शुक्रबार, जेठ १, २०८३

यमोसा पर्व मनाउँदै थारू समुदाय

सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

चितवन- चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन्। सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ। पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ। 

National life

यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो। सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए।

यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ। थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन्। यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताए। यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ। 

दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी (सिरु) काटेर ल्याउँछन्। त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन्। कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ।

पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ। घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ। 

पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ। त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ। 

त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ। यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ। 

छाकी चढाइसकेपछि मात्र खानपिन सुरू हुन्छ। 

सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ। यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ। पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ।

खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ। त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ। त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ। 

उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ। यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ। यसरी खानपिन दिनभरि नै चलिरहन्छ। 

यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ। पहिले पहिले एउटै रुखमा पाँच– छवटा पिङ लगाइन्थ्यो। यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन्।

बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन्। हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन्। पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ। 

चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ। यसै  पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ। 

तराई क्षेत्रमा थारूहरुको बसोबास छ। यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन्। चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ। 'यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्', थारू अगुवा कारी महतोले भने। थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उनले बताए।

चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका अभियानसमेत थालिएको छ। कृष्ण आचार्य, रासस

प्रकाशित: Sep 25, 2022| 10:33 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।