शुक्रबार, साउन १, २०८३

टेम्पोले बोकेको आधा शताब्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पदम लामा अर्थात् 'वैद्य बाजे' टेम्पो चलाउँछन् । कालो वर्णका उनले ४४१४ नम्बरको टेम्पो चलाउन थालेको आधा शताब्दी नै भयो । उमेर ६५ वर्ष भएका वैद्य बाजेले १५ वर्षको उमेरदेखि टेम्पोको स्टेरिङमा हात राख्न थालेका हुन् ।

उनी भन्छन्, 'त्यतिखेर भर्खर-भर्खर टेम्पो चल्न शुरू भएको थियो राजधानीमा ।' लामा टेम्पो हाँकेर कोटेश्वर, नयाँबानेश्वर, थापाथली, जाललाखेल र लगनखेलको रुटमा फेरो मार्छन् । भन्छन्, 'दैनिक सातदेखि १० ट्रिपसम्म लगाउँछु ।'

पहिलोपटक १९० नम्बरको टेम्पो चलाए । एक सयजति टेम्पो चल्थे राजधानीमा, ०३० सालतिर । त्यसपछि भने टेम्पोको संख्या अलि बढ्यो । २५ पैसा, ५० पैसा हुँदै अहिले १५ रुपैयाँसम्म भयो, जनही न्यूनतम भाडा । अधिकतम ३० रुपैयाँसम्म पर्छ, उनले टेम्पो चलाउने रुटमा ।

शुरुवाती चरणमा साहुलाई पाँच सय रुपैयाँ तिरे पुग्थ्यो । अहिले ३५ सयदेखि चार हजार रुपैयाँसम्म बुझाउनुपर्छ । उनी भन्छन्, 'टेम्पो चलाएरै महँगी देखें । त्यसबेला पैसा महँगो र सामान सस्तो थियो । अहिले पैसा सस्तो र सामान महँगो भएको छ ।'

दैनिक १० ट्रिप लगाउन पाए नाफामा हुन्छन् उनी, नत्र घाटामा । त्यस्तो दिन पनि उनले बेहोरेका छन् । दैनिकजसो यो रुट फेरो मार्दामार्दै उनी चाउरिए । भन्छन्, 'हातगोडा चलुन्जेल म टेम्पो चलाउनेछु ।'

उनी आमाको गर्भमै हुँदामै बाबु बिते । ०१४ सालमा जन्मिएका लामा १३ वर्षकी हुँदा आमा पनि बितिन् । अनि, उनलाई गाउँमा बस्न मन लागेन । पढाउने र खुवाउने मान्छे नभएपछि उनी एक्लो जीवन लिएर उनी काठमाडौं आए ।

काभ्रेको अम्बोडे गाविसमा जन्मिएका उनी राजधानी छिर्दा अहिलेजस्तो बाक्लो गाडी थिएनन् । साना गल्ली र थोरै गाडी थिए । उनी काम खोज्दै राजधानीमा भौंतारिए । उनलाई कसैले टेम्पो चलाउन लगाए । उनले बाटोमा तीनपांग्रे टेम्पो गुडेको देखेका थिए । टेम्पो चालक बन्ने सपना देखाएर उनलाई कसैले टेम्पोका साहुसम्म पुर्‍याइदिए ।

तर, उनलाई टेम्पो कसले दिने चलाउन ? टेम्पो साहुले कसरी पत्याउने ? तर, एक जना साहुले उनलाई पत्याए । उनी भन्छन्, 'धन्न त्यतिखेर टेम्पो चलाउन लाइसेन्स चाहिन्थेन, मैले टेम्पो चलाएर १७ वर्षपछि लाइसेन्स बनाएँ ।' उनले ०४० सालतिर टेम्पो चलाउने लाइसेन्स झिके ।
 
'टेम्पो चलाएरै महँगी देखें । त्यसबेला पैसा महँगो र सामान सस्तो थियो । अहिले पैसा सस्तो र सामान महँगो भएको छ ।'

२०२५ सालदेखि उनले टेम्पो चलाउँदै आए । साहुलाई दैनिक ५० रुपैयाँ बुझाउँथे । पाँच रुपैयाँ लिटर डिजेल किनेर हाल्थे र २५ पैसा भाडा लिन्थे । मिटरमा ५० पैसा हान्थ्यो ।

