मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं-१० मा ०१५ सालपछि भत्काएको वामपन्थी किल्ला जोगाउलान् केसीले?

काठमाडौं-१० मा ०१५ सालपछि भत्काएको वामपन्थी किल्ला जोगाउलान् केसीले?

२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा देशभरमा सबैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र थियो काठमाडौं–१०। कारण– यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्ड चुनावी मैदानमा थिए।
 |  बिहीबार, भदौ ३०, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा देशभरमा सबैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र थियो काठमाडौं–१०। कारण– यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्ड चुनावी मैदानमा थिए। पहिलो सविधानसभा निर्वाचनमा प्रचण्ड यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, दोश्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई नेपाली कांग्रेसका राजन केसीले हराइदिए। प्रचण्ड केसीका निकटतम प्रतिस्पर्धी समेत हुन सकेनन्, तेस्रो बने।

triton college

केसीले २० हजार ३९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश मानन्धरले १३ हजार ६१५ मत ल्याए। प्रचण्ड तेस्रो भएर १२ हजार ८५२ मतमात्र ल्याएका थिए।

२०१५ सालको पहिलो आम निर्वाचनदेखि हालसम्म यहाँका स्थानीय प्रतिनिधिका रूपमा कांग्रेस निर्वाचित नभएको इतिहास थियो। केसी पहिलो स्थानीय हुन् जसले यो क्षेत्रको प्रतिनिधित्व गरेका थिए। क्षेत्र नम्बर १० लाई ‘लाल किल्ला’ भन्ने गरिन्थ्यो, त्यो केसीले माओवादी अध्यक्ष दाहाललाई हराएर २०७० सालमा तोडे। यसलाई २०७४ सालमा पनि राजन केसीले निरन्तर कायम राखे। २०७४ सालमा गठबन्धन भएको अवस्थामा पनि केसीले कांग्रेसको उम्मेदवार भएर जित निकाले।

काठमाडौं– १० मा यो क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका २ देखि ११ नम्बरसम्मका वडा, कीर्तिपुर र दक्षिणकाली नगरपालिका समेटिएको छ। यो क्षेत्रमा पर्ने चन्द्रागिरिका वडाहरुमा एमाले अलि बलियो भए पनि हालैको स्थानीय निर्वाचनमा ६ नम्बर र १० नम्बर वडामा मात्र वडाध्यक्ष एमालेले जितेको छ। माओवादीले २ नम्बर र ५ नम्बर वडा जितेको छ। बाँकी सवै वडाध्यक्ष कांग्रेसले जितेको छ। चन्द्रागिरीमा उपप्रमुख भने एमालेले जितेको छ। एमालेको सवैभन्दा बलियो जनमत रहेको कीर्तिपुर नगरपालिकामा पनि यो पटक कांग्रेसले शानदार जित निकालेको छ। कीर्तिपुरमा वडा नम्बर ४ बाहेक सवै वडामा वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ।

वडा नम्बर ४ मा भने कैंची चुनाव चिह्नबाट उम्मेदवार बनेका श्यामकुमार अधिकारीले जितेका छन्। उनले कांग्रेस उमेदवार राजेन्द्र बानियाँलाई हराएका थिए। दक्षिणकाली नगरपालिकामा पनि प्रमुख, उपप्रमुख सहित ९ वडामध्ये ६ वटामा जित निकालेको छ। एमालेले जम्मा तीनवटा वडामा वडाध्यक्ष जितेको छ। विगतका चुनावमा कीर्तिपुर नगरपालिकालाई काठमाडौं– १० को निर्णायक मानिन्थ्यो। भएको पनि त्यस्तै थियो। तर यसपटक कीर्तिपुर नगरपालिकामा कांग्रेसले शानदार जित निकालेको हुनाले अवस्था फरक हुने नेताहरुको अनुमान छ।

