शुक्रबार, साउन १, २०८३

भारतको लोकसभा निर्वाचन : केन्द्रमा पशुपतिनाथ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत शनिबार अन्तर्राष्ट्रिय समुदाय तथा सञ्चार माध्यमको ध्यान नेपालतर्फ तानियो । कारण थियो, आफ्नै मातृभूमिमा समेत नजिक हुन नरुचाउने संसारकै ठूलो प्रजातान्त्रिक व्यवस्थाका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्ष दल कंग्रेस-आई अध्यक्ष राहुल गान्धी करिब तीन सय मिटरको दूरीमा एकैचोटी आवतजावत गर्दै थिए ।

सन् २०१९ का अप्रिल र मेमा भारतमा सत्रौं लोकसभाका लागि चुनाव हुँदैछ । त्यसमा मतदान गर्ने ८० प्रतिशतभन्दा बढी हिन्दु मतदाता छन् । मोदी र गान्धीको काठमाडौं दौडाहाको अन्तर्य त्यही चुनावमा हिन्दु मतदातालाई आफूप्रति आकर्षित गर्नु रहेको विश्लेषकहरूको ठहर छ ।

प्रधानमन्त्री मोदी काठमाडौं आउनुको मुख्य उद्देश्य थियो, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागिता । तर, सम्मेलन सकिएपछि उनले पशुपतिनाथमा विशेष पूजा, आराधना मात्र गरेनन्, तिलगंगामा भारतीय सहयोगमा निर्मित भव्य धर्मशालाको पनि उद्घाटन गरे । 

र, त्यहींबाट दक्षिण भारतीयहरू पशुपतिनाथका भक्त रहेको बताएर धार्मिक पर्यटनको नयाँ ढोका खोलिदिए । अर्थात्, मोदीका लागि यस पटकको लोकसभा निर्वाचनमा दक्षिण भारतीय मतदाताहरूको मत रणनीतिक महत्वको भएको विश्लेषण गर्न सकिन्छ ।

तर, प्रमुख प्रतिपक्षी दलका नेता गान्धीले पशुपतिनाथको दर्शन र पूजाआजा गर्न पाएनन् । सोही कारण हुन सक्छ, उनी चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश, मानसरोबरतर्फ उक्लेका छन् । हिन्दु धर्मावलम्बीहरूले कैलाश, मानसरोवरलाई भगवान् शिवको वासस्थान र क्रिडास्थलका रूपमा विश्वास गर्दै आएका छन् ।

कंग्रेस-आई धर्मनिरपेक्ष दलका रूपमा परिचित छ । तर, ७९.८ प्रतिशत जनसंख्याले हिन्दु धर्म मान्ने भएकाले सधैंझैं यसपटक पनि सोही जनसंख्या निर्णायक बन्ने निश्चित छ । हिन्दु धर्मावलम्बी मतदाता यसकारण पनि गान्धीका लागि महत्वपूर्ण छन्, सत्तारुढ भाजपाले एकलौटीझैं बनाएको उक्त क्लस्टरको मत आफू नेतृत्वको महागठबन्धनका पक्षमा तान्नु चुनौतीपूर्ण छ । र, सोही कारण हिन्दु धर्मावलम्बीहरूका आराध्यदेवको आशिर्वाद प्राप्त गर्ने होडमा देखिएका छन्, गान्धी पनि ।

हिन्दु धर्ममा भगवान् शिवलाई जीवनको आधार अर्थात् प्राणका रूपमा पूजा गर्ने गरिन्छ । शिव नहुँदा जीवन शव मात्र अर्थात् निष्प्राण बन्ने विश्वास गरिन्छ । संस्कृतमा लिंगको अर्थ हुन्छ, शरीरको प्रतीक । सोही कारण हिन्दु धर्मावलम्बीहरूले शिवलिंगलाई भगवान् शिवको प्रतीक मानेर पूजा गर्ने गर्छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता संवित पात्राले त कंग्रेस-आई अध्यक्ष गान्धीको काठमाडौं र कैलाश, मानसरोवर यात्रालाई राजनीतिक उद्देश्यबाट अभिप्रेरित रहेको आरोप लगाइसकेका छन् । र, गान्धीले चीनसँग अराजनीतिक सम्बन्ध बढाएको आरोप पनि उनको छ ।

