सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशकै ठूलो परियोजना माथिल्लो अरुणका लागि जुट्यो ५३ अर्बको लगानी

देशकै ठूलो परियोजना माथिल्लो अरुणका लागि जुट्यो ५३ अर्बको लगानी

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ। आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा बिहीबार साँझ हस्ताक्षर भएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन्। सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ। आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा बिहीबार साँझ हस्ताक्षर भएको छ। 

National life

लगानीसम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको उक्त समझदारीअनुसार ऋण लगानीसम्बन्धी आवश्यक निर्णय हुनेछ। 

कूल एक हजार ६१ मेगावाट क्षमताको सो आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वपूँजी रहनेछ। आयोजनामा कूल ऋण रु एक खर्ब ५० अर्ब ४० करोड बराबर रहनेछ। त्यसमा वैदेशिक ऋण रु ९७ अर्ब छ करोड बराबर रहनेछ। विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ। 

सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा रहेको अर्धजलाशय प्रकृतिको यो आयोजनाको हालसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिनेछ। कूल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत ल्याएर स्थानीय छोग्राकस्थित भूमिगत विद्युत्गृहमा खसालिनेछ। 

Shivam cement

आयोजनाबाट वार्षिक चार हजार ५१२ गिगावाट घण्टा अर्थात् चार अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ। त्यसमध्ये ३० प्रतिशत ऊर्जा सुक्खायाममा उत्पादन हुनेछ। उत्पादित बिजुली विद्युतगृहबाट करिब छ किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत सङ्खुवासभाको हाइटारमा निर्माण हुने सबस्टेशनमा जोडिनेछ। 

सन् २०२४ को अन्त्यतिर निर्माण सुरु गरेर सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल आयोजनाको सम्भाव्यता अध्ययन पूरा भई बोलपत्रको डिजाइन र निर्माण सुपरीवेक्षण कार्यका लागि परामर्शदाता छनोटको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

आयोजनाका लागि दुई सय २५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरणका क्रममा रहेको छ। आयोजनाबाट असाध्यै न्यून अर्थात् २२ घरधुरी मात्रै भौतिकरूपमा विस्थापित हुनेछन्। आयोजनाबाट वातावरणीय र सामाजिक प्रभाव तुलनात्मकरूपमा न्यून रहेको छ। 

आयोजनाको पहुँचमार्ग निर्माणको काम सन् २०२३ देखि सुरु गर्ने लक्ष्य राखिएको छ। पहुँचमार्गमा सुरुङमार्गसमेत निर्माण गर्नुपर्नेछ। त्यसका लागि मात्रै रु नौ अर्ब बराबरको लगानी लाग्नेछ। 

अध्ययनअनुसार अप्ठ्यारो पहाड र भिर काटेर सडक निर्माण गर्नुपर्ने भएकाले कम्तीमा पनि दुई वर्ष लाग्नेछ। आयोजनालाई सरकारले जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ। आयोजनाको वित्तीय व्यवस्थापनका लागि अर्थमन्त्रालयले विश्व बैंकसँग संवाद गरिरहेको छ। आयोजनाको अध्ययनका लागि पनि विश्व बैंकले नै सहयोग गरेको छ। 

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल र नेपालीको सपना साकार हुने चरणमा प्रवेश गरेको बताउनुभयो। निर्माणमा जान लागेकामध्ये नेपालकै ठूलो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको उहाँले जानकारी दिए। 

प्रकाशित: Sep 16, 2022| 07:40 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्