corrent noodles
Metro Mart

केसीसँग असन्तुष्टि

लगातार दुई पटक प्रतिनिधिसभा सदस्य र मन्त्री पनि भइसकेका राजन केसीप्रति पार्टीभित्र असन्तुष्टि पनि देखिन्छ। पछिल्लो पटक आम नागरिकसँग पुग्ने भन्दा पनि गठबन्धन भइहाल्छ चुनाव जितिन्छ भन्ने मानसिकतामा केसी पुगेको भन्दै कार्यकर्ताहरु असन्तुष्ट बनेका छन्। विकासमा काम र सानातिना काम पनि केसीले नगरेको भन्ने असन्तुष्टि पनि देखिन्छ। सांसद र मन्त्री समेत भएर पनि जनताका लागि खास देखिने काम नगरेको गुनासो कार्यकर्ताहरुमा देखिन्छ। कीर्तिपुरमा बाटो पिच गर्ने बजेट जनताका लागि नभई जग्गा ‘प्लटिङ’ भएको स्थानमा लगेको पनि केसीमाथि आरोप छ। त्यस्तै, केसीलाई स्थानीय तहको चुनावमा कीर्तिपुरको वडा नम्बर ४ मा स्वतन्त्र उमेदवारलाई सहयोग गरेको भन्ने आरोप पनि लागेको छ। सो वडामा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नेहरुलाई केसीले संरक्षण गरेका कारण कारवाही नभएको वडा नम्बर ४ का नेता–कार्यकर्ताको बुझाइ छ।

एमालेभित्र पनि अन्तरकलह

कुनै समय एमालेको स्थायी गढका रुपमा चिनिएको कीर्तिपुर नगरपालिकामा पार्टीभित्रको अन्तरकलहका कारण अहिले सवै गुमाएको अवस्था छ। कीर्तिपुर नगरपालिकामा एमाले विभाजन भन्दा अगाडि माधव नेपालको साथमा रहेका सुरेन्द्र मानन्धर र रमेश महर्जनबीचको आन्तरिक द्न्वद्वका कारण एमालेले गुमाएको एमालेका नेता कार्यकर्ताहरुले बताएका छन्। एमालेभित्रको अन्तरकलहका कारण नै सुरेन्द्र र रमेश दुवैले सहयोग नगरेको भन्ने नगर प्रमुख र उपप्रमुखका उमेदवारहरुले आरोप लगाएका छन्। जसका कारण ठूलो मतान्तरले मेयर र उपमेयर पराजित भएका थिए। बाम गठबन्धन हुँदा माओवादीको भागमा परेको यो क्षेत्रबाट हितमान शाक्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि मानन्धर बाहिर बसेका थिए। यो क्षेत्रको प्रदेश ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दीलिप महर्जनलाई पराजित गरेका थिए भने प्रदेश ‘ख’ मा एमालेका राम आलेमगरले कांग्रेसका धर्मनन्द श्रेष्ठलाई पराजित गरेका थिए।

कांग्रेसबाट केसी, अन्यबाट को–को?

नेकपा एमालेले काठमाडौं–१० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेको छ। सुरेन्द्र मानन्धर २०७० सालको निर्वाचनमा पनि केसीसँग पराजित भएका थिए। महर्जन कीर्तिपुर नगरपालिकाका निवर्तमान प्रमुख हुन्। माओवादीबाट हितमान शाक्य र अञ्जना विशंखेले इच्छा देखाएका छन्। शाक्य २०७४ सालमा केसीसँग पराजित भएका हुन् भने विशंखे संविधानसभा सदस्य हुन्। तर शाक्य यो पटक काठमाडौं–१० भन्दा ९ मा बढी इच्छा गरिरहेका छन्। नेकपा एकीकृत समाजवादीले बटुकृष्ण थापालाई अगाडि सारेको छ।

२०७४ सालमा बाम गठबन्धन भएका बेलामा पनि नेपाली कांग्रेसले यो निर्वाचन क्षेत्र जितेको थियो। त्यो बेलामा नेपाली कांग्रेसका राजन केसीले २४ हजार १९० मत पाएका थिए। बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत पाएका थिए। हालैको स्थानीय तहमा पनि वडाध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेसको नै बढी मत देखिन्छ। स्थानीय तहको चुनावमा कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६, र एकीकृत समाजवादी  १ हजार ३४२ मत छ।

प्रकाशित: Sep 15, 2022| 12:11 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...