धनगढी- घरको जेठो छोराका रूपमा उनको जन्म हुँदा परिवारमा जति खुशी छाउनुपर्ने हो, त्यति छाउन सकेन। तीन दशकअघिको त्यो समाज, जहाँ छोरा जन्मिए बाजागाजा बजाएर खुशीयाली मनाउने चलन थियो। त्यहीबेला बैतडीको सुरनया गाउँपालिका–३ मा जन्म भयो, नन्दराज भट्टको। घरको जेठो सन्तानका रूपमा जन्म हुँदा पनि घरपरिवार सबै खुशी हुनुको साटो उल्टै दुःखी बने। कारण, उनी शारीरिक रूपमा अपांग भएर जन्मिए।
दुवै हात कुहिनोसम्म मात्र र दुवै खुट्टा निकै सानो भएकाले पछि नराम्रो हुने बताउँदै छरछिमेकीले उनलाई फाल्नुपर्ने सल्लाह दिए। यस्तो बालकलाई पालेर पछि झन् समस्या हुन्छ, पालेर काम छैन भनेर परिवारभित्र र बाहिरबाट जतिले भने पनि उनको बाँच्ने भाग्यमा लेखेकाले कसैको सल्लाह काम लागेन। परिवारले उनलाई राम्रैसँग लालनपालन त ग¥यो तर शुरुको सन्तान अपांग जन्मिएकाले त्यसपछिका सन्तान पनि त्यस्तै जन्मिने डर परिवारलाई भयो। गाउँमा भ्याएसम्म के कारणले उनी अपांग जन्मिए भनेर परीक्षण पनि गराए तर समस्या केही देखिएन। अनौठो जन्मिए भन्ने सुनेर घरमा हेर्न आउनेको घुइँचो नै लाग्थ्यो।
उनीपछि तीन भाइको जन्म भयो। तर, सबै उनीभन्दा फरक अर्थात् सबलांग जन्मिए। ‘म पछिका भाइबहिनीहरू पनि म जस्तै जन्मिन्छन् कि भन्ने घरमा चिन्ता थियो रे,’ भट्ट भन्छन्, ‘सबै भाइ राम्रै जन्मिए, म मात्र यस्तो कसरी भएँ सबै अचम्ममा छन्।’
शारीरिक अशक्त भए पनि बौद्धिक रूपमा उनी निकै तेजिला छन्। लेख्नलाई हात छैनन् तर पनि उनले राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरिसकेका छन्। कक्षामा कहिल्यै दोस्रो भएको उनलाई अनुभव छैन। जहिले पनि प्रथम मात्र भए। तीन कक्षासम्म घरमै पढेर परीक्षा दिन मात्र स्कुल गएका उनी त्यसपछि भने करिब डेढ घण्टाको दूरीमा हातखुट्टाले हिँडेर विद्यालय गए। आफ्नो शारीरिक र परिवारको आर्थिक अवस्था कमजोर भएकाले गाउँको वासुदेवी माविबाट १० कक्षासम्मको अध्ययन सके।
त्यसपछि पढाइ छोड्ने मनस्थितिमा उनी पुगे। एक दिन विद्यालयमा रेडक्रसको कार्यक्रम थियो, जहाँ महिन्द्रा चन्द पनि थिइन्। उनको बारेमा थाहा पाएपछि महिन्द्राले सकेजति आफूले पढाउने भन्दै सदरमुकाम लगिन्। त्यहाँ उनले प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरे।
शारीरिक अशक्त भए पनि नन्दराज भट्ट बौद्धिक रूपमा निकै तेजिला छन्। लेख्नलाई हात छैनन् तर पनि उनले राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरिसकेका छन्।
इच्छा हुँदाहुँदै पनि जिल्ला बाहिर गएर पढ्न सक्ने आर्थिक अवस्था नभएकाले उनी प्रमाणपत्र तहपछि पढाइ बिट मार्ने निधोमा पुगे। तिनै महिन्द्राले उनलाई धनगढी ल्याएर स्नातकसम्मको अध्ययन गराइन्। अंग्रेजीमा साह्रै राम्रो भएका उनले स्नातक पढ्दै गर्दा ट्युसन पनि पढाउन थाले। त्यसपछि उनी आफैंले पैसा कमाएर उच्च शिक्षा हासिल गरे।
हात छैन कसरी लेख्छन् होला भन्ने कौतुहल धेरैलाई हुने नै भयो। तर, लेख्नका लागि हात मात्रै चाहिँदैन भन्ने उनले प्रमाणित गरिदिए। स्मरण शक्ति छ भने अन्य अंग नहुँदा पनि फरक नपर्ने उनले सन्देश दिए।
साथै, त्यस अंगको कामको विकल्प पनि हुन सक्ने उनको बुझाइ छ। शुरुमा मुखमा कलम हालेर लेख्न सिके। तर, त्यसका कारण घाँटी दुख्ने भएपछि खुट्टाले लेख्न सिके। पाँच कक्षा पढ्दासम्म उनले मुख र खुट्टाले नै लेखे। खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि उनले कुहिनाले लेख्ने प्रयास गरे। ‘अहिले म कुहिनाले नै लेख्छु तर मुख, खुट्टा र कुहिनाले बराबर नै लेख्न सक्छु,’ उनले सुनाए।

