काठमाडौं- मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ। योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू उपलब्ध भएका छन्। खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम बजारमा उपलब्ध भएका छन्।
खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको दी नेपाल डिस्टिलरिजका महाप्रबन्धक शुभाष लामिछानेले बताए। ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं’ उनले भने ‘हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुनेछ र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं।’
खुकुरी ह्वाइट रम पारदर्शी छ। कम्पनीका अनुसार गर्मीयाममा यसलाई बरफ (आइस) वा जुस जस्ता पेय पदार्थ मिसाएर प्रयोग गर्न सकिने छ। ह्वाइट रमलाई ककटेलका लागि प्रयोग गर्न सकिन्छ। ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले 'मोहितो' बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब उपभोक्ताले फेरि ह्वाइट रमसँग 'मोहितो' पिउन सक्ने कम्पनीको भनाइ छ।