काठमाडौं- लगातारको वर्षासँगै आएको पहिरोका कारण अछाममा ठूलो धनजनको क्षति भएको छ। कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले पाँच वटाभन्दा बढी घर पुरिएको छ।
पहिरोले कमलबजार नगरपालिका-६ मा दुई घर पुरिँदा नौ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यसैगरी, तुर्माखाँद गाउँपालिका–५ मा तीन घर पुरिदाँ सात जना बेपत्ता भएको प्रहरीले बताएको छ।
पहिरोले पुरिएका र बेपत्ताको खोजी जारी रहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका अनुसार अहिले घटना स्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी छ। थप जानकारी घटनास्थलमा प्रहरी पुगेपछि आउने उनले बताए। अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा केही समस्या भएको प्रहरीले बताएको छ।