शुक्रबार, वैशाख १४, २०८१

मूर्तिबाटै शक्ति पाउने मूर्तिकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- युवती गोरी छे । कुनै वस्त्र छैन शरीरमा । हेर्दा जो कोहीलाई छुँ छुँ लाग्छ । हिपलाई आकाशतिर फर्काएर आफ्नो यौवन झल्काउन वक्षस्थल छोपेझैं लाग्छ । सर्वांग ज्यानसहित गोडामा गोडा खप्टाएर 'आजु आर्ट ग्यालरी'मा लेटेकी छे, त्यो युवती ।

आगन्तुकहरू आजुमा पुगेपछि युुवतीलाई सुम्सुमाउन भुल्दैनन् । त्यस्ता आगन्तुकलाई मूर्तिकार विजय महर्जन भन्छन्, 'युवती मेरी साथी हुन्, छोइदिनेहरूप्रति म आभारी छु ।' आगन्तुकहरू थप लजाउँछन् । र, लज्जा मिश्रित स्वर निकाल्छन्, 'छुनेलाई यति फिलिङ्स आउँछ, बनाउँदा कति आयो होला ?'

मूर्तिमा बाँचेकी युवती खासमा उनकै 'क्लास फ्रेन्ड' हुन् । महर्जन भन्छन्, 'यही साथीका कारणले म एक्लो हुनबाट जोगिएको छु ।' शायद उनको ती युवतीसँग प्रेम थियो । मुस्कुराउँदै भन्छन्, 'तपाईंको शरीरसँग नजिक भएर फिलिङ्स आएको हो । मेरो त हृदयसँग नजिक थिइन् ।' यसपछि आगन्तुक एकअर्कालाई हेर्छन् । आजु आर्ट ग्यालरी हाँसोमा गुञ्जियो ।

ग्यालरीकै अर्को छेउमा शिवको १० फिट अग्लो मूर्ति बडो ऊर्जाका साथ उभिएको छ । शिवजीले आफ्ना गठिला पाखुरामा त्रिशुल लिएका छन् भने नांगो चौडा छातीलाई ग्यालरीमा प्रदर्शन गरिरहेका छन् । यस्तो लाग्दै थियो, ती सर्वांग उदांगी युवती देखेर पो हो कि शिव पूरै जोशिएका ।

शिवलाई ऊर्जा दिए, मूर्तिकार महर्जनले । उनी भन्छन्, 'भगवान्ले मान्छेलाई शक्ति दिन्छ ।' भगवान्हरू जहिल्यै शक्तिमा रहन्छन् । उनीहरूसँग मान्छेले माग्छन् । र, मान्छेले भगवान्का मूर्तिसँग माग्ने शक्ति नै हो । विजय भन्छन्, 'पुरूष शिवजस्तै हुन् । सुगठित पुरुषप्रति महिला सधैं आकर्षित हुने गर्छन् ।'

दुवै मूर्ति उनी आफैंले कुँदेका हुन् । र, दुवै माटाका मूर्ति हुन् । दुवै बनाउन उनलाई ९/९ महिना लागेको थियो ।

हरेक भगवान्सँग शक्ति छ । शक्ति प्रदर्शन गरेकै कारण भगवानको वर्चश्व आज पनि छ । लुला, लंगडा, दीन दुःखी, रोगी र गरिबले मात्रै होइन, निकै धनाढ्यले पनि भगवान्लाई सम्झने गर्छन् । भगवान्सँग हात जोड्छन् र मान्छेले भगवान् मूर्तिमा भेटेको हो । अनि, तस्बिरमा देखेको हो । तिनै मूर्ति र तस्बिर अघिल्तिर उभिएर हात जोड्छ अनि मान्छेले शक्ति पाउँछ । उनी भन्छन्, 'मूर्तिले इनर्जी बैंकको काम गर्छ । र, पाएपछि त्यहाँ सम्मान जाग्छ ।'

