काठमाडौं– अहिलेको धनुषा क्षेत्र नम्बर ४ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको निर्वाचन क्षेत्र हो। पहिले ५ वटा क्षेत्र रहेको धनुषा–५ बाट यादव २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
२०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र कायम भए। विगतको क्षेत्र नम्बर ५ को अधिकांश भूगोल समेटिएर अहिले धनुषा–४ बनेको छ। यो क्षेत्रमा प्रथम राष्ट्रपतिको उत्तराधिकारीमा रुपमा कांग्रेसबाट उनकै छोरा डा. चन्द्रमोहन र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव रहेका छन् भने नेकपा एमालेका तर्फबाट यो क्षेत्रमा सचिव रघुवीर महासेठ छन्।
नेपाली कांग्रेसले चन्द्रमोहन र महेन्द्र दुवैको नाम प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ भने एमालेबाट महासेठको नाम एकल सिफारिस भएको छ। अझ यही क्षेत्रका कांग्रेस नेता एवं कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको धनुषा जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित सन्तोष यादव केही दिन अगाडिमात्रै एमालेमा प्रवेश गरेपछि चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ।
महेन्द्र कि चन्द्रमोहन?
धनुषाको यो क्षेत्रबाट डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि भएको उपनिर्वाचनमा डा. चन्द्रमोहन उम्मेदवार बनेका थिए। उपनिर्वाचनमा उनी एमालेका रघुवीरसँग पराजित भए। त्यसपछि २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाट चन्द्रमोहन उम्मेदवार बनेर जित हात पारे। २०७० सालमा महेन्द्र समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा महेन्द्र उम्मेदवार बने र एमालेका रघुवीरसँग पराजित भए। चन्द्रमोहनले महेन्द्रलाई छोडेर प्रदेश ‘क’ मा उम्मेदवार बने। तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार ज्ञानेन्द्र कुमार यादवसँग चन्द्रमोहन पराजित भए। ख प्रदेशमा एमालेका शत्रुधन महतोले जित निकाल्दा कांग्रेसका वाशुलाल महतो कोइरी पराजित भए। अहिले यो निर्वाचन क्षेत्रबाट महेन्द्र र चन्द्रमोहन दुवैको नाम सिफारिसमा परेको छ। महेन्द्र सभापति शेरबहादुर देउवा निकट छन् भने चन्द्रमोहन डा. शेखर कोइराला निकट छन्।
महेन्द्र र चन्द्रमोहनका बीचमा दुई गुटको मात्र होइन, व्यक्तिगत झगडा समेत छ। कांग्रेसको १३ औं महाधिवेशनमा चन्द्रमोहनलाई केन्द्रीय सदस्यको उम्मेदवार बन्न नदिन सो क्षेत्रको क्षेत्रीय अधिवेशन नै महेन्द्रले गर्न दिएनन्। केन्द्रीय सदस्यको उमेदवार बन्नका लागि आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बन्नुपर्थ्यो।
चन्द्रमोहनल भने केन्द्रीय सदस्य भएका कारण स्वतः महाधिवेशन प्रतिनिधि हुन्थे। त्यही कारणले चन्द्रमोहनलाई रोक्न महेन्द्रले क्षेत्रीय अधिवेशन नै गर्न दिएनन्। फलतः चन्द्रमोहन १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाएनन्। चन्द्रमोहन १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका छन्।
महेन्द्र झस्कँदा चन्द्रमोहनलाई फाइदा
धनुषा जिल्लाका निवर्तमान उपसभापति एवं १४ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा जिल्ला सभपातिका प्रत्यासी सन्तोष यादव एमालेमा प्रवेश गरेपछि महेन्द्रले आफूलाई कमजोर भएको महसुस गरेको उनी निकट नेताहरुले बताएका छन्। सन्तोष महेन्द्रको समूहबाट जिल्ला सभापतिका प्रत्यासी थिए। तर सन्तोष उपसभापति विमलेन्द्र निधि निकट योगेन्द्र पञ्जियारसँग जिल्ला सभापतिमा पराजित भएका थिए।
सन्तोषको नाम मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिस नभएपछि रूष्ट बनेका सन्तोष एमाले प्रवेश गरेको हुन्। उनी एमालेबाट प्रदेशसभा सदस्यका उमेदवार बन्ने तयारीमा छन्। अर्कोतर्फ कांग्रेसको जिल्ला अधिवेशनमा चन्द्रमोहनले निधिका उम्मेदवार पञ्जियारलाई सहयोग गरेका थिए। पञ्जियारको पनि निर्वाचन क्षेत्र धनुषा–४ नै हो। सन्तोष एमालेमा प्रवेश गरेपछि र पञ्जियार चन्द्रमोहनको पक्षमा हुँदा महेन्द्रलाई भन्दा चन्द्रमोहनलाई फाइदा भएको धनुषाका नेता कार्यकर्ताले बताउन थालेका छन्।
के गर्लान् निधि?