कुहिनाले उनी लेख्ने काम मात्र गर्दैनन्, दाह्री पनि आफैं काट्छन् भने मोबाइल र कम्प्युटर पनि राम्रैसँग चलाउँछन्। जहाँ इच्छा त्यहाँ उपाय। भट्टले पनि हातको अभावमा त्यसले गर्ने काम अन्य कुन अंगले गर्न सकिन्छ भनेर निकै खोजे। त्यही प्रयासको प्रतिफल हो, उनी ओठ र नाकले मोबाइल चलाउँछन्। शारीरिक रूपमा अशक्त मान्छेलाई कामको सीमितता हुने भएकाले दिमागको चलाई बढी हुने उनको अनुभव छ।
साहस र विकल्पको खोजी नै सबैभन्दा महत्वपूर्ण ठान्छन्, उनी। संघर्ष गरे असम्भव केही देख्दैनन्। हात खुट्टा नभए पनि उनलाई चारपांग्रे गाडी चलाउन सक्छु भन्ने आँट छ। ‘त्यसका लागि ‘क्लज’ र ‘ब्रेक’ नजिक हुनुपर्छ,’ उनी भन्छन्।
एउटा औंला नभएकाहरू पनि अशक्त भनेर मागेर खाइरहेको देखिन्छ। उनी भने हात, खुट्टा नहुँदा पनि काम गरेरै बाँचेका छन्। ‘अरूका लागि भन्दा पनि व्यक्तिगत जीवनका लागि मात्र पनि सक्दो काम गर्नुपर्छ,’ उनी भन्छन्।

गाउँ समाजमा मात्र नभएर धनगढी आएपछि पनि उनलाई देख्नेहरूले प्रायः घृणाको दृष्टिले हेर्ने गर्थे। जीवनमा अपहेलित र घृणित हुनु परेका थुप्रै अनुभव उनीसँग छन्। त्यसमध्ये पनि धनगढीमा भएको एक घटना उनी कहिल्यै भुल्न सक्दैनन्। सुदूरपश्चिमका नौ वटै जिल्लाको शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमति पत्रको परीक्षा धनगढीमा हुन्थ्यो।
२०६६ सालमा उनले पनि परीक्षाका लागि फारम भरेका थिए। प्रवेश पत्र लिन जिल्ला शिक्षा कार्यालय कैलाली पुगे। जिल्ला शिक्षा अधिकारी थिए, धुव्र केसी। उनी कार्यालयभित्र छिर्नेबित्तिकै केसीले ‘को माग्ने मान्छे आयो’ भन्ने सोचेर पाँच रुपैयाँको नोट थमाउँदै बाहिर पठाउन खोजे। ‘म पनि परीक्षार्थी हुँ,’ उनले भने। त्यसपछि केसीले माफी मागे। अपांग मान्छेले कुनै काम गर्न सक्दैन र ऊसँग कुनै क्षमता हुँदैन भन्ने धेरैको सोचाइ हुने गरेको उनले बुझेका छन्।
जब उनी विभिन्न सामाजिक काममा लागेर सबलांगभन्दा बढी समाज सेवामा लागे, तब उनलाई हेर्नेको दृष्टिकोण बदलियो। विद्यालयमा अपांगता भएकाहरूका लागि निःशुल्क पठनपाठन गराउन तथा अपांगता भएका व्यक्तिलाई सामाजिक समायोजनका क्षेत्रमा सक्रिय भट्टले थुप्रै सम्मान पनि प्राप्त गरिसकेका छन्। अपांगता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनलाई सम्मान गर्यो। उनी सामाजिक क्षेत्रमा सक्रिय छन्, अहिले।
उनलाई आफूभन्दा पनि पूर्ण रूपमा अशक्त, असहायहरू, जो घरभित्रै सीमित छन्, उनीहरूका लागि जीवन समर्पण गर्ने धोको छ। उनीहरूको जीवन कसरी सुखद् बनाउन सकिन्छ भन्नेबारेमा उनी दिनरात सोचिरहेका छन्। साहित्य लेखनमा पनि उनको रुचि छ। गजल र कविता लेखनमा सक्रिय छन्।
चारै हातखुट्टाको अपांगता भएर पनि सबलांग व्यक्तिले जस्तै काम गर्न सक्ने भट्टको संघर्ष सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ। अपांग भएकैमा कुण्ठा पालेर र दबिएर बस्नुभन्दा आफूसँग नभएका अंगले गर्ने काम अर्को अंगबाट गर्नका लागि विकल्प खोजेर जीवन सुखद् बनाउन सकिने उनीबाट धेरैले शिक्षा लिन सक्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४