मूर्तिकारहरू एकाग्र हुन्छन् । एकाग्रमै आफूले चाहेको मूर्ति उभ्याउँछन् । उनलाई बोल्ने साथीभन्दा बोलुँ-बोलुँ लाग्ने साथी हुनु थियो । त्यही साथी भइदिएकी थिइन्, ती लेटिरहेकी युवती ।

माटाको पाला

सानैदेखि महर्जन माटोसँग खेल्थे । पाँच वर्षदेखि नै मन्दिरमा राखेको पालाले उनको ध्यान तान्थ्यो । अझ, गाइजात्राहरूमा बालिने पालाहरू देखेर उनी साहै्र लालायित हुन्थे । छाउनी वरिपरिका मन्दिरहरूमा पाला जलाएको सानैदेखि उनले देखेका थिए । विस्तारै माटाका पालाहरू संकलन गर्न थाले ।

सात वर्षको उमेरमा बालुवा र माटो मिलाएर भीमसेन थानमा शिवलिंगअघि जब पाला थुपारिन थाल्यो, क्रमशः उनीभित्र मूर्तिहरू जन्मिन थाले । उनी भन्छन्, 'पालाको दियोले मलाई मूर्ति देखाइदिएको थियो ।'

मूर्तिका कारण मन्दिर बनेको हो । मन्दिरभित्र सजिने मूर्तिमा अदृष्य शक्ति रहेको विश्वास गरिन्छ । त्यस्तै शक्ति उनले मूर्ति बनाउन पाएझैं ठान्छन् । उनी भन्छन्, 'भगवान् नै मेरा पहिला गुरु हुन् ।'
 

'टुँडिखेलका मूर्ति रिमेकिङ गरिरहँदा राजासँग काम गरिरहेझैं लाग्यो । मूर्तिसँग बोलिरहेझैं लाग्यो । मूर्ति इटालियन प्रोसेसले बनेको थियो, जो हाम्रो देशमा भर्खर शुरू हुँदैछ ।'


उनले आफूलाई थप निखार्न काकाको संगत गर्न थाले । राम काकाले उनलाई नौ कक्षा पढ्दापढ्दै मूर्तिकला सिक्नका लागि रविन्द्र ज्यापुुकहाँ पुर्‍याइदिए । उनले ज्यापुसँग ६ वर्ष मूर्तिको आकार निकाल्न सिके ।

संसार उनले मूर्तिहरूमा देखे । मूर्तिहरू बन्ने सामग्रीसँग उनी भुल्न थाले । उनको लगाव र काम देखेर ज्यापुले एकदिन भनेका थिए, 'तिम्रा हातमा एक प्रकारको पावर छ र तिम्रा हातबाट धेरै देउता जन्मिन्छन् ।'

त्यसपछि उनको चेतना बिहानको घामझैं उघ्रिएको थियो । र, मूर्तिको झिल्को आगाको झिल्कोझैं नाचेको उनले आँखैअघि देख्थे । उनले ज्यापुका कुरा नपत्याएर धेरै पटक आफ्ना हात हेरेका थिए । उनको हृदयले उनलाई निर्जीव मूर्तिहरूतिर तान्दै लग्यो । र, उनलाई त्यो आकर्षणको कारण ज्यापुले देखाइदिएका थिए, जसका कारण ऊर्जाका साथ मूर्ति बनाउँदै रमाउन थाले ।

मूर्ति धर्म प्रचारको पनि माध्यम हो । विश्वमा मूर्तिलाई धर्मका लागि जन्माइएको हो कि । शक्ति प्रदर्शनको माध्यम पनि हो, मूर्ति । उनी भन्छन्,  'मूर्ति अमूर्त हो तर मान्छेलाई भेला गराउन सक्ने पावरचाहीं मूर्तिमा हुन्छ ।'

टुँडिखेलको मूर्ति

टुँडिखेलका एक शताब्दीअघिका मूर्तिहरू 'रि-मेकिङ' हुँदैछन् । त्यसको जिम्मा पाएका छन्, महर्जनले । उनलाई सहयोग गरेका छन्, उनका अन्य सिकारु सहकर्मीहरूले ।

