी? यस्तो छ लिङ्देनसँगको लफडाको अन्तरकथा

रवीन्द्रलाई राप्रपामा भित्र्याउने कार्यक्रममा किन आएनन् लोहनी? यस्तो छ लिङ्देनसँगको लफडाको अन्तरकथा

रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो कुनै ठूलो विषय नभएको भन्दै थप प्रतिक्रिया दिन मानेनन्।
 |  बुधबार, असोज १२, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, असोज १२, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूहबीच बुधबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा भइरहँदा राप्रपाका नेता–कार्यकर्ता एक जना राप्रपा नेताको खोजी गरिरहेका थिए। राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई एकता एकता घोषणासभा नदेखेपछि राप्रपाका नेता–कार्यकर्तामा उनी किन उपस्थित भएनन् भन्ने प्रश्न उठाएका थिए।

triton college

रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो कुनै ठूलो विषय नभएको भन्दै थप प्रतिक्रिया दिन मानेनन्। उनले घोषणासभामा जानु भएनछ नि भन्ने प्रश्नको जवाफमा भने, ‘कुन ठूलो कुरा हो र?’ तर राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रम भएका कारण घोषणासभामा अनुपस्थित भएको बताए। 

मिश्रलाई राप्रपामा भित्र्याउने कार्यक्रममा लोहनी किन उपस्थित भएनन् भन्ने तथ्य पत्ता लगाउनका लागि राप्रपाको असोज १० गते सोमबारको कार्यसम्पादन समितिको बैठकमा फर्कनुपर्ने हुन्छ। उक्त बैठकमा समानुपातिकतर्फको उम्मेदवार सूचीमा कसको नाम १ नम्बरमा राख्ने भन्ने विषयमा मतदान नै भयो। मतदानमा पूर्वअध्यक्ष पशुपति शमशेर जबरासँग डा. लोहनी पराजित भए। एमालेसँग राप्रपाको तालमेलको चर्चा चलिरहेका बेलामा राप्रपाभित्र भने अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओलीले २०७४ सालको आम निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्डलाई जस्तै धोका दिएको चर्चा छ। २०७४ सालपछि ओलीले गरेको लिखित सहमतिअनुसार आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान थियो प्रचण्डको। तर उनले न नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा काम गर्न पाए, न आधा कार्यकाल प्रधानमन्त्री बन्न नै पाए।  

गत मंसिरमा भएको महाधिवेशनमा डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको वक्तव्य।
राप्रपाको महाधिवेशनका बेलामा डा. लोहनीसँग तीन बुँदे गोप्य सहमति गरेर कमल थापालाई पराजित गरेका लिङ्देनले सोमबारको कार्यसम्पादन समितिे बैठकमा डा. लोहनीलाई धोका दिएको चर्चा राप्रपामा छ। उक्त बैठकमा डा. लोहनीले महाधिवेशनका क्रममा भएको सहमति अनुसार आफ्नो नाम समानुपातिकको पहिलो नम्बरमा राख्नुपर्ने माग गरे। अर्का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले पनि वरिष्ठताका आधारमा आफ्नो नाम पहिलो नम्बरमा राख्नुपर्ने माग गरे। बन्दसूचीको पहिलो नम्बरमा नाम राखिएका हरिबहादुर बस्नेतले चाहिँ निर्वाचन आयोगमा पेश भएको बन्दसूचीलाई यथावत् राख्नुपर्ने धारणा राखे।

