शनिबार, साउन १२, २०८१

जनार्दनले जोगाएको जनमत: सुरक्षित ग्राउन्डमा निर्धक्क निर्वाचन

२०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र २०७४ मा शर्माले शाहलाई पराजित गरेका थिए। तर यसपटक शर्मा र शाह एउटै गठबन्धनमा भएका कारण नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देखिएको छ भने जनार्दन शर्माले टिकट पाउने लगभग निश्‍चित बनेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको अर्थ मन्त्रालय सम्हालेपछि जनार्दन शर्मा कुनै न कुनै रुपमा चर्चामा रहे। विवादित बने। अर्थशास्त्रका सामान्य सिद्धान्त समेत नजान्‍ने अर्थमन्त्री भनेर उनीमाथि टिप्पणी मात्र गरिएन, अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गराएको आरोपसमेत लाग्यो। देशको सम्पूर्ण राजनीति खल्बलियो, संसदीय समितिले उनको गल्ती देखाउन नसकेपछि राजीनामा दिएका जनार्दन पुनर्बहाली भए। कहिले विदेशबाट आएको कालो धन लुकाउने वातावरण बनाएको भनेर चर्चामा रहे भने दुई वर्ष पहिले रुकुमको सामूहिक हत्याकाण्डमा दोषी आफन्तको संरक्षणमा सक्रिय बनेको भनेर समेत आलोचित भए। 

triton college

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीको सैन्य दस्ताको नेतृत्व गरेका नेता शर्माको स्वभावमा अहिले भने खासै भिन्‍नता देखिँदैन। परिणाममुखी काम रुचाउने शर्मा देउवा सरकारका अर्थ मन्त्रालयलाई अड्याएर बसेका बलिया मन्त्रीमध्येका एक हुन्। पार्टी संगठनभित्र समेत बलियो देखिने जनार्दन प्रचण्डका विश्‍वास पात्रमा पर्छन्। पछिल्लो समय कृष्णबहादुर महरा र वर्षमान पुनलाई समेत पछि पारेर संगठन भित्र उनले फराकिलो स्थान तयार पारेको चर्चा हुने गरेको छ। किशोरावस्थामा जनस्तरबाट राजनीति थालेका जनार्दनको आगामी निर्वाचनको धरातल कस्तो छ? 

संघीयताको खाका निर्माणले रुकुम दुई टुक्रा भयो। पश्चिम रुकुम कर्णाली प्रदेशको भाग लागेपछि जनार्दन शर्मा नै जिल्लाको एक शक्तिशाली नेताको रुपमा देखा परे। रुकुममा उनलाई टक्कर दिने नेता लोकेन्द्र विष्ट र हेमन्तप्रकाश ओली थिए। तर, अहिले दुवै जनाहरु नेकपा माओवादी केन्द्रमा छैनन्। लोकेन्द्र विष्ट त सक्रिय राजनीति छोडेर कृषि कर्ममा लागे भने हेमन्तप्रकाश ओली नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपामा छन्। जसले जिल्लालाई प्रभाव पार्ने राजनीति गर्न सकेका छैनन्। 

सुरक्षित ग्राउन्ड 
रुकुम पश्चिममा मुसिकोट, चौरजहारी र आठबीसकोट गरी तीन नगरपालिका र बाँफिकोट, त्रिवेणी र सानीभेरी गरी तीन गाउँपालिका छन्। सबैमा नेकपा माओवादी केन्द्रले जितेको छ। एकाध वडाध्यक्ष बाहेक सबैमा माओवादी केन्द्रकै वर्चस्व छ। जनार्दनले जिल्लामा माओवादी केन्द्रलाई एकछत्र विजयी मात्र गराएका छैनन्, उनलाई पार्टीभित्र र बाहिरबाट चुनौती दिनसक्ने नेता समेत देखिँदैनन्। 

