काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नैपर्ने बताएका छन्। कास्कीको पोखरा पुगेका अध्यक्ष प्रचण्डले शुक्रबार पत्रकारसँगको भेटमा यस्तो बताएका हुन्।
राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगरे दुई विकल्पमा सरकार अगाडि बढ्ने उनले जानकारी दिए। उनले भने, ‘पहिलो, यो विषय अदालतमा जान्छ। दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ।’
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले सुनाए। उनले भने, ‘दोस्रो पटक संविधानले कुनै ठाउँ दिएको छैन। त्यस कारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने लाग्छ,’ उनले भने।
केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा यसलाई राजनीतिक विषय बनाउने सम्भावना देखेकाले प्रमाणीकरण गर्ने सम्भावना पनि नरहेको उनको धारणा छ। त्यसो भयो यो विषय अदालतमा जाने उनले चेतावनी दिए। राष्ट्रपतिले गत १५ भदौमा शीतलनिवासमा प्रचण्डसँग नागरिकता विषयमा कुराकानी गरेकी थिइन्।
संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनः संसद्मा फिर्ता गरेकी थिइन्। उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पुनः पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन्।