नुवाकोट- नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ। बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैँ घरमा आज सामूहिक जमरा राखिएको हो।
यो वर्ष १२ घर दलित समुदायको सहित एक सय ८१ परिवारले दसैँ घरमा सामूहिक जमरा राखेको मन्दिरमा पुजारी नारायणप्रसाद पौडेलले जानकारी दिए। सामूहिक जमरा दलित, ब्राम्हण, क्षेत्र, नेवार, मगरले राखेका हुन्।
मन्दिरमा गाउँमा दलितसहित सबै समुदायको सामूहिक जमरा राख्ने चलन धेरै वर्ष पुरानो भएको मन्दिरका उपासे मानबहादुर रानाले बताए। 'यो परम्परा पृथ्वीनारायाण शाहकै पालादेखिको चलन भएको बुढापाकाले बताउने गरेका छन्', रानाले भने, 'दलित र गैरदलितको जमरा एकै स्थानमा राख्ने चलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ।'
दसैँ घरको वैधिक विधिपूर्वक दसैँ दिन पूजा हुने गरेको छ। सामूहिक जमरा राखेकाले विजया दशमीको दिन मन्दिरमा जमरा पूजा गरी घरघरमा लैजाने चलन रहेको निरञ्जना भगवती गढी क्षेत्र विकास संरक्षण समितिका पूर्वअध्यक्ष कालीबहादुर तिवारीले बताए। मन्दिरको पुजारी पौडेल खलकका र उपासे मगर समुदायका रहेका छन्।