नेपालगन्ज– सोमबहादुर भाटले तीन वर्षपछि नेपाल टेके। पुरानो क्यापले अनुहारमा घाम छेक्दै गड्डाचौकीबाट नेपाल छिरेका सोमबहादुर लाहुरे जस्ता देखिँदैनन्। पहेंलो बोरामा केही कपडा र भाँडाकुँडाको पोको बोकेर दसैं मान्न देश फर्किएका उनीसँग चाडवाडको चटारोभन्दा दुःख–व्यथाका अनेकौं पहाड छन्।
घर फर्किंदै गरेका नेपालीको भीडभित्र कतै हराइरहेका सोमबहादुरको आँखामा उत्साह छैन।
बेलाबखत घरगाउँमा केही पैसा र खबर पठाइरहेका भाटले यो पटक कमाइ गर्न सकेनन्। गाडी भाडा र २–४ हजार लिएर फर्किएका सोमबहादुर दसैं मनाएर तुरुन्तै मुग्लान फर्किनेछन्। ‘सिम्लामा चिसो छ। स्याउको काम धेरै बाँकी छ। यतिबेला यता (मूल थलो)मा दसैं पर्छ। घर नआएको धेरै भयो। यता पनि आउनुपर्यो। घरको मुख मात्रै हेरेर फर्किनुपर्छ।’ सिम्लाको चिसो पहाडमा सोमबहादुर स्याउ टिप्छन्। यो भनेको पैसा कमाउने समय हो। ‘काठको काम गर्ने सीप थियो। ऋण लाग्यो, धन कमाउन मुग्लान पसेको यस्तो हालत छ।’ आफ्नै शरीर हेरेर सोमबहादुरले हालत बताउन खोजे। चिसोले खाएर फुटेका हातले बोरा समाएर सोमबहादुर अटो चढे।
बिरामी श्रीमती लिएर भारत पसेका कृष्ण कुमाई तीन महिनापछि स्वदेश फर्किएका छन्। तीन बच्चालाई खानेकुरा पुर्याएर भारत पसेका कृष्णले उतै मजदुरी गर्ने र श्रीमतीको उपचार गर्ने योजना थियो। ‘के आम्दानी हुन्छ र हजुर? समयको बर्बाद मात्रै हो। मकै छरेर गएको थिएँ, बूढी लिएर।’ कृष्णले जिपको झ्यालभित्रैबाट बोले, ‘पैसा कमाउन सकिएन तर बूढीको राम्रो उपचार भयो।’
सिमलाबाटै फर्किएका छन्, कोहलपुरका भुजनराम थारु। ३५ वर्षीय थारुको नियमित काम हो, सिमलामा गाडी चलाउने। १० वर्ष भयो नेपाल–भारत गर्ने। चाडपर्वमा आउने र अरू बेला भारतमा काम गर्ने। ‘नेपालमा काम नपाइने त होइन तर पहिले उतै गइयो, उतै रमाइलो लाग्छ,’ थारुले भने, ‘अब नेपालमै केही गर्नुपर्ला भन्ने सोचेको छु।’
चाडवाड भित्रिएसँगै सीमानाकामा नेपालीको बाक्लो भीड लाग्छ। यस पटक पनि दसैं सुरु भएसँगै पश्चिम नेपालका भारतीय सीमानाकामा नेपालीको थामिनसक्नुको भीड छ। भारत रोजगारीबाट घर फर्किनेको घुइँचोले नाका क्षेत्रको चहलपहल बढाउँछ।
भारतसँग साँधसीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा र बाँकेको जमुनाह नाकाबाट दसैं मनाउन स्वदेश फर्किने नेपालीको भीड बढेको छ।
कोरोना कहरका कारण यसअघि दसैं मनाउन नपाएकाहरू पनि यो वर्ष घर फर्किएका छन्। भारतसँग सीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा र बाँकेको जमुनाह नाकाबाट दसैं मनाउन स्वदेश फर्किने नेपालीको भीड बढेको छ।
कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किनेको बाक्लो चहलपहल छ। प्रहरीका अनुसार गड्डाचौकी नाकाबाट २ हजार बढी नेपाली प्रत्येक दिन नेपाल भित्रिइरहेका छन्।
कोरोना कहरमै जोखिम मोलेर छाक टार्न मुग्लान पसेकाहरू यस वर्ष संक्रमण कम भएपछि दसैं मनाउन घर फर्किएका छन्।
सुर्खेत लाटीकोइलीका विजय भण्डारी कोरोना महामारीमा भारत पसेका थिए। ‘मान्छेहरू कोरोनाले गर्दा त्रासैत्रासमा घरभित्र बसेका बेला मलाई भारत जानुपर्यो। उता पनि यस्तै गाह्रो थियो। बाँचियो धन्न!’ यता रोजगारी पाइँदैन, काम पाइए पनि बचत गर्नै सकिँदैन,’ भण्डारी दुःखी सुनिए।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा खेतीपातीको काम सकेर रोजगारीका लागि भारत जाने चलन छ। मौसमी रूपमा भारत जानेहरू महत्त्वपूर्ण चाडपर्व र खेतीपातीको समय भने स्वदेश फर्किन्छन्। स्वदेशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधीमूलोसमेत राम्रो नपाइने भएपछि यहाँका अधिकांश युवाहरू भारत पस्छन्।
दसैं मनाउन घर फर्कने नेपालीको हरेक वर्ष नेपालगञ्ज जमुनाह नाकामा पनि लर्को लाग्छ। जमुनाह नाका भएर दैनिक ५ हजारको संख्या स्वदेश भित्रिइरहेको जमुनाह प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए।
अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै रहेको उनको भनाइ छ। ‘विशेषगरी दसैंमा यस्तै हो। चाडपर्वमा भीडभाड नै हुन्छ। लुम्बिनी र कर्णाली प्रदेशका सबै मानिस यही नाकाबाट आउजाउ गर्ने भएकाले भीड भएको हो,’ रिजालले भने, ‘भीडलाई सहज बनाउने, आवश्यक जाँच गर्ने र सुरक्षा प्रत्याभूति दिने काम हामीले गरिरहेका छौं।’
दसैंका बेला भारतमा रोजगारीका लागि गएका नेपालीहरू फर्किने क्रममा नाकामा दुःख दिने तथा लुटपाटका घटना हुने गर्छन्। नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गर्नुका साथै भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउन र तिनको गुनासो सम्बोधनका लागि जमुनाह नाकामा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।
भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्क, बैजनाथको सम्झनाचोक र चिसापानी, खजुराको धनौली र राप्तीसोनारीको कुसुममा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनालाई लक्षित गरी कञ्चनपुर प्रहरीले पनि सीमानाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाइ गरेको छ। घर फर्किनेको घुइँचो बढेसँगै प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको छ। चाडपर्वका बेला प्रतिबन्धित वस्तु, हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध भित्रिन सक्ने भएकाले जाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ।
‘चाडवाड विशेष सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुर प्रयोग गरेका छौं। सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको छ,’ कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले भने, ‘हामीसँग लिली नामको कुकुर छ। लगूऔषध तथा प्रतिबन्धित वस्तु सँुघेरै पत्ता लगाउन सकिन्छ। यसले चाडवाडका बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न थप मद्दत पुग्छ भन्ने विश्वास छ।’