काठमाडौं- नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरू गरेको छ। यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरूलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन्।
यो सेवा लागु भएसँगै भिसा डाइरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटिएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो। नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड वा खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्ने बैंकले बताएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सुरू गर्न पाउँदा खुसी व्यक्त गरे।
यो सेवाको सुरूवातसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिटेन्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको उनले जानकारी दिए।