काठमाडौं– पाँच दलीय गठबन्धनमा समाहित हुन कोसिस गरे पनि सफल नभएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसप)ले एमालेसँग हिमचिम बढाएको छ। आगामी ४ मंसिरको चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष ठाकुरसँग छलफल थालेका छन्। दुई नेताबीच भएको कुराकानी बाहिर सार्वजनिक भइनसके पनि आउँदो चुनावमा एमाले र लोसपा तालमेल गरेर अगाडि बढ्ने विषयले प्राथमिकता पाएको बताइन्छ।
एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले तीन दिनदेखि महन्थसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छन्। आउँदो चुनावमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुवै नेता सहमति नजिक पुगेको उनले बताए।
एमालेले लोसपालाई केही सातायता आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्न प्रस्ताव पठाएको थियो। दुई नेताबीचको छलफलमा महन्थले पार्टीमा थप छलफल गरेर आउने वचन अध्यक्ष ओलीलाई दिइसकेका छन्।
जसपाबाट चोइटिएर बनेको लोसपाले मधेसमा आफ्नो मुख्य प्रतिद्वन्द्वी अध्यक्ष उपेन्द्र यादवको पार्टी रहेको बताउँदै आएको छ। जसपा हाल सत्ता गठबन्धनमा रहेको छ। पार्टी अध्यक्ष यादवले आउँदो चुनावमा सम्मानजक सिट बाँडफाँट हुनुपर्ने माग गर्दै आएका छन्। यद्यपि उपेन्द्रले केही समयअघि लोसपालाई पनि मधेसमा चुनावी तालमेल गरेर अगाडि बढ्न सुझाएका थिए। तर लोसपाले उपेन्द्रको त्यो आग्रहलाई अस्वीकार गरेको छ।
‘आउँदो चुनावमा एमालेसँग सहकार्य गर्नुको विकल्प छैन,’ लोसपाका एक नेताले भने, ‘त्यसो नभए हामी संघ र प्रदेश दुवैमा पराजित हुन्छौं।’ मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिने गरी एमालेसँग सहमति बन्न सक्ने उनको अनुमान छ। एमालेसँगको अनौपचारिक छलफल सकारात्मक हुँदै गएको दुवै दलका नेताहरुले दाबी गरेका छन्।
एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र महन्थबीच चुनावी तालमेलबारे घनिभूत छलफल भइरहे पनि अझै निष्कर्षमा पुगिनसकेको बताए। उनले भने, ‘आगामी चुनावमा कसरी अगाडि बढ्ने भनेर दुवै पार्टीका नेताहरुबीच छलफल भइरहेका छन्। छलफलले एउटा निष्कर्ष निकाल्ला।’