गान्धी कैलाश यात्रामा निस्किने क्रममा भारतका लागि चिनियाँ राजदूत लिउ चाओहुईले बिदाइ गर्न लागेको तर सरकारले रोक लगाएको भाजपा प्रवक्ता पात्राको दाबी छ । र, उनको कैलाश यात्रालाई चीनले रोक लगाउनुपर्नेसम्मको तर्क गरेका छन्, पात्राले ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस-आई अध्यक्ष राहुल गान्धीको काठमाडौं र कैलाश, मानसरोवर दौडाहाको अन्तर्य आगामी लोकसभा चुनावमा हिन्दु मतदाताको मत आकर्षित गर्नु रहेको विश्लेषकहरूको ठहर छ ।

कंग्रेस-आईको हिन्दु यात्रा

कंग्रेस-आईको हिन्दु यात्रा बेलाबेला विवादमा तानिँदै आएको छ । हिन्दुस्तानलाई आफ्नै नेतृत्वमा धर्मनिरपेक्ष बनाएको थियो, उक्त पार्टीले । शुरुवाती चरणदेखि नै गान्धी परिवार मठ-मन्दिरहरूबाट टाढिएको छ । उक्त परिवारका नेताहरूलाई मठ-मन्दिरका पूजारीहरूले मन्दिर प्रवेशमा रोक लगाएका उदाहरण पनि छन् ।

तैपनि, हिन्दु धर्मावलम्बी मतदाताको भोट तान्ने उद्देश्यले पूजाआजा गर्न छाडेका छैनन्, उक्त परिवारका नेताहरूले । पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका पुत्र तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीले इसाई धार्मिक पृष्ठभूमिकी सोनिया गान्धीसँग विवाह गरेपछि हिन्दु मतदाता चिढिएका थिए । अहिले पनि उक्त 'क्लस्टर'का मतदाता तान्न धौ धौ पर्दै आएको छ, गान्धी परिवारलाई ।

सन् १९८६ मा सोनिया गान्धीलाई उडिसास्थित जगन्नाथपुरी मन्दिरमा दर्शन गर्न शंकराचार्य निश्चलानन्द सरस्वतीले रोक लगाएका थिए । राजीव गान्धीले प्रधानमन्त्रीका रूपमा गरेको नेपाल भ्रमण क्रममा पनि उनले पशुपतिनाथ परिसरमा प्रवेश पाएकी थिइनन् । जबकि, पशुपतिनाथका मुलभट्ट भारतीय नागरिक नै हुने गर्छन् ।

त्यतिबेला सोनियालाई पशुपतिनाथमा प्रवेशमा रोक लगाइएको विषय तत्कालीन राजा वीरेन्द्रसम्म पुगेको थियो । तर, राजा वीरेन्द्रले धार्मिक विषयमा आफूले हस्तक्षेप नगर्ने बताएर सोनियाको गुनासो सुनेको नसुन्यै गरिदिए । सोही विन्दुदेखि नेपालको राजपरिवार र भारतमा विरासतको राजनीति गर्दै आएको गान्धी परिवारबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको बताइने गरेको छ ।

भाजपा र हिन्दु धर्म

भाजपाको स्थापना नै हिन्दु नारासहित भएको हो । कंग्रेस-आईको नेतृत्वको सरकारले भारतलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गराएपछि राजनीतिको सम्भावित क्षेत्र पहिल्याएर स्थापना भएको हो, भाजपा । 

सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीले जनसंघ स्थापना गरे । र, सन् १९५२ को लोकसभा चुनावमा जनसंघले तीन स्थानमा जित हासिल गरेको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको संकटकालको सामना गर्न जनसंघलगायत दलहरू सम्मिलित भएर जनता पार्टी गठन भयो । 

सन् १९७७ सम्म आइपुग्दा उक्त पार्टी सरकारमा पुग्ने हैसियतसम्म पुगेको थियो । र, सन् १९८० मा त्यसलाई भारतीय जनता पार्टी नाम दिइयो, जसको अध्यक्ष थिए डा सुब्रमण्यम स्वामी । यसअघि सन् १९९६ मा १३ दिन, १९९८ मा १३ महिना तथा पुनः १९९८ देखि २००४ सम्म भाजपाका तर्फबाट अटलविहारी बाजपेयी प्रधानमन्त्री बनेका थिए । उनी भाजपाबाट प्रधानमन्त्री बन्ने पहिलो नेता थिए । भाजपाबाट दोस्रो प्रधानमन्त्रीका रूपमा सन् २०१४ मा उदाएका हुन्, नरेन्द्र मोदी ।

