काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टी हित विपरीत हुने बताएका छन्। शुक्रबार चितवन पुगेर कांग्रेस चितवन जिल्ला समितिले आयोजना गरेको १०९औं बीपी जयन्तीको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
देउवाले गठबन्धन पार्टी हितमा रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ। गठबन्धन कुनै हालतमा टुट्दैन। गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र मात्र हो।’
कांग्रेसलाई फाइदा हुने गरेर सिट बाँटफाँट गरिने दाबी उनको छ। प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाएर आउँदो चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे। केपी ओली सरकारबाट आत्तिएर कांग्रेस कार्यकर्ताले नै हटाउनुपर्यो भनेपछि गठबन्धन बनेको उनको दाबी छ।
‘एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे। खोइ आएको?,’ देउवाले भने, ‘सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको छ। कांग्रेस एकढिक्का हुनुपर्छ।’ अरू कुरा जान्दिनँ। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गरेर निर्वानचनमा जाँदा कांग्रेसका केही साथीलाई मर्का पर्ने भए पनि स्वीकार्नुपर्ने बताए।