काठमाडौं- गत शनिबार अन्तर्राष्ट्रिय समुदाय तथा सञ्चार माध्यमको ध्यान नेपालतर्फ तानियो । कारण थियो, आफ्नै मातृभूमिमा समेत नजिक हुन नरुचाउने संसारकै ठूलो प्रजातान्त्रिक व्यवस्थाका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्ष दल कंग्रेस-आई अध्यक्ष राहुल गान्धी करिब तीन सय मिटरको दूरीमा एकैचोटी आवतजावत गर्दै थिए ।
सन् २०१९ का अप्रिल र मेमा भारतमा सत्रौं लोकसभाका लागि चुनाव हुँदैछ । त्यसमा मतदान गर्ने ८० प्रतिशतभन्दा बढी हिन्दु मतदाता छन् । मोदी र गान्धीको काठमाडौं दौडाहाको अन्तर्य त्यही चुनावमा हिन्दु मतदातालाई आफूप्रति आकर्षित गर्नु रहेको विश्लेषकहरूको ठहर छ ।
प्रधानमन्त्री मोदी काठमाडौं आउनुको मुख्य उद्देश्य थियो, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागिता । तर, सम्मेलन सकिएपछि उनले पशुपतिनाथमा विशेष पूजा, आराधना मात्र गरेनन्, तिलगंगामा भारतीय सहयोगमा निर्मित भव्य धर्मशालाको पनि उद्घाटन गरे ।
र, त्यहींबाट दक्षिण भारतीयहरू पशुपतिनाथका भक्त रहेको बताएर धार्मिक पर्यटनको नयाँ ढोका खोलिदिए । अर्थात्, मोदीका लागि यस पटकको लोकसभा निर्वाचनमा दक्षिण भारतीय मतदाताहरूको मत रणनीतिक महत्वको भएको विश्लेषण गर्न सकिन्छ ।
तर, प्रमुख प्रतिपक्षी दलका नेता गान्धीले पशुपतिनाथको दर्शन र पूजाआजा गर्न पाएनन् । सोही कारण हुन सक्छ, उनी चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश, मानसरोबरतर्फ उक्लेका छन् । हिन्दु धर्मावलम्बीहरूले कैलाश, मानसरोवरलाई भगवान् शिवको वासस्थान र क्रिडास्थलका रूपमा विश्वास गर्दै आएका छन् ।
कंग्रेस-आई धर्मनिरपेक्ष दलका रूपमा परिचित छ । तर, ७९.८ प्रतिशत जनसंख्याले हिन्दु धर्म मान्ने भएकाले सधैंझैं यसपटक पनि सोही जनसंख्या निर्णायक बन्ने निश्चित छ । हिन्दु धर्मावलम्बी मतदाता यसकारण पनि गान्धीका लागि महत्वपूर्ण छन्, सत्तारुढ भाजपाले एकलौटीझैं बनाएको उक्त क्लस्टरको मत आफू नेतृत्वको महागठबन्धनका पक्षमा तान्नु चुनौतीपूर्ण छ । र, सोही कारण हिन्दु धर्मावलम्बीहरूका आराध्यदेवको आशिर्वाद प्राप्त गर्ने होडमा देखिएका छन्, गान्धी पनि ।
हिन्दु धर्ममा भगवान् शिवलाई जीवनको आधार अर्थात् प्राणका रूपमा पूजा गर्ने गरिन्छ । शिव नहुँदा जीवन शव मात्र अर्थात् निष्प्राण बन्ने विश्वास गरिन्छ । संस्कृतमा लिंगको अर्थ हुन्छ, शरीरको प्रतीक । सोही कारण हिन्दु धर्मावलम्बीहरूले शिवलिंगलाई भगवान् शिवको प्रतीक मानेर पूजा गर्ने गर्छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता संवित पात्राले त कंग्रेस-आई अध्यक्ष गान्धीको काठमाडौं र कैलाश, मानसरोवर यात्रालाई राजनीतिक उद्देश्यबाट अभिप्रेरित रहेको आरोप लगाइसकेका छन् । र, गान्धीले चीनसँग अराजनीतिक सम्बन्ध बढाएको आरोप पनि उनको छ ।
गान्धी कैलाश यात्रामा निस्किने क्रममा भारतका लागि चिनियाँ राजदूत लिउ चाओहुईले बिदाइ गर्न लागेको तर सरकारले रोक लगाएको भाजपा प्रवक्ता पात्राको दाबी छ । र, उनको कैलाश यात्रालाई चीनले रोक लगाउनुपर्नेसम्मको तर्क गरेका छन्, पात्राले ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस-आई अध्यक्ष राहुल गान्धीको काठमाडौं र कैलाश, मानसरोवर दौडाहाको अन्तर्य आगामी लोकसभा चुनावमा हिन्दु मतदाताको मत आकर्षित गर्नु रहेको विश्लेषकहरूको ठहर छ ।
