काठमाडौं- सनातन धर्मावलम्बीहरूका लागि दसैं सबै भन्दा ठूलो पर्व हो। तर, नेपालमा एउटा यस्तो समुदाय छ जो दसैं मनाउँदैन। दसैं मात्र होइन तिहार पनि मनाउँदैन।
तर, अहिले समुदायीक प्रभावका कारण केही मानिसले जमरा राखेर एक दिन टीका भने लगाउन थालेका छन्। त्यो हो- राना थारु।
'दसैं हाम्रो समुदायमा मनाउँदैनन्। हाम्रा आफ्नै खाले पर्व र रितिरिवाज छन्। हाम्रो तीज फरकै हुन्छ। तिहार फरक हुन्छ। र, दसैं पनि मनाउँदैनौं', नेपाल रानाथारु समाजकी निवर्तमान केन्द्रीय अध्यक्ष जीवन राना भनिन्। उनले अहिले समाजको सिको गर्दै लगभग २५ प्रतिशतले मात्रै दसैं मान्ने गरेको बताइन्।
‘रानाथारुले टिका लगाएर दसैं मान्दैनन्। तर, कसैकसैले देउताअनुसार पूजा गर्छन्,’ उनले भनिन्।
‘जिम्दारले नगरको देउता आयात गर्थे। त्यस्तो बेला चार-पाँच गाउँका मानिस जिम्दारको घरमा टिका लाउन आउँथे। तर, दसैं नै भनेर मनाउने चलन थिएन,’ उनले भनिन्।
उनले बोका चढाउनुभन्दा पहिले कुभिन्डो चढाउने र त्यसको तरकारी प्रसादका रूपमा खाने चलन रहेको बताइन्। तर, त्यो चलन प्रत्येक घरमा नभएर जिम्दारको घरमा मात्रै हुन्थ्यो।
‘अहिले हाम्रा देउताहरू भ्रमणमा छन्। घटस्थापनाको दिन घर आउँछन् भन्ने धार्मिक विश्वास छ। असारको पूजा गरेपछि हाम्रा देउता तीर्थ जान्छन्,’ उनले भनिन्, ‘१ गते माटो लगाउने चलन छ। माटो लगाउने भनेको नयाँ देउता स्थापना गर्ने हो।’
दसैंको बिहान होम गर्ने र बेलुका दिपावली गर्ने चलन रहेको उनले बताइन्। दसैंमा पितृ सम्झिएर घर–घरमा टिका–जमरा भने नराख्ने उनले बताइन्। रानाथारुहरूले महान चाडका रूपमा होली र त्यसपछि दिपावलीलाई मान्ने गरेको उनले बताइन्।
नेपाल महिला संघकी नेतृ सुनिता रानाका अनुसार पनि रानाथारुहरूले दसैं मनाउँदैनन्।
‘हाम्रो दसैं मनाउने संस्कृति होइन। तर, अहिले नक्कल गरेर केही परिवारले जमरा नै राखेर दसैं मनाउँछन्,’ उनले भनिन्।
यसले समाजमा सामाजिक सौहार्द्रता भने कायम गरेको उनको तर्क छ। एकै समाजमा बसिसकेपछि संस्कृति आदानप्रदान हुनु राम्रो कुरा भएको उनी बताउँछिन्।
जुनसमुदायका राम्रा कुरा वा संस्कृति अर्को समुदायले अनुशरण गर्दा केही फरक नपर्ने उनको तर्क छ। यसले झनै सामाजिक भावना प्रगाढ हुने उनले बताइन्।
उनको घर धनगढी उपमहानगरपालिका–११ घोडसुवा हो। त्यहाँ रानाथारुहरूको एउटा टोलै छ। रानाका अनुसार अहिले त्यो टोलका सबै घरमा दसैंमा जमरा राख्छन्। धेरै दिन नभई विजया दशमीको दिन टीका लगाउँछन्।
‘आफ्नो संस्कृति नभए पनि दसैंमा निकै रमाइलो हुन्छ,’ उनले भनिन्। राना थारुमा बडायक थर पनि हुन्छ।
बडायकहरूले भने दसैंमा आफ्नो कुलदेवतालाई पज्नेगरेको उनले बताइन्। 'बडायकहरूले दसैंमा राँगो काट्ने। तर, नखाने। देउतालाई भने पुज्ने गरेको पाइन्छ', उनले भनिन्।
उनले आफूहरूको समाजमा दिपावलीमा दाइभाइलाई टीका लगाउने चलन समेत नरहेको बताइन्। 'दिपावलीमा हाम्रो समुदायमा कुल देउतालाई पुज्ने चलन छ। कसैको घरमा कुखुरा काटिन्छ। कसैको घरमा हास काटिन्छ। कसैले अण्डा चढाउँछन्। जसको घरमा परापूर्वक कालदेखि देउतालाई जे चढाउने गरेका छन् अहिले पनि त्यही चढाइन्छ', उनले भनिन्।
तर, अहिले आएर केहीले भाइटीकाको पनि सिको गर्ने गरेको उनले जानकारी दिइन्। 'दसैं भन्ने बित्तिकै सबैका मुहारमा खुसीयाली छाउँछ। वर्ष दिनमा आउने पर्व मनाउनकै लागि घरबाट टाढा–टाढा गएकाहरू पनि आउँछन्। हामीले त्यति महत्वका साथ दसैं मनाउँदैनौं', उनले भनिन्।
गाउँमा थपिन्छ दसैंको उल्लास
दसैं मनाउनकै लागि वर्ष दिनमा पारिवारिक जमघट हुन्छ। अरू बेला सुनसान हुने गाउँ दसैंमा भरिभराउ हुन्छन्। दसैंको चहलपहल नै अर्कै हुन्छ।
घरहरू सजाइएका हुन्छन्। सबैका शरीरमा नयाँ लुगा हुन्छन्। हेर्दा लाग्छ सबै उमंग र नयाँ छ।
दसैंमा आफूभन्दा ठूला मान्यजनका हातबाट टिका–प्रसाद ग्रहण गर्ने चलन छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधना गरिन्छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाउने चलन छ।
भगवान रामले विजया दशमीका दिन रावणको बध गरेको धार्मिक विश्वास छ। असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई लिइन्छ। हिन्दू धर्मावलम्बिको महान पर्व भएकाले अहिलेको मिश्रत समाजमा आफूहरू पनि यही खुशीमा समाहित हुनेगरेको राना बताउँछिन्।