काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिमा उपस्थित भएर आफैंले दिएको बयानमा सीधै हस्ताक्षर गर्न अस्वीकारेका छन्। लिखित रूपमा उतारिएको बयान हस्ताक्षरका लागि दिइए पनि राणाले अस्वीकारेका हुन्।
राणासँग पटक–पटक लिएको बयानलाई टिपोट गरेर अध्ययनका लागि केही दिनअघि नै समितिले उपलब्ध गराएको थियो। तर शुक्रबारको बैठकमा राणाले आफूले बयान अध्ययन गर्न नपाएकाले यत्तिकै हस्ताक्षर नगर्ने अडान लिए। त्यसपछि समितिका सदस्यहरूले आफैं लिखित बयान पढेर सुनाइरहेका छन्।
समितिले शुक्रबार राणासँग पूरक प्रश्न सोध्ने उनलाई बोलाइएको थियो। तर पूरक प्रश्न नसोधी विगतमा दिएकै बयानमा हस्ताक्षर गराउने निर्णय भएपछि राणाले त्यसमा तत्काल सही नगर्ने अडान लिएसँगै बैठक लम्बिएको छ।