सोमबार, वैशाख २४, २०८१

डोल्पाको चाखलाग्दो राजनीतिः सबै पार्टी पारिवारिक कब्जामा

डोल्पामा कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपा एमाले नेता धनबहादुर बूढाको परिवार एकातिर अनि कांग्रेस छोडेर भर्खरै राप्रपा प्रवेश गरेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति पेचिलो हुने गरेको छ।
 |  सोमबार, भदौ २७, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, भदौ २७, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको संघीय संसद् तथा प्रदेशसभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरुले करिब–करिब स्थानीयस्तरबाट आ–आफ्ना दलका उम्मेदवारहरुको नाम सिफारिस गर्ने काम सकेका छन्। स्थानीयस्तरबाट उम्मेदवारको नाम सिफारिस गरेसँगै उम्मेदवारहरुको जितहारको जोडघटाउन पनि सुरु भएको छ।

triton college

केन्द्रमा दलहरु गठबन्धन बनाउन लागिपरेका छन्। सत्तामा रहेका पाँच दलले गठबन्धन बनाउने निर्णय गरिसकेका छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राप्रपा र लोसपासँग गठबन्धन गर्ने तयारीमा जुटेको छ। दलहरुले गठबन्धन गरेर चुनावमा जाने रणनीति केन्द्रमा बनाए पनि हिमाली जिल्ला डोल्पामा भने अलि फरक राजनीति हुँदै आएको छ।

डोल्पामा कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपा एमाले नेता धनबहादुर बूढाको परिवार एकातिर अनि कांग्रेस छोडेर भर्खरै राप्रपा प्रवेश गरेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति पेचिलो हुने गरेको नेताहरुको भनाइ छ। २०४८ सालयता कांग्रेसले २०४८ यता डोल्पाबाट कुनै चुनाव जित्न सकेको छैन।

सबै पार्टी पारिवारिक कब्जामा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बूढा २०७६ सालमा कांग्रेसमा प्रवेश गरे। उनी कांग्रेस प्रवेश गर्दा राप्रपाका केन्द्रीय सदस्य थिए। कांग्रेसमा उनी केन्द्रीय सदस्यका हैसियतमा प्रवेश गरे। सुनिल थापासँगै कांग्रेसमा प्रवेश गरेका कर्णबहादुरले कांग्रेसको जिल्ला सभापति भएका अंगदलाई पाखा लगाइछोडे। कर्णबहादुरका भाइ धनबहादुर बूढा दोश्रो संविधानसभाताका एमालेमा प्रवेश गरे।

अहिले धनबहादुर नेकपा एसमा छन्। धनबहादुर पनि राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेका हुन्। कर्ण र धनबहादुरका भतिजा शेरबहादुर बूढा नेकपा एमालेका जिल्ला अध्यक्ष छन्। सबै पार्टी कर्णबहादुर र धनबहादुरको कब्जामा छ। यो परिवारले माओवादीमा भने पकड जमाउन सकेको छैन। कर्ण र धनबहादुरको पारिवारिक दबदबाका कारण यहाँको राजनीति नै अस्थिर बन्दै गएको राजनीतिकर्मीले बताउने गरेका छन्। 

corrent noodles
Metro Mart

सधैं अन्यायमा अंगद 
अंगद बूढा केहि दिन अघिमात्र राप्रपामा प्रवेश गरे। उनी नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति हुन्। उनी नेपाली कांग्रेसमा २०७० सालमा एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका हुन्। डोल्पामा लोकप्रिय युवामा पर्ने गर्छन् अंगद। यिनी कर्ण र धनबहादुर राप्रपा हुँदा त्यो परिवारको विरुद्धमा छन्।  कर्ण र धनबहादुरको पारिवारिक राजनीतिका विरुद्धमा लागेका अंगद सुरुमा एमालेको राजनीतिमा थिए। तर धनबहादुर २०७० सालमा एमाले प्रवेश गरेपछि अंगद एमाले छोडेर नेपाली कांग्रेसमा प्रवेश गरे। उनी कांग्रेसका प्रवेश गर्दा नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्ष भइसकेका थिए।

अंगद २०७४ सालमा बाम गठबन्धन भएका बेलामा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए। तर बाम गठबन्धन भएका कारणले अंगदले पराजय भोगे। २०७० सालमा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बेलामा राप्रपाबाट एमाले प्रवेश गरेर धनबहादुरले टिकट हात पारे। उनी कांग्रेसमा प्रवेश गरे। अहिले सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएर जित हात पार्ने बेलामा फेरि राप्रपाबाट धनबहादुरका दाइ कर्णबहादुर कांग्रेसमा प्रवेश गरे अनि अंगदले पार्टी छोडे। 

यी हुन् सिफारिसका परेका उम्मेदवार 
नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले  प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्ण बूढालाई एकल उम्मेदवार सिफारिस गरेको छ। त्यसैगरी प्रतिनिधिसभा समानुपातिकका लागि पूर्वपार्टी सभापति टंकप्रसाद उपाध्याय, पूर्वसमानुपातिक सांसद दूधकुमारी हमाल, अर्णबहादुर न्यौपानेलाई सिफारिस गरिएको छ। 

यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’ का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति दीपेन्द्रबहादुर शाहीलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ। समानुपातिकतर्फ योगेन्द्रबहादुर शाही, नवराज शाही, श्रीबहादुर शाही, दशरथ रोकाय, सुवर्ण शाही, वेगमसिंह ठकुरी, रामकुमारी शाही, जुना रोकायलाई सिफारिस गरेको छ।