कंग्रेस-आईको हिन्दु यात्रा
कंग्रेस-आईको हिन्दु यात्रा बेलाबेला विवादमा तानिँदै आएको छ । हिन्दुस्तानलाई आफ्नै नेतृत्वमा धर्मनिरपेक्ष बनाएको थियो, उक्त पार्टीले । शुरुवाती चरणदेखि नै गान्धी परिवार मठ-मन्दिरहरूबाट टाढिएको छ । उक्त परिवारका नेताहरूलाई मठ-मन्दिरका पूजारीहरूले मन्दिर प्रवेशमा रोक लगाएका उदाहरण पनि छन् ।
तैपनि, हिन्दु धर्मावलम्बी मतदाताको भोट तान्ने उद्देश्यले पूजाआजा गर्न छाडेका छैनन्, उक्त परिवारका नेताहरूले । पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका पुत्र तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीले इसाई धार्मिक पृष्ठभूमिकी सोनिया गान्धीसँग विवाह गरेपछि हिन्दु मतदाता चिढिएका थिए । अहिले पनि उक्त 'क्लस्टर'का मतदाता तान्न धौ धौ पर्दै आएको छ, गान्धी परिवारलाई ।
सन् १९८६ मा सोनिया गान्धीलाई उडिसास्थित जगन्नाथपुरी मन्दिरमा दर्शन गर्न शंकराचार्य निश्चलानन्द सरस्वतीले रोक लगाएका थिए । राजीव गान्धीले प्रधानमन्त्रीका रूपमा गरेको नेपाल भ्रमण क्रममा पनि उनले पशुपतिनाथ परिसरमा प्रवेश पाएकी थिइनन् । जबकि, पशुपतिनाथका मुलभट्ट भारतीय नागरिक नै हुने गर्छन् ।
त्यतिबेला सोनियालाई पशुपतिनाथमा प्रवेशमा रोक लगाइएको विषय तत्कालीन राजा वीरेन्द्रसम्म पुगेको थियो । तर, राजा वीरेन्द्रले धार्मिक विषयमा आफूले हस्तक्षेप नगर्ने बताएर सोनियाको गुनासो सुनेको नसुन्यै गरिदिए । सोही विन्दुदेखि नेपालको राजपरिवार र भारतमा विरासतको राजनीति गर्दै आएको गान्धी परिवारबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको बताइने गरेको छ ।
भाजपा र हिन्दु धर्म
भाजपाको स्थापना नै हिन्दु नारासहित भएको हो । कंग्रेस-आईको नेतृत्वको सरकारले भारतलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गराएपछि राजनीतिको सम्भावित क्षेत्र पहिल्याएर स्थापना भएको हो, भाजपा ।
सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीले जनसंघ स्थापना गरे । र, सन् १९५२ को लोकसभा चुनावमा जनसंघले तीन स्थानमा जित हासिल गरेको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लागू गरेको संकटकालको सामना गर्न जनसंघलगायत दलहरू सम्मिलित भएर जनता पार्टी गठन भयो ।
सन् १९७७ सम्म आइपुग्दा उक्त पार्टी सरकारमा पुग्ने हैसियतसम्म पुगेको थियो । र, सन् १९८० मा त्यसलाई भारतीय जनता पार्टी नाम दिइयो, जसको अध्यक्ष थिए डा सुब्रमण्यम स्वामी । यसअघि सन् १९९६ मा १३ दिन, १९९८ मा १३ महिना तथा पुनः १९९८ देखि २००४ सम्म भाजपाका तर्फबाट अटलविहारी बाजपेयी प्रधानमन्त्री बनेका थिए । उनी भाजपाबाट प्रधानमन्त्री बन्ने पहिलो नेता थिए । भाजपाबाट दोस्रो प्रधानमन्त्रीका रूपमा सन् २०१४ मा उदाएका हुन्, नरेन्द्र मोदी ।