सन् २००४ देखि ०१४ सम्म निरन्तर सत्तामा रहे, मनमोहन सिंह । १० वर्षको कंग्रेस-आई राज मोदीले हिन्दु धर्म, विकास र समृद्धिको नाराका साथ बहुमत ल्याउँदै अन्त्य गरिदिए । र, आगामी लोकसभा निर्वाचनमा समेत खरो उत्रिँदै दोस्रो पटक सत्तामा निरन्तर रहने प्रयासमा छन्, उनी ।

ममता बनर्जी र आदित्यनाथको इन्ट्री

भारतको सबैभन्दा धेरै सिट रहेको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको लोकप्रियताका कारण उनलाई भावी प्रधानमन्त्रीका रूपमा पनि हेर्न थालिएको छ । ८० सिट रहेको उत्तर प्रदेशमा भाजपा गठबन्धनले ७३ सिट जितेको छ । त्यसको श्रेय मुस्लिम भोट तान्न सकेकाले मुख्यमन्त्री योगी आदित्यनाथलाई नै दिइएको छ । 

सोही कारण उनी भारतकै सबैभन्दा ठूलो राज्यका मुख्यमन्त्री बन्न सफल भएका थिए । मुस्लिम समूदायमा व्याप्त तीन तलाक (श्रीमान् तीन पटक तलाक भनेपछि श्रीमतीसँग सम्बन्ध विच्छेद हुने प्रथा)को अन्त्य, गुुण्डागर्दीप्रति कठोर, गौ हत्याविरुद्ध आक्रमकता र सामाजिक न्यायको वकालतका कारण आदित्यनाथको लोकप्रियता चुलिएको छ । हिन्दु धर्मगुरु भएर पनि मुसलमान समूदायको मन जित्न सफल हुनु योगी आदित्यनाथको लोकप्रियताको मुल कडी हो । 

सोही कारण भाजपाभित्र आदित्यनाथलाई प्रधानमन्त्री मोदीका प्रतिस्पर्धी नेताका रूपमा अथ्र्याउन थालिएको छ । आगामी लोकसभा निर्वाचनमा पनि उत्तरप्रदेशका ८० वटा सिटमा यसअघिझैं अधिकांश सिट जित्न सके आदित्यनाथ प्रधानमन्त्री मोदीका विकल्पका रूपमा देखिन सक्ने विश्लेषण भारतीय राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

दक्षिण भारतीय राज्यहरूबाट सकेसम्म बढी लोकसभा सिट भाजपाको पोल्टामा पार्नुपर्ने चुनौती प्रधानमन्त्री मोदीसामु छ । दक्षिण भारतीय नागरिकहरू आर्थिक रूपमा उत्तरका भन्दा सम्पन्न मानिन्छन् । र, धार्मिक यात्रा पनि सुविधा सम्पन्न ढंगबाटै गर्न रुचाउँछन् । पशुपतिनाथ मन्दिर परिसरबाट दक्षिण भारतीय नागरिकहरूलाई जोडेर प्रधानमन्त्री मोदीले दिएको सन्देश रणनीतिक रूपमा आगामी लोकसभा निर्वाचनमा उनीहरूको मत तान्ने प्रयासका रूपमा अथ्र्याइएको छ ।

त्यति मात्रै होइन, पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई पनि प्रधानमन्त्री मोदीका लागि प्रतिस्पर्धी नेताका रूपमा हेर्न थालिएको छ । तृणमुल कंग्रेसकी अध्यक्ष बनर्जी सन् २०११ देखि पश्चिमबंगालकी मुख्यमन्त्री छन् ।

पश्चिमबंगालमा भाजपा र तृणमुल कंग्रेसबीच बर्चश्वको लडाईं चलिरहेको छ । तृणमुलले 'भाजपामुक्त बंगाल'को नारा अगाडि सारेको छ भने भाजपाले बनर्जीलाई सत्ताच्युत गर्ने अभियान छेडेको छ । वामपन्थीहरूको ३४ वर्ष लामो शासन अन्त्य गर्दै तृणमुलकी अध्यक्ष बनर्जीले पश्चिमबंगालमा सरकार बनाएकी थिइन् । प्रदेशको विकास र औद्यागीकरणका कारण उनको अलोकप्रियताको ग्राफ बढ्न पाएको छैन । 

पश्चिम बंगालका बासिन्दाले उनलाई 'दिदी प्रधानमन्त्री'का रूपमा हेर्न चाहेका छन् । तर, लोकसभाका २२ वटा सिट मात्र भएकाले बनर्जीका लागि प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न या त कंग्रेस-आई नेतृत्वको महाबन्धनको सहारा लिनुपर्छ, या लोकसभामा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सानो दलले सरकारको नेतृत्व गर्ने विगतको परम्परा पुनर्जीवित हुनुपर्छ ।

