बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मंगललार्इ सम्झँदा अझै विदेश जान डराउँछन् परिवारका सदस्य

मंगललार्इ सम्झँदा अझै विदेश जान डराउँछन् परिवारका सदस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनकुटा- १४ वर्ष मात्रै भएकी थिइन् धनकुटा हात्तीखर्क खमारेकी मुना लिम्बु जतिबेला उनकी बोजु (हजुरआमा) को निधन भयो। साउन ०६१ मा बोजु गुमाएको शोकको एक महिना नपुग्दै लिम्बुका कान्छा काकाको पनि मृत्यु भयो। त्यस्तो मृत्यु, जो उनका धेरै वर्ष अगाडि बितेका बाजे र भर्खरै बितेकी बोजु कसैले भोगेनन्। 

थाहै नपाएको ‘अपराध’मा मुनाका कान्छा काका मंगल लिम्बु एक अन्जान देशमा गोली हानेर मारिए। १२ नेपालीलार्इ अपरहण र हत्या गरिएको घटनाका एक सदस्य मुनाका काका थिए। ७ भदौ ०६१ (२३ अगस्ट २००४) मा अपहरणमा परेका मंगल मारिएको खबर १५ भदौपछि मात्रै सार्वजनिक भयो।

बिनाअपराध, बिनादोष उनको नृशंस हत्या भयो। सरकारले १० लाख ‘क्षतिपूर्ति’ भनेर दियो। तर, उनीहरूको मनमा लागेको चोट सरकारी राहतले भरिने कुरै थिएन। मुना भन्छिन्, ‘१५ भदौपछिका दिनले हाम्रो परिवारमा दुःख मात्रै सम्झाउँछ।’
 

‘विदेश जान  मैले त मेरो श्रीमानलार्इ जबरजस्ति गरेर रोकौंला तर मेराजस्तै सबैका श्रीमानलार्इ रोक्न भने राज्यले योग्यताअनुसारको जागिर दिनैपर्छ।’ 


मंगलको मृत्यपछि कोही गएनन् विदेश

 ३० नकटेका अविवाहित मंगल घरका ६ भाइ छोरामध्ये कान्छा थिए। र, विदेश जाने पहिलो छोरा पनि थिए। 

उनी दुर्इ वर्ष भारतमा नोकरी गरेर कमाउन खाडीतिर हान्निएका थिए। खाडी पुगेको केही समयमै उनको आतंकवादी समूहले क्रुर हत्या गर्‍यो। मंगल मारिएपछि मंगलका बाँकी पाँच दाजुभाइ नै विदेश जान मन गरेनन्। 

भारतमा काम गर्दै गरेका मंगलका काइला दाजु क्षितिज पनि नेपालमै आए। हाल उनी चितवनमा आफ्नै व्यवसाय गरेर बसेका छन। 

मुनाका बाबु जो मंगलका जेठा दाजु हुन्, उनी पनि विदेश गएनन्। स्वदेशमै सकेको इलम गरेर बसेका छन्। अरू तीन काकाहरू पनि सबैले स्वदेशमै गरिखाएको मुना बताउँछिन्। भन्छिन्, ‘काकाको मृत्युले मनमा विदेशप्रति सधैं दुःख मात्रै याद गरायो।त्यही भएर कोही काका पनि विदेश जानु भएन ।’ 

श्रीमानको विदेश जाने रहर 

१४ वर्षको हुँदा विदेशमा अतिवादी समूहबाट काका गुमाएकी मुना लिम्बुले घरजम गरिसकेकी छन्। उनी स्थानीय जनसेवा प्राविकी सात वर्षदेखि स्कुलमा पढाइरहेकी छन्। विदेशले घरमा दिएको दुःखले विदेशप्रतिको धारणा राम्रो छैन मुनाको। 

मुनालाई नेपालमै बसेर आफ्नै स्वदेशी माटोमा सकेको पौरख गरेको मनपर्छ। यत्ति हुँदाहुँदै आफ्ना श्रीमान श्याम लिम्बु भने विदेश जाने रहर गर्दैछन्। आफूले देशमा जत्ति गर्न खोजे पनि पढेअनुसार जागिर नपाएको भन्दै मुनाका श्रीमान विदेश जाने मुडमा छन्। 

मुना भने नजिकै रहेको माइती घरका काकाको पुरानो तस्बिर हेर्छिन्। काकाको तस्बिरले विदेशले परिवारको सदस्य गुमाइदिएको कुरा सम्झने उनी बताउँछिन्। ‘विदेशको कुरा आउँदा म काका र काकाको हत्याको कुरा  बढी सम्झन्छु, मन दुख्छ,’ मुना भन्छिन्, ‘मलार्इ विदेशको बारेमा जस्तो सोचाइ हुन्छ, मेरा श्रीमानको हुँदैन।’ 

आफूले श्रीमानलार्इ विदेश जान खोज्दा नजान भन्ने तर घरपरिवार पाल्ने राम्रो विकल्प दिन नसक्ने अवस्थामा पुगेको मुना बताउँछिन्। आफू मात्रै होइन, नेपालका हजारौं परिवारमा विदेश जाँदाको दुःख भएको मुनालाई थाहा छ। ‘विदेश जान मैले त मेरो श्रीमानलार्इ जबरजस्ति गरेर रोकौंला तर मजस्तै सबैका श्रीमानलार्इ रोक्न भने राज्यले योग्यताअनुसारको जागिर दिनैपर्छ।’ 

यो पनि पढ्नुस्,

इराक घटना: ‘कसरी बिर्सनु बज्रपात परेको त्यो कालो दिन’


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।