सन् २००४ देखि ०१४ सम्म निरन्तर सत्तामा रहे, मनमोहन सिंह । १० वर्षको कंग्रेस-आई राज मोदीले हिन्दु धर्म, विकास र समृद्धिको नाराका साथ बहुमत ल्याउँदै अन्त्य गरिदिए । र, आगामी लोकसभा निर्वाचनमा समेत खरो उत्रिँदै दोस्रो पटक सत्तामा निरन्तर रहने प्रयासमा छन्, उनी ।
ममता बनर्जी र आदित्यनाथको इन्ट्री
भारतको सबैभन्दा धेरै सिट रहेको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको लोकप्रियताका कारण उनलाई भावी प्रधानमन्त्रीका रूपमा पनि हेर्न थालिएको छ । ८० सिट रहेको उत्तर प्रदेशमा भाजपा गठबन्धनले ७३ सिट जितेको छ । त्यसको श्रेय मुस्लिम भोट तान्न सकेकाले मुख्यमन्त्री योगी आदित्यनाथलाई नै दिइएको छ ।
सोही कारण उनी भारतकै सबैभन्दा ठूलो राज्यका मुख्यमन्त्री बन्न सफल भएका थिए । मुस्लिम समूदायमा व्याप्त तीन तलाक (श्रीमान् तीन पटक तलाक भनेपछि श्रीमतीसँग सम्बन्ध विच्छेद हुने प्रथा)को अन्त्य, गुुण्डागर्दीप्रति कठोर, गौ हत्याविरुद्ध आक्रमकता र सामाजिक न्यायको वकालतका कारण आदित्यनाथको लोकप्रियता चुलिएको छ । हिन्दु धर्मगुरु भएर पनि मुसलमान समूदायको मन जित्न सफल हुनु योगी आदित्यनाथको लोकप्रियताको मुल कडी हो ।
सोही कारण भाजपाभित्र आदित्यनाथलाई प्रधानमन्त्री मोदीका प्रतिस्पर्धी नेताका रूपमा अथ्र्याउन थालिएको छ । आगामी लोकसभा निर्वाचनमा पनि उत्तरप्रदेशका ८० वटा सिटमा यसअघिझैं अधिकांश सिट जित्न सके आदित्यनाथ प्रधानमन्त्री मोदीका विकल्पका रूपमा देखिन सक्ने विश्लेषण भारतीय राजनीतिक वृत्तमा गर्न थालिएको छ ।
दक्षिण भारतीय राज्यहरूबाट सकेसम्म बढी लोकसभा सिट भाजपाको पोल्टामा पार्नुपर्ने चुनौती प्रधानमन्त्री मोदीसामु छ । दक्षिण भारतीय नागरिकहरू आर्थिक रूपमा उत्तरका भन्दा सम्पन्न मानिन्छन् । र, धार्मिक यात्रा पनि सुविधा सम्पन्न ढंगबाटै गर्न रुचाउँछन् । पशुपतिनाथ मन्दिर परिसरबाट दक्षिण भारतीय नागरिकहरूलाई जोडेर प्रधानमन्त्री मोदीले दिएको सन्देश रणनीतिक रूपमा आगामी लोकसभा निर्वाचनमा उनीहरूको मत तान्ने प्रयासका रूपमा अथ्र्याइएको छ ।
त्यति मात्रै होइन, पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई पनि प्रधानमन्त्री मोदीका लागि प्रतिस्पर्धी नेताका रूपमा हेर्न थालिएको छ । तृणमुल कंग्रेसकी अध्यक्ष बनर्जी सन् २०११ देखि पश्चिमबंगालकी मुख्यमन्त्री छन् ।
पश्चिमबंगालमा भाजपा र तृणमुल कंग्रेसबीच बर्चश्वको लडाईं चलिरहेको छ । तृणमुलले 'भाजपामुक्त बंगाल'को नारा अगाडि सारेको छ भने भाजपाले बनर्जीलाई सत्ताच्युत गर्ने अभियान छेडेको छ । वामपन्थीहरूको ३४ वर्ष लामो शासन अन्त्य गर्दै तृणमुलकी अध्यक्ष बनर्जीले पश्चिमबंगालमा सरकार बनाएकी थिइन् । प्रदेशको विकास र औद्यागीकरणका कारण उनको अलोकप्रियताको ग्राफ बढ्न पाएको छैन ।
पश्चिम बंगालका बासिन्दाले उनलाई 'दिदी प्रधानमन्त्री'का रूपमा हेर्न चाहेका छन् । तर, लोकसभाका २२ वटा सिट मात्र भएकाले बनर्जीका लागि प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न या त कंग्रेस-आई नेतृत्वको महाबन्धनको सहारा लिनुपर्छ, या लोकसभामा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सानो दलले सरकारको नेतृत्व गर्ने विगतको परम्परा पुनर्जीवित हुनुपर्छ ।
