रामेछाप- पितृदोष लगाइदिएको आरोपमा कुटपिट गर्दा रामेछापमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका वडा नम्बर ३ की ५० वर्षीया महिला रहेको रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए। मृतकको नाम खुलेको छैन।
मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ। घटनामा संलग्न भएको आरोपमा २३ जनालाई पक्राउ गरिएको रामेछापकी प्रशासकीय अधिकृत सुनीता थापाले जानकारी दिइन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृतककी आमामाथि पनि माझीहरूले कुटपिट गरेका थिए। उनको उद्धार गरी उपचारका लागि मन्थली अस्पताल ल्याइएको छ। उनको हाल उपचार भइरहेको डीएसपी थिङले जानकारी दिए।
शनिबार पनि बस्तीका माझीहरुले पितृतारणका लागि श्राद्ध गरेका थिए। स्थानीय माझीहरूका अनुसार शनिबार श्राद्धमा सहभागी भएका ५-७ जना व्यक्तिलाई आइतबारसम्म पनि काम्ने समस्या समाधान भएन। यसपछि पितृहरु नतरेको रूपमा बस्तीका माझीहरुले लिए।
लामो समयसम्म पनि पितृ नउत्रिएपछि बस्तीका माझी भेला भई काम्न नछोड्नुको कारण खोजी गरेका थिए। पितृको चित्त नबुझेको र त्यसको मुख्य कारण बस्तीकै दुई जना मात्र भएको एक परिवारका आमाछारी नै भएको माझीभेलाले निर्क्यौल गरेको थियो। त्यसपछि परिवारका दुवै आमाछोरी बोलाएर श्राद्ध गरेकै स्थानमा माझीहरूले लगेका थिए।
डीएसपी थिङका अनुसार ७० वर्षीया आमालाई श्राद्धस्थलबाहिरै राखेर कुटपिट भएको थियो। ५० वर्षीया छोरीलाई भने श्राद्धस्थलमा रहेको घरभित्र लगेर माझीहरूले कुटपिट गरेका थिए।
आइतबार बिहान महिला (आमा)माथि कुटपिट भएको सूचना पाएपछि प्रहरीले उद्धार गरेको थियो। तर ५० वर्षीया छोरीका विषयमा भने प्रहरीले त्ययबेलासम्म कुनै सुइको पाएको थिएन।
आमालाई उपचारका लागि ल्याएपछि मात्र छोरीको पनि खोजी प्रहरीले सुरु गरेको थियो। खोज्दै जाँदा प्रहरीले त्यही श्राद्धस्थलमा पुगेको थियो। घरभित्र मृत अवस्थामा छोरी भेटिएकी थिइन्।