काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शोधनान्तर घाटा ९ अर्ब ९२ करोड रुपैयाँले कमी आई २२ अर्ब ६३ करोडले घाटामा रहेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहन गर्नका लागि लिएको नीतिको प्रभावका कारण शोधनान्तर घाटामा विस्तारै कमी आएको हो। त्यस्तै आयातमा आएको गिरावटसँगै गत महिना (साउन)मा चालु खाता रु.१६ अर्ब २६ करोडले घाटामा रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ अर्ब ३ करोड रुपैयाँले कम हो।
अघिल्लो वर्ष सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो। त्यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्षको सोही खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४८ करोड ६ लाख रहेको थियो।