पहिलो बन्दसूचीमै १ नम्बरमा नाम राखिएका बस्नेतले मतदानको विरोध गरे। पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीले पनि पार्टीभित्र युवालाई स्थान दिने भनिए पनि बन्दसूचीमा वृद्ध नेताहरुलाई स्थान दिइएको भन्दै विरोध गरे। तर, पूर्वअध्यक्षद्वय राणा र डा. लोहनीले आ–आफ्नो नाम पहिलो नम्बरमा राखेर बन्दसूचीको नाम सच्याउनुपर्ने अडान राखेपछि मतदानमार्फत नाम टुंगो लगाइयो। कार्यसम्पादन समितिका २२ जना नेता मतदाता थिए। यसअघि बन्दसूचीको पाँचौं नम्बरमा नाम रहेका डा. लोहनीले ९ मतमात्रै प्राप्त गरे। अर्का पूर्वअध्यक्ष राणालाई ११ मत मिल्यो।

corrent noodles
Metro Mart

के थियो गोप्य सहमति?
गत मंसिरमा राप्रपाको महाधिवेशन सम्पन्न भयो। महाधिवेशनमा तत्कालिन अध्यक्ष कमल थापालाई पराजित गर्दै अप्रत्याशित रुपमा राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भए। लिङ्देन अध्यक्षमा निर्वाचिन हुनुको पछाडि डा. लोहनीको सहयोग महत्वपूर्ण थियो। लोहनीले लिङ्देनसँग ३ बुँदे सहमति गरेर महाधिवेशनमा सहयोग गरेको सोमबारको कार्यसम्पादन समितिको बैठकमा खुलासा गरेका थिए।

सो बैठकमा डा. लोहनीले वाचन गरेको त्यो गोप्य सहमतिपत्र अनुसार महाधिवेशनपछि डा. लोहनीलाई केन्द्रीय निर्देशन समितिको अध्यक्ष बनाउने उल्लेख छ। अर्काे बुँदामा समानुपातिकतर्फको पहिलो नम्बरमा डा. लोहनीको नाम राख्ने उल्लेख छ। तेस्रो बुँदामा  निर्वाचनपछि संसदीय दलको नेताको जिम्मेवारी लोहनीलाई दिने उल्लेख गरिएको छ। 

कसरी भयो लफडा? 
राप्रपाले समानुपातिकतर्फको बन्दसूची ३ असोजमा निर्वाचन आयोगमा बुझाएको थियो। आयोग जानुपूर्व बन्दसूचीलाई अन्तिम रुप दिन त्यसै दिन केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकिएको थियो। लिङ्देनले बैठकबाट निर्णय गराएर आयोगमा पेश गरेको बन्दसूचीमा पहिलो नम्बरमा पार्टी नेता हरिबहादुर बस्नेतको नाम थियो। त्यसपछि क्रमैसँग उद्धव पौडेल, नीलकण्ठ काफ्ले, दीपक खनाल, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराको नाम थियो।

समानुपातिकतर्फको बन्दसूची तयार गर्ने क्रममा लिङ्देनबाट धोका पाएपछि डा. लोहनीले त्यो बेला भएको गोप्य सहमति सोमबारको बैठकमार्फत सार्वजनिक गरिदिए। यहीबाट लिङ्देन र डा. लोहनीबीच लफडा सुरु भयो। राजनीतिक दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा बन्दसूचीको क्रमसंख्यामा अगाडि रहेका उम्मेदवारले समानुपातिक सांसद बन्ने अवसर पाउँछन्।

बन्दसूची अनुसार खस–आर्य पुरुष समूहतर्फ सबैभन्दा अगाडि हरिबहादुर बस्नेतको नाम भएकाले राप्रपाले आवश्यक मत प्राप्त गरेमा उनैले यो अवसर सबैभन्दा पहिले पाउने भए। तर, बन्दसूचीमा अध्यक्ष लिङ्देनले बस्नेतको नाम पहिलो नम्बरमा राखेपछि डा. लोहनी आक्रोशित भए। बैठकमा उनले अध्यक्ष लिङ्देनले आफूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश मात्रै व्यक्त गरेनन्, महाधिवेशनमा लिङ्देनले आफूसँग गरेको गोप्य सहमतिपत्र नै सार्वजनिक गरिदिए।

प्रकाशित: Sep 28, 2022| 15:41 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...