काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटमा अझै कुरा मिलिनसकेको बताएका छन्। मंगलबार पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमाबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँट सम्भव हुने/नहुनेबारे प्रश्न उठ्ने गरेको सुनाए। नेता नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवार जिताउने गरी संगठन परिचालनमा जुट्न नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माणमा खटिन सिंगो पार्टी पंक्तिलाई सचेत गराए। ‘अब हामीले चुनावमा लाग्नु छ। चुनावका लागि संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। काठमाडौं र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्ती जाने हो। को उठ्यो भन्ने होइन। कलम चिहन्का उम्मेदवार उठे÷उठेनन्? भनेर खोज्नुपर्छ। समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं,’ उनले भने।
उनले गठबन्धनसँग तालमेल गरेर आफूहरू अघि बढिरहेको उनको भनाइ छ। अध्यक्ष नेपालले दलित समुदायमाथि अवहेलना गर्नेलाई पार्टी सदस्यता नदिइने बताए।