टुँडिखेलका चार कुनामा घोडाका मूर्ति छन् । त्यसमाथि राणा महाराजहरू हावामा उडेझंै लाग्छ । ढलोट (तामा र पित्तल) मिसाएर बनाइएका ती मूर्तिलाई गत वर्षको घोडेजात्रासम्म मर्मत गर्नु थियो । पुरातत्व विभागले १५ दिनमा काम सक्न चाहेको थियो । उनलाई पैसाले भन्दा पनि ती मूर्तिसँग नजिकिन मन लाग्यो र प्रस्ताव स्वीकारे ।

ती मूर्तिमा शक्ति कसरी भरे ? उनले मूर्तिको अनुहार हेर्न चाहेका थिए । त्यसको संरचनामा डुब्न चाहन्थे । तर, तीन महिना हुँदा मूर्ति 'रि-मेकिङ' सकिएन । अहिले पनि टुडिखेलका मूर्तिमा टाँसिएको धुलो उनी हटाइरहेका छन् । ती मूर्तिहरू सफा गर्दै जाँदा उनी एक शताब्दी अगाडिका मूर्तिकार सम्झन्छन् । 'टी-बोर्ट'ले बनाएका थिए, ती सात मूर्तिलाई ।

जंगबहादुर चढेको मूर्तिमा उनी 'इनर्जी' देख्छन् । इटालियन प्रकृयामार्फत् बनाइएको मूर्ति भन्छन्, उनी । इटालियन मूर्तिहरूमा उनी 'कास्टिङ' राम्रो देख्छन् । तर, मूर्तिमा प्रयोग हुने सामग्री स्वदेशी मन पराउँछन्, महर्जन । जमिनमा गाडेर बनाइएको मूर्तिमा भित्र खोक्रो छ, जसले 'ब्लास्ट' हुनबाट रोक्छ । 

ठूल-ठूला मूर्तिका लागि उनी नेपालमा समस्या देख्छन् । उनी भन्छन्, 'सफा गरिरहँदा मूर्तिले स्यावास् भनिरहेझैं लाग्छ ।'

टुँडिखेलका मूर्तिको स्पर्शबाट बेलायती कलाकारले सम्बन्धित व्यक्तिमाथि गहिरो अध्ययन गरेको थाहा पाए, उनले । कोठी कहाँ छ, कपाल कति कोणमा हावामा उडेको छ । यति पुरानो मूर्तिलाई कसरी यति आकर्षक र बलियो बनाइएको होला त ?

उनी भन्छन्, 'मलाई राजासँग काम गरिरहेझैं लाग्यो । मूर्तिसँग बोलिरहेझैं लाग्यो । मूर्ति इटालियन प्रोसेसले बनेको थियो, जो हाम्रो देशमा भर्खर शुरू हुँदैछ ।'

रि-मेकिङ जंगबहादुर

२०५५ सालतिरको कुरा हो । उनका गुरुले न्युरोड घुमाउन लगेका रहेछन् । गुरुले टुँडिखेलतिर हेरेर जंगबहादुरको मूर्ति देखाउँदै भनेका रहेछन्, 'त्यस्तो मूर्ति बनाउन सक्छस् ?'

अनि, उनले सजिलै भनेका रहेछन्, 'सक्छु सर तर कागजको ।' किशोर उमेरमा पनि उनलाई मूर्ति उभ्याउन आँट आउँथ्यो । त्यही देखाएको मूर्तिलाई १६ वर्षपछि पुरातत्व विभागले उनलाई नै 'रिमेकिङ'का लागि 'अफर' गर्‍यो ।

खासै पारिश्रमिक थिएन । अपुग बजेटका बावजुद पनि त्यो मूर्ति छुने रहरले उनले स्वीकारे । सबै मूर्ति 'थ्री डाइमेन्सनल' भए पनि यो 'टु डाइमेन्सनल क्यारेक्टर' कसरी चल्यो होला ? फेस कसरी चल्यो होला ? थिम कति रहेछ ? यस्तै जिज्ञासाले उनलाई घचघच्याइरह्यो ।

