शुक्रबार, साउन १, २०८३

इरानी सेनालाई तालिम दिने नेपाली युवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- सामरिक हिसाबमा इरानी सेनाले आफ्नो सैन्य तालिममा जोकोहीलार्इ पत्याउँदैन। तर, एक नेपाली युवा इरानी सेनालार्इ प्रशिक्षण दिएर फर्केका छन्। त्यस्तो अवसर पाउने नेपाली हुन्, धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ का भिष्मराज थपलिया। 

२८ वर्षे युवा थपलियाले इरानी सेनालाई रक क्लाइम्बिङ, क्यानोनिङ, वाटर रेस्क्यु, भर्टिकल रेस्क्युजस्ता विधि सिकाएका हुन्। युद्धका दौरानमा पहाड, पानी, खोंच, पत्थरे डाँडाबाट गरिने उद्धारलगायत विषयमा प्रशिक्षण दिएका थिए। 

खासगरी युद्धका बेला अलपत्र परेका सहयोद्धा, विरोधी सेना र सर्वसाधारणलाई कसरी उद्धार गर्ने भन्ने विभिन्न कोर्समा थपलियाले तालिम दिए। उनले ३२ जना इरानी प्रशिक्षकलार्इ ३२ दिनसम्म प्रशिक्षण दिए। त्यसक्रममा उनी इरानको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा पुगे।

इरानको तीन हजार तीन सय मिटर अग्लो माउन्ट सफेदेखि विभिन्न पहाड, उपत्यका, खोला आदिमा पुगेर इरानी सेनालार्इ तालिम दिए। इरान बसाइको अनुभव सुनाउँदै थपलिया भन्छन्, ‘९० देखि एक सय ८० किलोमिटर प्रतिघण्टाको सवारी यात्रामा इरानका धेरै क्षेत्रमा पुगियो।' 

इन्टरनेटले दिएको ‘एक्पोजर’

नेपालका चर्चित र्‍याफ्टिङ गाइड हुन्, थपलिया। सन् २००७ मा उनी नेपाल सरकारद्वारा इजाजतप्राप्त र्‍याफ्टिङ गाइड बने। सन् २००८ मा ट्रेकिङ गाइडको इजाजत पाए। सन् २०११ मा क्यानोनिङको अन्तर्राष्ट्रिय गाइडको तालिम र इजाजत लिए। त्यसलगत्तै विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाटप्रशिक्षण लिएर उनी नेपालको साहसिक पर्यटनका र्‍याफ्टिङ क्यानोनिङ, रक क्लाइम्बिङ र वाटर रेस्क्युका कोर्सका प्रशिक्षक भए। 

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई जलउद्धार, रक क्लाइम्बिङदेखि क्यानोनिङलगायत विषयमा तालिम दिइसकेका छन्। आफैंले खेलेको 'कोर एडभेन्चर' नामक संस्था स्थापना गरेका छन्। 

स्वदेशी अनुभव र विदेशी प्रशिक्षकबाट दीक्षित उनी इरान पुग्न भने कुनै लिंकले काम गरेन। थपलिया भन्छन्, ‘इरानी सेनाका अधिकारीलाई तालिम दिने अवसर व्यक्तिगत चिनजान र हिमचिमका कारण पाएको होइन। विशुद्ध व्यक्तिगत खोजले पाएको हो।’ आफू अन्तर्राष्ट्रिय उद्धार प्रशिक्षक भएको कुरा इन्टरनेटबाट परिचित इब्राहिम नामक इरानी नागरिकलार्इ बताएका थिए। तिनै मित्रको सहयोगले उनी इरानका उच्च पदस्थ अधिकारीलार्इ इरानमै गएर तालिम दिन पाएका हुन्। 

इन्टरनेटबाट पाएको सूचना र थप कुराकानीपछि उनी १ जुलार्इमा काठमाडौंबाट नयाँदिल्ली पुगे। नयाँदिल्लीबाट कतार एयरवेजमार्फत इरानको राजधानी तेह्ररान पुगे। र, इरानी सेनालार्इ प्रशिक्षण दिने पहिलो नेपाली बने। उनी भन्छन्, ‘नेपाली झण्डा र ढाकाटोपी लाएर उपस्थिति देखाउनु ठूलो कुरा रहेछ।’ 

इरानमा पनि रहेछ इलाम!