धनुषा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला हो। त्यही कारणले यो जिल्लामा निधिको प्रभाव राम्रै देखिन्छ। निधिको निर्वाचन क्षेत्र भने क्षेत्र नम्बर ३ हो। यो पटक निधि प्रत्यक्ष उम्मेदवार नबन्ने भएका छन्। उनको नाम समानुपातिकतर्फ सिफारिस भएको छ। कुनैबेला नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र रहेका निधिले १४औँ महाधिवेशनमा देउवाविरुद्ध नै सभापतिमा उम्मेदवारी दिए। तर निधिको यो अभियानमा महेन्द्रले सहयोग गरेनन्।त्यही कारण महेन्द्रलाई यो पटक निधिको सहयोग हुनेमा शंका छ। देउवा पक्षले पनि निधिको विकल्पका रुपमा महेन्द्र यादवलाई अघि सारे। त्यही कारणले निधि र यादवको सम्बन्ध त्यति राम्रो छैन। निधि समानुपातिकतर्फ उम्मेदवार बन्दा महेन्द्र सशंकित बनेको कांग्रेसको एक नेताको बुझाइ छ।
उत्साहित महासेठ
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिस नभएपछि रूष्ट बनेका सन्तोष एमाले प्रवेश गरे। धनुषा कांग्रेस र खासगरी क्षेत्र नम्बर ४ मा राम्रो पकड भएका सन्तोषको राम्रो पकड भएका नेता हुन्। सन्तोषको एमाले प्रवेशले यो क्षेत्रमा कांग्रेसलाई जित निकाल्न हम्मे हम्मे हुने विश्लेषण गर्न थालिएको छ।
जिल्लाका पूर्व उपसभापतिसमेत रहेका सन्तोष सुरूमा कांग्रेसभित्र कोइराला निकट थिए। पहिलो जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको पहिलो निर्वाचनदेखि २०७० को संविधानसभा निर्वाचनसम्म उनी कोइराला समूहमा आवद्ध भएर राजनीतिक गतिविधि अगाडि बढाइरहेका थिए।
सन्तोषले रामवरणदेखि चन्द्रमोहनसम्म चुनावी मैदानमा हुँदा सहयोग गरेका थिए। २०७४ को निर्वाचनमा प्रदेससभातर्फ टिकट पाउने अपेक्षा गरे पनि पार्टीले चन्द्रमोहनलाई उम्मेदवार बनाएपछि टिम परिवर्तन गरेर उनी देउवा समूहमा आवद्ध भए। जिल्ला अधिवेशनका क्रममा पञ्जियारसँग बढेको दूरीको नतिजा स्थानीय तह निर्वाचनमा समेत देखियो। क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका पञ्जियार पुनः दोहोरिए। दोस्रोपटक पनि पञ्जियारले नै टिकट पाए। यद्यपि उनले चुनाव जितेनन्।
पञ्जियार चुनाव हार्नुमा सहमहामन्त्री महेन्द्रको इशारामा सन्तोषको असहयोग रहेको आम कार्यकर्ताको बुझाइ छ। सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भए पनि कांग्रेसका जिल्ला पूर्वउपसभापति सन्तोषलाई एमालेमा प्रवेश गराएपछि महासेठ उत्साहित बनेका छन्। अर्कोतर्फ एमालेका प्रभावशाली नेता मानिने महासेठलाई पूर्व एमाले रहेका रामचन्द्र झाको असहयोग हुने अवस्था छ। हुन त अहिले झा माओवादीमा छन्। महासेठसँगको लडाइँमा झा टिक्न नसकेर माओवादीमा पुगेका हुन्।
स्थानीय चुनावको अवस्था
स्थानीय तहको चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ सो क्षेत्रमा। दोश्रो एमाले र तेस्रो जसपा छ। स्थानीय तहको चुनावमा कांग्रेसको २५ हजार १९५, एमालेको २३ हजार ६३०, जसपाको ८ हजार ३७८, नेकपा एसको ८ हजार १६४, नेकपा माओवादीको ४ हजार ४३४, लोसपाको २ हजार १८४, जनमत पार्टीको १ हजार ९५० र राप्रपाको ५१४ मत छ।
गठबन्धनमा रहेका पाँच दलको मत जोड्दा ४६ हजार १७१ मत हुन्छ। यो मत एमालेको भन्दा २२ हजार ५४१ बढी हो। एमालेको मतमा लोसपा र राप्रपाको मत जोड्दा २६ हजार ३५५ मत हुन्छ। यी सबै दलको मत जोड्दा पनि पाँच दलीय गठबन्धनको मत १९ हजार ८१६ बढी हुन्छ।