काठमाडौं- नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको मुद्दामा बहस सकिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा पलको पक्षबाट ६ जना वकिललले वकालत गरेका थिए। सुनुवाइ सकिएकाले केही समयमा फैसला आउने जानकारी अदालतका वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए।
सरकारी वकिलको तर्फबाट तीन जनाले बहस गरेत पनि अन्तिम बहसमा भने जाहेरवालातर्फबाट कसैले बहस गरेन। जसकारण पलको पक्षमा फैसला हुनसक्ने सम्भावना बढी रहेको अदालत स्रोतले जनाएको छ।
नाबालिग एक गायिकाले आफूमाथि शाहले बिहे गर्ने आश्वासन दिई पटकपटक बलात्कार गरेको आरोप लगाएर तनहुँ र नवलपुर अदालतमा उजुरी दिएकी थिइन्। मुद्दा दायर भएपछि दुवैतर्फका जिल्ला अदालतले पुर्पक्षका लागि शाहलाई कारागार पठाउने आदेश दिएका थिए।
त्यसपछि शाहका कानून व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरी साधारण तारेख वा धरौटीमा छाड्न माग गरी उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो। घटना र घटनास्थल फरक भएकाले दुवैतर्फ पलविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलिरहेको थियो।
बिहेको प्रलोभन देखाएर पटकपटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी ती गायिकाले भने गत बैशाखमा दुवै अदालतमा बकपत्र दिन जाँदा आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको भन्दै बयान फेरेकी थिइन्।
उता तनहुँमा गएको बुधबार पलको मुद्दाको पेशी तोकिएकोमा पेशी स्थगित भएको थियो।