प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ पार्टी जिल्ला उपसभापति पूर्णबहादुर शाही, श्रीलाल बस्नेत, भैरवबहादुर शाहीलाई सिफारिस गरेको छ। समानुपातितर्फ शुरबहादुर शाही, विष्णु रोकाय, लक्ष्मी शाही, मतिरूपा रावललाई सिफारिस गरिएको छ।

नेकपा एमालेले प्रतिनिधिसभाका लागि बदमीकुमारी बोहरालाई एकल उम्मेदवार सिफारिस गरेको छ। त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा पार्टी   जिल्ला अध्यक्ष शेरबहादुर बूढालाई एकल सिफारिस गरिएको छ। समानुपातिकतर्फ विष्णुबहादुर रोकाय, प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई सिफारिस गरिएको छ। यस्तै ‘ख’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ धनचन्द्र बैजी, आङबहादुर लामा, चन्द्राकुमारी बूढालाई सिफारिस गरिएको छ। समानुपातिकतर्फ तुलाचन्द्र बूढा र प्रेम विकलाई सिफारिस गरिएको छ।

माओवादी केन्द्र डोल्पाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ जिल्ला पार्टी अध्यक्ष मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ। समानुपातिकतर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य काली चलाउने, भीमा केसी बञ्जारा र नैनसिंह विकलाई सिफारिस गरेको छ। त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ धनप्रसाद कार्कीलाई सिफारिस गरेको छ। प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ ग्याल्बो थापा भोटे, उर्मिला विक, पूर्णिमा बोहोरा र पेमा डोल्मा गुरुङको नाम सिफारिस गरेको छ।

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्व  पर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बूढाको नाम एकल सिफारिस गरेको छ। समानुपातिकतर्फ भने मिलन शाही र काली बूढाको नाम सिफारिस गरिएको छ। यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि प्रत्यक्षतर्फ पूर्वमन्त्री नन्दसिंह बूढाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ  युवा नेता मानप्रसाद बूढा र मिलन शाहीको नामसिफारिस गरिएको छ। प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ युवराज थकालीको नाम एकल रूपमा सिफारिस गरिएको छ। समानुपातिकतर्फ छक्कबहादुर धराला र माया ठकुल्लाको नाम सिफारिस गरिएको छ।

को हुन् तीन बूढा?
कर्ण बूढा २०७६ सालमा कांग्रेसमा प्रवेश गरेका हुन्। त्यो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रहेका कर्ण बूढासहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई  नेपाली कांग्रेसले केन्द्रीय सदस्यका रुपमा कांग्रेसमा भित्र्याएको थियो। उनी कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस नेता हृदयराम थानीलाई १ भोट हराउँदै कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 

राप्रपाको सहमहामन्त्री भइसकेका धनबहादुर दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यार्सागुम्बाको कारोबार र ठेक्का पट्टामा संलग्न पर्यटन राज्यमन्त्री बूढा अहिले नेकपा एसमा छन्। धनबहादुरले नेकपा नेता वामदेव गौतम पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा ल्याउनका लागि सांसदबाट राजीनामा दिने चर्चा चलेको थियो। उनी अहिले निर्वाचित सांसद हुन्।  धनबहादुर अहिले पनि ‘क’ श्रेणीका निर्माण व्यवसायी हुन्।

नेपाली कांग्रेस डोल्पा जिल्लाका पूर्व–सभापति अंगद बूढा राप्रपामा प्रवेश गरेका छन्। कांग्रेसबाट सांसद चुनाव लडिसकेका अंगद कांग्रेसबाट कर्ण बूढाको नाम एकल रुपमा सिफरिस भएपछि राप्रपामा प्रवेश गरेका हुन्। धनबहादुर बूढा राप्रपाबाट एमालेमा प्रवेश गरी सांसदको टिकट लिएपछि एमालेबाट विद्रोह गरेर कांग्रेस प्रवेश गरेका अंगद कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा जिल्ला सभापति भएका थिए। 

यस्तो छ २०७४ र २०७९ को मत 
२०७४ मा प्रतिनिधिसभातर्फ एमालेका धनबहादुर बूढा ११ हजार ७६१ मतसहित विजयी भएका थिए। कांग्रेसका अंगद बूढाले ३ हजार १६७ मत पाएका थिए। धनबहादुर अहिले एमाले छाडेर समाजवादीमा छन्। अंगद पनि कांग्रेस छोडेर राप्रपामा प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा भने डोल्पामा सबैभन्दा ठूलो पार्टी नेकपा माओवादी केन्द्र भएको छ। स्थानीय तहको चुनाव माओवादीको ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९ र नकपा एसको १ हजार ३३४ मत छ। 

अहिले के हुन्छ? 
केन्द्रमा दलहरु गठबन्धन बनाउन लागिपरेका छन्। सत्तामा रहेका पाँच दलले गठबन्धन बनाउने निर्णय गरिसकेका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा र लोसपासँग गठबन्धन गर्ने तयारीमा जुटेको छ। सत्ता पक्षका पाँच दल र प्रतिपक्ष एमालेले राप्रपासँग गठबन्धन गरेको खण्डमा धनबहादुर र अंगदका बीचमा प्रतिष्पर्धा हुने नेताहरुले बताएका छन्। सत्ता गठबन्धनका बीचमा यसअघि जुन पार्टीले जितेको हो, उसैलाई छोड्ने सहमति अनुसार डोल्पा नेकपा एसलाई छोड्नुपर्ने हुन्छ।

त्यसैगरी एमाले र राप्रपाका बीचमा गठबन्धन भएको अवस्थामा डोल्पा एमालेले राप्रपालाई सहयोग गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन्। अंगद एमाले र राप्रपाको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नै राप्रपामा प्रवेश गरेको कांग्रेस नेता देवराज न्यौपानेको भनाइ छ।


प्रकाशित: Sep 12, 2022| 13:42 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...