सबै मूर्ति 'थ्री डाइमेन्सनल' भए पनि 'टु-डी लुक्स' हुन्थ्यो । अगाडि मात्रै हेर्नुपर्ने । जंगबहादुरको मूर्तिमा भने 'थ्री डाइमेन्सनल लुक्स' देख्छन् उनी । जहाँबाट तस्बिर खिचे पनि सुन्दर देखिन्छ । हरेक कोणबाट त्यो मूर्ति आकर्षित देखिन्छ ।

'टु-डी लुक्स'भन्दा माथि उक्लिएर काम गर्न नसकिएको थाहा पाउँछन् उनी । हावामा जुँगासमेत उडेको देखिन्छ । साक्षात व्यक्ति र घोडा नै आएको देखिन्छ । बरु, मूर्तिको पात्र वास्तविक जीवन त्यस्तो नहुन सक्छ । मूर्ति भने अहिले पनि कुदिरहेझैं ठान्छन्, महर्जन ।

आजसम्म बनाएका मूर्तिमा रंग मात्रै उडाइन्थ्यो । पहिले साह्रै गाह्रो थियो । किनभने, आगो लगाउँदा रसायन डढ्न सक्थ्यो । 'एसिड' राख्न पनि सकिन्थ्यो । 'एसिड'ले पनि गाह्रो भयो । उनले युवतीले लाउने नङ पोलिसमा 'सिम्प्लिफाई' पाए । 'रिमुभर' भन्ने रंग हो त्यो, जसले मूर्तिको पुरानो रंग उडाउन सक्थ्यो । 'आयल बेस'को रंगले कुनै 'साइट इफेक्ट' पार्दैनथ्यो ।

क्लासिकल मूर्ति

युवती हिँडेको पछाडिबाट सुन्दर देखिन्छ । घोडा हिँडेको पनि पछाडिबाटै सुन्दर लाग्छ । त्यस्तै सुन्दर देखिन्छन्, टुँडिखेलका मूर्तिहरू । थप सुन्दर बनाउँदैछन्, महर्जनले । मूर्ति कुँद्ने मूर्तिकारले कति मेहनत गरेका थिए होला भन्ने लाग्छ उनको मनमा ।

त्यो मूर्तिको शिर खासमा बाटोतिर फर्किनुपर्ने लाग्छ, उनलाई । तर, मूर्तिको हिप बाटोतिर फर्किएको छ । मूर्ति पहिला बाटोतिर फर्किएको थियो भन्ने अनुमान छ उनको ।

सय वर्षअघि एक करोड खर्च गरेर बनेका थिए, यी मूर्ति । मुगलशैलीमा उनी 'फ्याट्नेस' देख्छन् । सडकबाट हेर्दा टाउको देखिनुपर्ने हो । तर, दर्शकले नितम्ब देख्छन् । यसमा पनि उनी चिन्ता देख्छन् । मूर्ति सार्वजनिक स्थलतिर देखिनुपर्ने हो । जस्तो- सिंहदरबारतिर फर्किएको भद्रकालीको मूर्तिले मात्र सार्थकता पाएको छ । उनी ऐतिहासिक म्युजियम बनाउनुपर्ने देख्छन्, यी मूर्तिहरूको । यो तहको कलामा 'क्लासिकल आर्ट' देख्छन् । उनी भन्छन्, 'यस किसिमका मूर्ति नेपालमा त्यसभन्दा पहिले बनेका छैनन् र अहिले पनि बन्न सकेका छैनन् ।'

राणा र राजाहरू कलालाई प्रेम गर्थे । राजा र राणाहरू मूर्तिमा कति रुचि राख्थे भन्ने कुराको यी मूर्तिहरू साक्षी छन् । 'लक्जरी फर्म'मा 'नम्बर वान'मा पर्थे, नेपालका राजा र राणाहरू । साथै, उनीहरूले कलालाई आत्मसात गरेका थिए ।