यसअघि रुकुम एक हुँदा पनि माओवादी केन्द्रको प्रभाव एकछत्र जस्तै थियो। अहिलेको रुकुम पूर्वमा समेत जनार्दनकै निर्देशन चल्छ। पुथाउत्तरगंगा, भूमे, सिस्‍ने गरी तीन गाउँपालिका रहेको लुम्बिनी प्रदेशको रुकुमपूर्वका तीनै स्थानीय तह माओवादी केन्द्रको हत्केलामा छ। 

Metro Mart
vianet

त्यहाँबाट संघीय र प्रादेशिक संसद्‌मा केन्द्रीय सदस्य गणेशमान पुन, कमला रोका, तेजबहादुर ओली र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिनिधित्व गर्छन्। रुकुम पूर्व र रुकुम पश्चिम युद्धपछि पनि माओवादी केन्द्रले आफूलाई सुरक्षित रुपमा जोगाएको जिल्ला हो।

रुकुमबाट केन्द्रीय सदस्य बनेका राजकुमार शर्मा र वसन्त शर्माले जनार्दन शर्मालाई नै नेता मान्छन्। रातो कामी र विमला केसी प्रदेशको राजनीतिमा सक्रिय छन्। रातो कामी केही हप्ताअघि मात्रै कर्णाली प्रदेश सरकारका ऊर्जामन्त्री बनेका छन् भने प्रदेशका पूर्वमन्त्री विमला केसी कर्णाली प्रदेशकै भावि मुख्यमन्त्रीको आकांक्षा सहित राजनीतिमा छन्। 

जनार्दनकी कान्छी बहिनी नारायणी शर्मा अहिले दाङ क्षेत्र नम्बर १ मा देउखुरीलाई आधार बनाएर राजनीति गर्छन्। यसरी पूर्व र पश्चिम रुकुमका सम्पूर्ण नेतालाई 'सेटल' गर्दै केन्द्रीय राजनीतिमा पुगेका जनार्दन शर्माका लागि निर्वाचन जित्‍न त्यति गाह्रो विषय नभएको उनी निकटका नेताहरुको दाबी छ। 

शर्मा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले बताए। २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनार्दन शर्मा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए। शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरेका शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको थियो भने जिल्लाका पुराना नेता मानिने गोपालजीजंग शाहको पक्षमा १५ हजार ६ सय ५९ मत परेको थियो। शर्माले २०७० सालको संविधान सभा सदस्यको निर्वाचनमा समेत शाहसँगै निर्वाचन लडेका हुन्। त्यो निर्वाचनमा पनि फराकिलो मतान्तरले शाहलाई पराजित गरेका थिए। निर्वाचनमा शाहको भन्दा शर्माको मत १२ हजार ५ सय ९९ ले बढी थियो। 

२०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र २०७४ मा शर्माले शाहलाई पराजित गरेका थिए। तर यसपटक शर्मा र शाह एउटै गठबन्धनमा भएका कारण नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देखिएको छ भने जनार्दन शर्माले टिकट पाउने लगभग निश्‍चित बनेको छ। 

शर्मा र शाह तीन पटक आमने-सामने भइसकेका छन। २०४८ को प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७० को संविधान सभा सदस्य निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शर्मा र शाहबीच प्रतिस्पर्धा भैसकेको छ। २०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र २०७४ मा शर्माले शाहलाई पराजित गरेका थिए। तर यसपटक शर्मा र शाह एउटै गठबन्धनमा भएका कारण नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देखिएको छ भने जनार्दन शर्माले टिकट पाउने लगभग निश्‍चित बनेको छ। 

सत्ता गठबन्धनको सिट बाँडफाँटको प्रारम्भिक सहमति अनुसार पनि रुकुम माओवादी केन्द्रकै भागमा परेको छ। रुकुम माओवादीको सुरक्षित तथा बलियो स्थान भएकाले माओवादीले छोड्ने मनस्थितीमा रहेको छैन। नेकपा एमाले रुकुम पश्चिमले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नन्दराम देवकोटा, प्रविण नेपाल र सरिता सुनारको नाम सिफारिस गरेको छ। 

डेपुटी कमान्डरदेखि गृहमन्त्रीसम्म  

स्कन्द शर्मा रुकुममा २०२२ सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने मध्य एक हुन्। जनार्दन उनकै छोरा हुन्। १४ वर्षकै उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका जनार्दन २०३६ सालमा सिम्रुत स्वास्थ्य चौकी, रुकुमको स्वास्थ्य सहायकको जागिर खाँदा १७ वर्षका थिए। तर, कम्युनिस्ट पार्टीको सदस्यता लिएको थाहा पाएपछि पञ्चहरुले दुःख दिन थालेपछि जागिर छोडेर हिँडे। २०३७ सालमा रुकुमको साक्चा प्राथमिक विद्यालयमा शिक्षक भएका उनी २०३८ सालमा तरकारी बीउ उत्पादन केन्द्र रुकुममा प्राविधिक सहायक समेत भएर काम गरेका थिए। तर, कम्युनिष्ट भएर गाउँमा गरिखान पञ्चहरुले नदिएपछि पूर्णकालीन राजनीतिमा जनार्दन होमिए। 

उनी २०३८ सालमा नेकपा चौमको रुकुम जिल्ला सदस्य भएका थिए। २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रुकुममा उम्मेदवार भए पनि थोरै मतले पराजित भएका थिए। २०५० सालमा पार्टीको दाङ जिल्ला सेक्रेटरी भएका उनी २०५२ सालमा सशस्त्र संघर्ष सुरु भएपछि उनी पनि भूमिगत भए। युद्धको जर्जर समयमा मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा, क्षेत्रमा पुगेर संगठनलाई बलियो बनाए। २०५६ सालमा केन्द्रीय सदस्य, २०५७ सालमा पोलिटब्यूरो तथा सेती महाकाली क्षेत्रीय ब्यूरो इन्चार्ज र कमिसार भएर पार्टीको भूमिका निर्वाह गरे। 

प्रभाकरले थुप्रै मोर्चामा कमाण्डर भइ नेतृत्व गरे। लडेका केहीबाहेक अधिकांश मोर्चा सफल बनाए। युद्धको चरम समयमा 'कम्ब्याट ड्रेस'मा सैन्य शैलीमा कुराकानी गरेका तमाम तस्बिर र भिडियोहरु अहिले पनि विभिन्न सामाजिक सञ्जालहरुमा जनार्दन देखिन्छन्। २०६० सालमा डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर भएका उनले माओवादी शान्ति प्रक्रियामा आउँदा पार्टी पोलिटब्युरो सदस्य मात्र भएनन्, प्रचण्ड पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा उनी शान्ति तथा पुननिर्माणमन्त्री भएर शान्ति निर्माणका लागि काम गरे। 

प्रचण्ड आफूले सरकार निर्माण गरेको बेला जनार्दन छुटेका छैनन्। दोस्रो पटक २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा जनार्दन उर्जामन्त्री भए। त्यो कार्यकाललाई निकै सफल यसकारण पनि मानिन्छ कि रुकुमका अधिकांश स्थानमा विद्युत पुग्यो भने विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि शर्माको राजनीतिक उचाइ बढ्यो। 

आफ्नो निर्वाचन क्षेत्रमा सडक क्रान्ति गरेका जनार्दनले गाउँका प्राय: मानिसलाई प्रत्यक्ष चिन्छन्, कुरा गर्छन्, समस्या लिएर काठमाण्डौ पुगेका जिल्लाबासीलाई उनले रित्तो हात फर्किन नदिने गरेको जिल्लाका नेता कार्यकर्ताहरु बताउछन्। 'युद्धमा उहाँको कार्यशैली जस्तो थियो, अहिले पनि हामीलाई त्यस्तै लाग्छ,' शर्मा निकट एक नेताले बताए। 

प्रकाशित: Sep 16, 2022| 11:10 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...