काठमाडौं- काठमाडौंमा असोजदेखि कार्तिक ८ गतेसम्म हुने नेपाल टी-२० लिगको खेलाडी ड्राफ्ट सकिएको छ। काठमाडौंमा पहिलो दिन (भदौ २५ गते) ए श्रेणीका खेलाडीको ड्राफ्ट सम्पन्न भएको थियो। त्यसपछि आज (भदौ २६) गते बी र सी क्याटागोरीका खेलाडीको ड्राफ्ट सम्पन्न भएको हो।
नेपाली खेलाडीको ड्राफ्ट सम्पन्न भए पनि विदेशी खेलाडी भने अनुबन्ध भइसकेका छैनन्। नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिका फ्रेन्चाइजका लागि अस्ट्रेलियाका राष्ट्रिय टिमका पूर्व क्रिकेटर ब्रेट ली नेपाल आएका छन्। उनी यो प्रतियोगिताका ब्रान्ड एम्बेस्डर पनि हुन्।
नेपालमा क्रिकेट संघको फ्रेन्चाइज प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो। यो प्रतियोगिताको लागि चार टिम साउनमै घोषणा भए पनि बाँकी दुई टिम भने केही दिनअघि मात्र घोषणा भएका थिए। ति टिममा पोखरा एभेन्जर्स र सुदूरपश्चिम युनाइटेड रहेका छन्।
क्यानले गएको जेठ चार गते पत्रकार सम्मेलन गर्दै टी-२० लिगको घोषणा गरेको थियो। त्यसपछि पहिलो चरणमा टी-२० लिगको चार टिमको घोषणा भएको थियो। साउन ४ गतेको पत्रकार सम्मेलनमा क्यानले विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स र लुम्बिनी अल स्टार्स टिमको घोषणा गरेको थियो।
प्रतियोगिताका लागि मार्कीमा छनोट भएका र ए ग्रेडका खेलाडीले समान १५-१५ लाख पाउने छन्। त्यस्तै बी क्याटागोरी र सी क्याटागोरीका खलाडीले क्रमशः १० लाख र ५ लाख पाउने क्यानले जनाएको छ। यी हुन् खेलाडी
विराटनगर सुपर किङ
रोहित कुमार पौडेल, विवेक यादव, अर्जुन साउद, नन्दन यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल