शनिबार, जेठ ५, २०८१

फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

कास्की- सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो। स्थापनाको २४औँ वार्षिकोत्सव मनाइरहेको क्लबले यसबीचमा विभिन्न अप्ठेरोमा परेका असहाय बालकलाई आश्रय दिँदै आएको छ। विद्यालयको पढाइ सम्पन्न गराउँदै ११, १२ को कक्षा पनि पूरा गराउन योगदान गरेको छ।

triton college

खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ। ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता क्लबले सञ्चालन गर्दै आएको छ। सो प्रतियोगितामा दर्शकले काटेको टिकटबाट बचेको रकम एकेडेमी सञ्चालनमा उपयोग गर्दै आएको क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए। 

पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमीमा १६ जिल्लाबाट २८ बालकहरू राखेर एकेडेमी सुरु गरिएको थियो। यस आर्थिक वर्षमा १२ कक्षा पूरा गरेका आठ जनाको बिदाइ गरी बाँकी १० जिल्लाका १३ बालक आवासीयरूपमा अध्ययन गर्दै आएको उनले बताए। उनीहरूको गाँस, बास, कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको कार्य निःशुल्करूपमा एकेडेमीले गर्दै आएको छ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दा खेलप्रेमी दर्शक र प्रायोजकले दिएको उत्साहबाटै एकेडेमी सञ्चालन भइरहेको अवस्थामा कोरोना कहरले भने प्रभावित बनाएको उनको भनाइ छ। फुटवल प्रतियोगितामात्र नभई सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको क्लब राष्ट्रियरूपमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चामा छ।

एकेडेमीमा आश्रित बालक पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा अध्ययनरत छन्। विसं २०५९ मा पहिलो क्याराभान गोल्ड कप एवं २०६० देखि आहा गोल्डकप सञ्चालनसँगै आवासीयरूपमा एकेडेमी चलाउनु पर्दछ भन्ने सोचका साथ अघि बढिएको क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले बताए। 

corrent noodles
Metro Mart

एकेडेमी स्थापनासँगै क्लबबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि सहाराको महत्व र गरिमा अझै चुलिएको हो। एकेडेमीकै उत्पादन राष्ट्रिय खेलाडी अनिल गुरुङ, प्रशिक्षक विष्णु गुरुङ आदिका कारण पनि एकेडेमीको सार्थकतालाई पुष्टि गरेको छ। एकेडेमीकै अवसर पाएका सुशील लामा, अजित भण्डारी, नवीन श्रेष्ठजस्ता खेलाडीका कारण पनि क्लबको उचाइ अझै बढेको छ।

एकेडेमी सञ्चालनकै लागि विसं २०६३ मा पोखरा–१७ दोविल्लामा लगभग रु २८ लाख ५० हजार लागतमा २६ रोपनी जग्गा खरिद गरेसँगै उक्त परिसरमा तीनतले भवन, मिनी प्यारापिटसहितको फुटबल मैदानलगायतका विभिन्न संरचना तयार गरिसकिएको छ। फुटबल खेलको अन्तर्राष्ट्रिय संस्था फिफाले यसका गतिविधिलाई समेटेर तयार पारेको ‘हिमालको देशमा फुटबलभित्र लुकेको कथा’ विषयको वृत्तचित्रले यसको भूमिकालाई अझै स्पष्ट पारेको क्लबका सल्लाहकार एवं मानार्थ सदस्य नारायण कार्कीले बताए।

‘बको स्थापनाकालदेखि नै यसका सदस्यले देखाउने गरेको सेवाभाव र आर्थिक पारदर्शितासँगै क्रियाशीलताका कारण स्वदेश एवं विदेशमा यसले खेलप्रेमीको विश्वास जित्न सफल भएको छ’, कार्कीले भने, ‘क्लबको आफ्नै एकेडेमी तथा रङ्गशाला हुनु पनि यसको विशिष्टता हो।’

एकेडेमीको दीर्घकालीन सुसञ्चालनका लागि सूर्यबहादुर केसीको परिवारले वार्षिक रु १५ लाख उपलब्ध गराउने भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। दश वर्षसम्म केसीको पुण्यतिथिका अवसरमो परिवारले क्लबलाई वार्षिक रु १५ लाख प्रदान गर्ने सम्झौता गरी यसै वर्षदेखि एकेडेमीको नामकरण ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ गरिएको उनले बताए। एकेडेमीकै व्यवस्थित एवं दीर्घकालीन सञ्चालनका लागि संस्थाले स्थापना गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषमा हालसम्म रु दुई करोड ५६ लाख ८४ हजार सङ्कलन भइसकेको महासचिव अधिकारीले जानकारी दिए।

यसैबीच  क्लबले २४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। क्लबले खेल पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै पत्रकार नारायण शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो। उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रु २० हजार पाँच सय ५५  नगदसहित दोसल्ला र ताम्रपत्रबाट सम्मान गरे। त्यस्तै क्लबको मानार्थ सदस्यबाट वरिष्ठ पत्रकार नारायण कार्की र उत्कृष्ट सदस्य सिद्धार्थ थापा मगरलाई सम्मान गरियो।

कार्यक्रममा महानगरप्रमुख धनराज आचार्यले सामाजिक सेवा एवं खेलका माध्यमबाट सहारा क्लबले पुर्‍याएको योगदानको प्रशंसा गरे। कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्की, सम्मानित व्यक्तित्व नारायण शाही, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजीप्रसाद अधिकारी, गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङलगायतले क्लबले खेल खेलाउँदै एकेडेमी चलाउनु अरुका लागि पनि अनुकरणीय भएको बताए।   -रासस

प्रकाशित: Sep 16, 2022| 09:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।