प्रधानमन्त्री मोदीसामु योगी आदित्यनाथ र ममता बनर्जीलाई आफ्नो कुर्सीसम्म आउन नदिने रणनीतिमा खरो उत्रिनुपर्ने चुनौती देखिन्छ । नोटबन्दी, मनीलेस (डिजिटल) इन्डिया, स्वच्छ भारत अभियान, जनधन योजना, छोरी शिक्षालगायत आन्तरिक अभियानहरूले कतै मोदीलाई लोकप्रिय बनाएका छन् भने कतै आलोचनाको केन्द्रमा पनि परेका छन् । नोटबन्दीलाई भारतीय रिजर्भ बैंकले असफल सरकारी योजनाकै सूचीमा पारिदियो ।
त्यसबाहेक लगातार छिमेकी मुलुकसँग सम्बन्ध तिक्ततापूर्ण बनाएको आरोप प्रधानमन्त्री मोदीले खेप्दै आएका छन् । खासगरी, नेपालसँगको सम्बन्धलाई विशिष्टताका रूपमा भारतमा व्याख्या गर्ने गरिन्छ । नयाँ संविधान जारी भएपछि तराई-मधेशमा चलेको त्यसविरोधी आन्दोलनको बहानामा मोदी सरकारले नाकाबन्दी लगाएपछि उनी सर्वाधिक आलोचनाको केन्द्रमा रहे । त्यसयता दुई पटक उनले नेपाल भ्रमण गरेर उक्त आलोचनालाई मत्थर बनाउने प्रयास गरिसकेका छन् ।
त्यसबाहेक, पाकिस्तान, माल्दिभ्स, बंगालदेश र भुटानसँग पनि पछिल्ला दिनमा हार्दिकतापूर्ण सम्बन्धमा गिरावट आएको आकलन गर्ने गरिएको छ । गत वर्ष भुटानी सीमाको दोक्लाममा चीनविरुद्ध भारतीय सैनिक परिचालन गरेको विषयले पनि प्रधानमन्त्री मोदीमाथि निशाना साँध्ने गरिएकै छ । उक्त मुद्दा सेलाएयता मोदीले चीनसँगको सम्बन्ध हार्दिकतापूर्ण बनाउन कुनै कसर छाडेका छैनन् ।
त्यसो त, कंग्रेस-आई अध्यक्ष राहुल गान्धीले पनि लोकप्रियताको ग्राफ बढाउन सकेका छैनन् । गान्धी परिवारको नाम आउनासाथ नाक खुम्च्याउने र विरासतको राजनीति २१औं शताब्दीमा नचल्ने विश्लेषण गर्नेहरूको संख्या अधिक छ । गत जुलाई तेस्रो साता प्रधानमन्त्री मोदीको सरकारविरुद्ध लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गराएर गान्धीले 'बालापन' प्रदर्शन गरेको आरोप पनि खेपे । मोदी सरकारविरुद्धको उनको प्रस्तुती फितलो देखियो । उल्टै, मोदी सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा आफ्ना कामको प्रचार गर्ने अवसर पाएको देखियो, त्यसबाट ।
कंग्रेस-आई नेतृत्वको महागठबन्धनमा विहारमा प्रभावशाली राष्ट्रिय जनता दल (राजद), उत्तरप्रदेशको समाजवादी पार्टी (सपा) र उत्तरप्रदेशकै बहुजन समाज पार्टी (बसपा) सामेल छन् । राजदको नेतृत्व विहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजश्वी यादवले गरिरहेका छन् । सपाको नेतृत्व उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवका छोरा पूर्वमुख्यमन्त्री अखिलेश यादवले गरेका छन् । यस्तै, बसपाको नेतृत्व उत्तरप्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले गर्छिन् ।
कंग्रेस-आई नेतृत्वको महागठबन्धनमा सामेल हुन तृणमुल कंग्रेस हिच्किचाइरहेको छ । कम्युनिस्ट दलहरू पनि कंग्रेस-आईसँग नजिकिन सकेका छैनन् । तथापि, गान्धीले मोदीविरुद्ध हिन्दु धर्मावलम्बीहरूको मत आकर्षित् गर्ने प्रयास जारी राखेका छन् । त्यसको परिणाम हेर्न भने अझै पाँच महिना पर्खिनुपर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४