काठमाडौं- असोजको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ। पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आइतबार ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको हो। आइतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ।
कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ।
नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फन्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५.३५ प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ। तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ। आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।