उनी साहुको भटमास बोकेर काठमाडौं-बनेपा आउजाउ गर्थे । दिनमा तीन खेपसम्म भ्याउँथे । दिनभरिमा ७५ पैसा कमाउँथे । २५ पैसाले नुन लिएर जान्थे र ५० पैसा आमालाई राख्न दिन्थे । उनी भन्छन्, 'काभ्रेको बतासे भन्ने ठाउँमा २५ पैसाको नुन बोक्न नसकेर १० ठाउँमा बिसाउँथें र धुरुधुरु रुन्थें ।'

त्यतिबेला उनले राजधानीका चिल्ला सडकमा टेम्पो चलाउँला भन्ने सोचेका पनि थिएनन् । उनी भन्छन्, 'टेम्पो चलाउन राज्यबाट जति सजिलो थियो, त्यसभन्दा धेरै साहुबाट गाह्रो थियो ।'

शुरुवाती चरणमा उनले साहुबाट कुटाइ पनि खाए । उनी भन्छन्, 'दिनभरि चलाएर साहुलाई दिने पैसा पनि उठ्थेन । कम पैसा दिँदा उनीहरू रिसाएर पिट्थे ।'

मैतीदेवीमा एक जना साहु छन्, जसको नाम उनले भन्न चाहेनन् । रातोपुलबाट उनलाई समाएर लगेका थिए, ती साहुले । त्यसबेलाको ठूलै पोस्टका सरकारी कर्मचारी रहेछन्, ती साहु । तिनले लगातार टेम्पो चलाउन दिन्थे । तर, पैसा अलिकति बाँकी रह्यो भने पनि घरभित्र बोलाएर पिट्ने रहेछन् ।

पछिपछि ती साहुको टेम्पो चलाउनै छाडे उनले । ती साहुको गेटबाट टेम्पो निकाल्दा पनि पाँच सय पहिले नै डिपोजिट राख्नुपथ्र्यो । र, यदि टेम्पोमा कुनै धर्सो कोरियो भने पैसा पनि पच, टेम्पो पनि रोकिदिन्थे ।

धेरै टेम्पो थिएनन्, ट्याक्सी पनि एकदम कम थिए । अनि ड्राइभर पनि एकदम कम थिए । उनले जीवनमा अनेक मान्छे सवार गराए । उनी भन्छन्, 'गौरी मल्ल, मौसमी मल्ल, बसुन्धरा भुसाल दिदीलाई मैले बोकें ।'

राजधानीमा धेरै कलाकार त्यतिबेला टेम्पो र ट्याक्सी चढ्थे । २०५० को दशकसम्म पनि धेरै कलाकार टेम्पो चढेर न्युरोड र विशालबजार पुग्ने गर्थे । उनी भन्छन्, 'कम्तिमा नेपालका कलाकारहरू दयालु छन् ।'

उनी प्रहरीको स्वभाव मन पराउँदैनन् । छाडा शब्द प्रयोग गरेर गाली गर्नेप्रति उनको गुनासो छ । उनी भन्छन्, 'मेरो लाइसेन्स कहाँ बनाएको भन्दै भुईंमा फालिदिए कति प्रहरीले ।'

पुरानो लाइसेन्स देखेर छक्क पर्छन् । अहिले त्यस्तो हुँदैन भन्ने उनलाई लाग्छ । इमानदारप्रति उनी साह्रै विश्वस्त छन् । टेम्पो विस्तारै हटाउँछन् भन्ने सुनेर डराएका थिए । साना गाडी हटाउँदा ड्राइभर मात्रै होइन, साहुहरू पनि आत्तिएका थिए । उनी भन्छन्, 'टेम्पो चले साहु चल्छन्, हामी चल्छौं, रोजी रोटी चल्थ्यो ।'

जीवन चलाउनकै लागि टेम्पोको स्टेरिङ घुमाइरहेका छन्, लामा । उनीसँग कुरा गर्दागर्दै नयाँबानेश्वर चोकमा पुगियो । चढेका यात्रुसँग पैसा लिँदै झारे । फेरि टेम्पोमा हतारिए नयाँ यात्रु चढे । उनले केही बोलेनन्, टेम्पो चल्यो । विस्तारै गाडीको घुइँचोमा उनको टेम्पो मिसिएर गयो । यही शहरीया भीडमा वैद्य बाजेको आधा शताब्दी टेम्पोले नै घिसार्‍यो । शायद अझै घिसारिरहनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।