त्यसक्रममा थपलियाले राजधानी तेहरानदेखि नजाफावाद, सेराज, पोर्सपुली, कासनलगायत शहर पुगे। इरान र इराकको सीमानजिकै इलाम भन्ने ठाउँ पनि भेटे। नेपालजस्तै इरानमा पनि इलाम देखेर उनी आश्चर्यचकित भए। उनी भन्छन्, ‘दुनियाँका भिन्नभिन्न देशमा पनि समान नाम भएका  स्थानहरू हुँदा रहेछन्।’ 

इरान उनको भारतपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो। उनले इरानलाई एक मुस्लिम राष्ट्र, अरब क्षेत्रको एक सैन्य शक्ति र अरब क्षेत्रको प्रजातान्त्रिक गणतन्त्रबाहेक केही थाहा पाएका थिएनन्। तर, इरानी सेनाका प्रशिक्षकहरूको नेपालबारेमा जानकारी देखेर भने उनी चकित परे । थपलिया भन्छन्, ‘इरानी सेनाका दुर्इ उच्च अधिकारीहरू पिटर र अटोफेले मलार्इ नेपालका अग्ला हिमाल, पहाड, उपत्यका, खोंच, उर्लिंदै बग्ने नदी रहेको र नेपालीहरू बहादुर भएकाले उद्धारको तालिममा नेपाली राम्रो भएको बताए।’ आफूले बुझाउनु अगाडि नै नेपालप्रतिको सकारात्मक बुझाइले आफ्नो प्रशिक्षण धेरै रुचाइएको थपलिया बताउँछन्। 

भन्छन्, ‘शायद मलार्इ पत्याएरै होला, ३/४ हजारको संख्यामा भएका सैनिक कार्यक्रमहरूमा मलार्इ अतिथि बनाएर राखियो। मसँग पुनः हरेक वर्ष ४२ दिन तालिम दिनेगरी पाँच वर्षसम्मका लागि सम्झौता गरियो।’ 

नेपालमा आफूजस्तै थुप्रै सम्भावना भएका प्रतिभा रहेको उनी बताउँछन्। जलविहारदेखि पदयात्रा हुँदै हिमाल आरोहणसम्मका विभिन्न साहसिक क्षेत्रमा नेपालका गाइड र ट्रेनरहरू अन्तराष्ट्रियस्तरमा बिक्ने खालका भएको थपलियाको भनाइ छ। सरकारले विभिन्न विधामा प्रशिक्षक आदानप्रदान, उनीहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरे राज्यलार्इ नै फाइदा हुने उनी बताउँछन्। 

‘नेपालीहरू हिमाल चढ्दा र र्‍याफ्टिङ गर्दा भारी बोक्ने, खाना बनाउने काममा सीमित छैनन्, गुणस्तरीय प्रशिक्षक पनि छन्,’ थपलिया भन्छन्, ‘नेपालीमा संसारले पत्याउनेस्तरको क्षमता आफ्नै प्रयासमा विकास भइरहेको छ। यसको ब्रान्डिङ र बिक्री राज्यले गर्नुपर्छ।’  जसरी नेपाल साहसिक पर्यटनमा विश्वको एक नम्बरमा आउँछ, त्यसरी नै यहाँका प्रशिक्षक र गाइडहरू पनि एक नम्बरमा आउने खालका भएको थपलिया बताउँछन्। भन्छन्, ‘राज्यले यी सबै बुझेर अब यस क्षेत्रमा लाग्नेको क्षमता अभिवृद्धि, छात्रवृत्ति र अन्तर्राष्ट्रिय एक्स्पोजर दिनुपर्छ। त्यसबाट पर्यटन, उद्धारजस्ता क्षेत्रमा नेपाली ब्रान्ड बन्छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।