काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहितालाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
विपक्षी दलहरूको लगातारको अवरोध र सहमति जुट्न नसकेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जनाएका छन्।
विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने अडान राख्दै आएका छन्। तर, प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीहरू झन् रुष्ट बनेका हुन्। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको भन्दै विपक्षी सांसदहरूले सदनमा नाराबाजी र अवरोध जारी राखेका थिए।
सभामुख अर्यालले बुधबार तीन पटकसम्म बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए। उनले प्रधानमन्त्रीसँग संवाद गरी निकास निकाल्ने प्रतिबद्धता जनाउँदै बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिन आग्रह गरे पनि विपक्षीहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगित गरिएको हो।
सभामुखले सदन सञ्चालन सहज बनाउन प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने तयारीसमेत रहेको जानकारी दिएका छन्।