काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ। बिहीबार सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले उक्त बोनस प्रस्ताव पारित गरको हो।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेको थियो।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एन्ड कम्पनीलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गरेको छ।
त्यस्तै, सभाले सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१०९ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ।
सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानसमेत गरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बोनस वितरणपछि ५८ करोड २५ लाख रुपैयाँ वितरणपछि चुक्ता पुजी १२ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चति मुनाफाबाट पहिलो पटक २.५० प्रतिशत नगद लाभांश र १६.५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गरेको थियो।