प्रधानमन्त्री मोदीसामु योगी आदित्यनाथ र ममता बनर्जीलाई आफ्नो कुर्सीसम्म आउन नदिने रणनीतिमा खरो उत्रिनुपर्ने चुनौती देखिन्छ । नोटबन्दी, मनीलेस (डिजिटल) इन्डिया, स्वच्छ भारत अभियान, जनधन योजना, छोरी शिक्षालगायत आन्तरिक अभियानहरूले कतै मोदीलाई लोकप्रिय बनाएका छन् भने कतै आलोचनाको केन्द्रमा पनि परेका छन् । नोटबन्दीलाई भारतीय रिजर्भ बैंकले असफल सरकारी योजनाकै सूचीमा पारिदियो ।

त्यसबाहेक लगातार छिमेकी मुलुकसँग सम्बन्ध तिक्ततापूर्ण बनाएको आरोप प्रधानमन्त्री मोदीले खेप्दै आएका छन् । खासगरी, नेपालसँगको सम्बन्धलाई विशिष्टताका रूपमा भारतमा व्याख्या गर्ने गरिन्छ । नयाँ संविधान जारी भएपछि तराई-मधेशमा चलेको त्यसविरोधी आन्दोलनको बहानामा मोदी सरकारले नाकाबन्दी लगाएपछि उनी सर्वाधिक आलोचनाको केन्द्रमा रहे । त्यसयता दुई पटक उनले नेपाल भ्रमण गरेर उक्त आलोचनालाई मत्थर बनाउने प्रयास गरिसकेका छन् ।

त्यसबाहेक, पाकिस्तान, माल्दिभ्स, बंगालदेश र भुटानसँग पनि पछिल्ला दिनमा हार्दिकतापूर्ण सम्बन्धमा गिरावट आएको आकलन गर्ने गरिएको छ । गत वर्ष भुटानी सीमाको दोक्लाममा चीनविरुद्ध भारतीय सैनिक परिचालन गरेको विषयले पनि प्रधानमन्त्री मोदीमाथि निशाना साँध्ने गरिएकै छ । उक्त मुद्दा सेलाएयता मोदीले चीनसँगको सम्बन्ध हार्दिकतापूर्ण बनाउन कुनै कसर छाडेका छैनन् ।

त्यसो त, कंग्रेस-आई अध्यक्ष राहुल गान्धीले पनि लोकप्रियताको ग्राफ बढाउन सकेका छैनन् । गान्धी परिवारको नाम आउनासाथ नाक खुम्च्याउने र विरासतको राजनीति २१औं शताब्दीमा नचल्ने विश्लेषण गर्नेहरूको संख्या अधिक छ । गत जुलाई तेस्रो साता प्रधानमन्त्री मोदीको सरकारविरुद्ध लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गराएर गान्धीले 'बालापन' प्रदर्शन गरेको आरोप पनि खेपे । मोदी सरकारविरुद्धको उनको प्रस्तुती फितलो देखियो । उल्टै, मोदी सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा आफ्ना कामको प्रचार गर्ने अवसर पाएको देखियो, त्यसबाट ।

कंग्रेस-आई नेतृत्वको महागठबन्धनमा विहारमा प्रभावशाली राष्ट्रिय जनता दल (राजद), उत्तरप्रदेशको समाजवादी पार्टी (सपा) र उत्तरप्रदेशकै बहुजन समाज पार्टी (बसपा) सामेल छन् । राजदको नेतृत्व विहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजश्वी यादवले गरिरहेका छन् । सपाको नेतृत्व उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवका छोरा पूर्वमुख्यमन्त्री अखिलेश यादवले गरेका छन् । यस्तै, बसपाको नेतृत्व उत्तरप्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले गर्छिन् । 

कंग्रेस-आई नेतृत्वको महागठबन्धनमा सामेल हुन तृणमुल कंग्रेस हिच्किचाइरहेको छ । कम्युनिस्ट दलहरू पनि कंग्रेस-आईसँग नजिकिन सकेका छैनन् । तथापि, गान्धीले मोदीविरुद्ध हिन्दु धर्मावलम्बीहरूको मत आकर्षित् गर्ने प्रयास जारी राखेका छन् । त्यसको परिणाम हेर्न भने अझै पाँच महिना पर्खिनुपर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।