टेबलमाथि बाघ बसेको छ । हेरिरहेको बाघमा उनी माटो पोतिरहेका हुन्छन् । उनी माटोबाट आकार निकालिरहेका हुन्छन् । त्यो बाघ बडो टाठो छ । शायद बाघले हेरिरहेको छ, मृगलाई ।


बेलायतीहरूले नेपाली मूर्ति बनाउनु भनेको ठूलो चुनौती हो । र, नेपालमा बेलायती कलाकार भित्र्याएर यस्ता कालजयी कलाकृति बनाउनु आफैंमा ऐतिहासिक हो । उनी भन्छन्, 'कलाप्रति अहिलेका नेतालाई ध्यान छैन, जो राजा र राणाहरूलाई धेरै रहर थियो ।'

मूर्तिहरूको म्युजियम बनाउन केही संघसंस्थाले पहल गरेको ठान्छन् उनी । उनले बनाएको 'मास्टर पिस' शिवको मूर्ति नेपाली मुलकी राणाकालीन महारानीले किनेर लगेकी छन् । त्यो मूर्ति उनले ५५ लाखमा बिक्री गरेका थिए । जुन मूर्ति बनाउँदा आर्थिक संकटबाट समेत उनले गुज्रनु पर्‍यो । उनी ऋणमा थिए । एकै मूर्तिले उनको ऋण चुक्ता गरिदियो र आर्थिक अवस्था उकासिदियो । त्यो शिवको मूर्ति बनाउँदा मनमनै भनेका थिए, 'भगवान् म तिमीलाई बनाउँदैछु, तिमीले मलाई बनाइदिनुपर्छ ।' साँच्चै उनको अन्तरआत्माको पुकार भगवान्ले सुनेझैं भयो, उनको कामना पूरा गरिदियो, त्यही नौ फिट अग्लो मूर्तिले ।

शिवजीको मूर्ति महँगोमा बिक्री गरे उनले । पाँच फिट चौडा थियो त्यो । भारतमा बस्ने नेपाली मुलकी महारानीले किनेर लगिन् । उनी भन्छन्, 'आशाराज्य राणा रानी शायद चन्द्रसमशेरकी नातिनी हुन् ।'

जोगी काम

आफूलाई मूर्ति बनाउन पनि कसैले अह्राएझैं लाग्छ । आफैं दंग पर्छन्, विजय । भन्छन्, 'मूर्ति बनाउन भगवानले मलाई माध्यम मात्रै बनाएको हो ।'

प्लास्टिकमा बेरेर राखेका छन्, एक मूर्ति । त्यो मूर्ति मुस्ताङतिरबाट 'अर्डर' आएको थियो । पासपोर्ट साइजको एउटा फोटो हेरेर उनी त्यो मूूर्ति बनाइरहेका थिए । नौनी माटोका रूपमा चिनिने माटोद्वारा तीन क्विन्टल भारी मूर्ति बनाइरहेका थिए ।

मूर्तिको पूर्ण आकार दिमागमा छिरेपछि उनी काम गर्छन् । उनी आफैं दंग पर्ने खालका गतिविधि भेटिरहन्छन् । उनी भन्छन्, 'मलाई कुनै इनर्जीले काम लगाइरहेको छ, त्यो इनर्जी यी मूर्तिहरूबाट पाउँछु ।'

टेबलमाथि बाघ बसेको छ । हेरिरहेको बाघमा उनी माटो पोतिरहेका हुन्छन् । उनी माटोबाट आकार निकालिरहेका हुन्छन् । त्यो बाघ बडो टाठो छ । शायद बाघले हेरिरहेको छ, मृगलाई ।

पहिला 'न्युज पेपर'को संरचना बनाउँछन् । अनि, माटोले आकार दिन थाल्छन् । उनी एकाग्र भएर काम गरिरहेका बेला अलमल्याउन आउनेहरूलाई भेट्दैनन् । मूर्तिले जबसम्म पूर्ण आकार लिँदैन, उनी निःश्वास छोड्दैनन् । उनी भन्छन्, 'यो जोगी काम हो । अन्त ध्यानै दिन पाउँदिनँ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।