बिहीबार, असार ३२, २०८३

बुद्धको जन्मस्थल : बिमस्टेकलाई जोड्ने मजबुत सूत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा महत्वका साथ उठेको विषय हो, बुद्ध सर्किटको विकास । सम्मेलनलाई सम्बोधन क्रममा सातै मुलुकका राष्ट्र/सरकार प्रमुखहरूले यस विषयलाई महत्व दिए ।

बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता, बुद्धको जन्मस्थललगायत धार्मिक महत्व बिमस्टेक सदस्य मुलुकहरूको विशेषता नै हो । सातै सदस्य मुलुकलाई जोड्ने सूत्रका रूपमा बुद्ध जन्मस्थल लुम्बिनी तथा भगवान् गौतम बुद्धले ज्ञान प्राप्त र प्रचार गरेकोलगायत स्थलहरू फैलिएका छन्, यस क्षेत्रमा ।

बिमस्टेक सम्मेलनमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारले बुद्ध धर्म र बुद्धसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेका छन्। नेपाल, भारत, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य जनसंख्या रहेका मुलुक हुन् । मुस्लिम जनसंख्याको बाहुल्यता रहेको मुलुक बंगलादेशमा पनि ०.६ प्रतिशत बौद्ध धर्मावलम्बी छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा पर्छ । उनका पारिवारिक र धार्मिक महत्वको असंख्य स्थल छन्, नेपालमा । भारतको गयामा उनले बुद्धत्व प्राप्त गरेका थिए । र, महापरिनिर्वाण भारतको कुसीनगरमा भएको विश्वास छ ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयका जापानी प्राध्यापक केन्जो टाँगेले साढे तीन दशकअघि बुद्ध जन्मस्थल लुम्बिनीभित्रको ठूलो क्षेत्रफल समेटेर गुरुयोजना तयार पारेका थिए । त्यसको पहलकदमी भने संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लिएका थिए, जो म्यानमारका नागरिक थिए । उक्त गुरुयोजनाअन्तर्गत्को विकास अझै अधुरो छ । त्यसलाई पूर्णता दिन सके सात वटा देशको एक अर्ब ६० करोड जनसंख्याको धार्मिक/पर्यटकीय गन्तव्य बन्न सक्छ, लुम्बिनी ।

राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर भ्रमण गरेपछि यसको विकास, बिस्तार र संरक्षणका लागि अन्तर्राष्ट्रिय चासो र लगानी बढ्न थालेको हो।

प्रसिद्ध वास्तुकलाविद् टाँगेले तयार पारेको गुरुयोजना पूरा गर्न बजेटलगायत व्यवस्थापनका लागि १५ वटा मुलुक सहभागी अन्तर्राष्ट्रिय समिति नै गठन भएको थियो, जुन २० वर्षयता निश्क्रिय छ।

त्यस समितिलाई पुनः सक्रिय बनाउने म्यान्डेट दोस्रो विश्व बौद्ध शिखर सम्मेलनले दिए पनि अझै सक्रिय भएको छैन। लुम्बिनी विकास कोषले भने ६ करोड ३४ लाख ४२ हजार अमेरिकी डलरको लागतमा मात्र त्यस परियोजनालाई पूर्णता दिन सकिने अनुमान छ।

१६ कात्तिक ०६५ मा लुम्बिनी आएका राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनको ठाडो निर्देशनमा युएनडीपी र युनेस्कोले लुम्बिनी सहयोग परियोजना शुरु गरेका छन्। तत्कालीन अर्थसचिव कृष्णहरि बाँस्कोटा र दक्षिण कोरियाली राजदूत हल दो किमबीच २० जनवरी ०१२ मा लुम्बिनीलाई विश्व शान्ति नगरका रूपमा विकास गर्न गुरुयोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो। कोइकाको सहयोगमा जेजु विश्वविद्यालयका प्राध्यापक तथा प्रख्यात वास्तुकार योङ हुन क्वाकले त्यसको पहिलो चरणको काम सम्पन्न गरिसकेका छन्।

क्वाकले पाँच वर्गमाइलका लागि गुरुयोजना तयार पारेका छन्। पहिलो चरणको प्रतिवेदनको मस्यौदा उनले कोषलाई बुझाइसकेका छन्। कोषका अनुसार प्राध्यापक क्वाकले चार वटा अवधारणा प्रस्तुत गरेका छन्। यो योजना सन् २००० मा तयार भएको राष्ट्रसंघीय मिसन प्रतिवेदनलाई आधारमा बनाइएको हो।

बुद्ध, धर्म, संघ र उपासक/उपासिका क्षेत्रका चार वटा प्रस्ताव क्वाकले तयार गरेका छन्। सन् १९९८ मा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनले पारित गरेको घोषणापत्र अनुरूप उक्त गुरुयोजना तयार भएको हो । 

एसियाली विकास बैंक (एडीबी)को साउथ एसिया टुरिजम इन्फ्रास्ट्रक्चर डेभेलपमेन्ट प्रोजेक्टको सहयोगमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ। लुम्बिनी विकासका लागि एडीबीले छुट्याएको बजेटको मुख्य हिस्सा भैरहवा विमानस्थलमा ऋण लगानी गरिरहेको छ। सोही परियोजनाको अनुदानमा लुम्बिनीमा पनि सानो अंश खर्च भइरहेको छ।

उक्त परियोजना भारत र बंगलादेशका बुद्धस्थलमा पनि सञ्चालनमा छ। बंगलादेशको पहाडपुरमा बौद्धस्थल बनाइएको छ। त्यस परियोजनाको ठूलो र मुख्य हिस्सा नेपालमा खर्च भइरहेको हो।

भारतका बुद्धस्थलहरू बोधगया, सारनाथ र कुसिनगर समेटेर बुद्ध सर्किट निर्माणले जापानी सहयोगमा तीव्रता पाएको छ। जहाँ १० लेनका फराकिला सडक, गुम्बा, रिसोर्टलगायत पूर्वाधार बनिरहेका छन्। आफ्नो भूमिको बुद्धस्थलमा आउने भिक्षुहरूका लागि पाँच वर्षको प्रवेशाज्ञाको व्यवस्था पनि भारतले गरेको छ।

बोधगया र बनारसमा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन्, जहाँ भुटान, थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट सीधा उडान हुन्छन्। बुद्धका नाममा महापरिनिर्वाण एक्स्प्रेस नामको रेल सेवा नै सञ्चालन गरिरहेको छ। त्यसलाई लुम्बिनीसम्म ल्याउने भारतीय सोच देखिन्छ। बुद्ध सर्किट भारतीय केन्द्र सरकारको योजना हो, जसले सात सय किमि क्षेत्र समेट्छ ।

लुम्बिनीभरका सबै संरचनामा भएको कुल लगानी करिब चार अर्ब छ। गुरुयोजनाले प्रस्ताव गरेका सबै संरचना तयार पार्न थप ६ अर्ब आवश्यक हुन्छ। त्यति रकम आउने हो भने चार वर्षमा गुरुयोजनाले प्रस्ताव गरेको विकास सम्पन्न हुने निश्चित छ।

थप ६ अर्ब विनियोजन भए गुरुयोजनाले भनेका १७ वटा संरचना तयार हुन्छन् । ५/५ वर्गमाइल क्षेत्र गुरुयोजनाले तोके पनि ३/३ वर्गमाइलमा संरचनाहरू बन्दैछन्। लुम्बिनी क्षेत्रले ११ सय ५५ बिघा ओगटेको छ। १७ वटा संरचनामा बगैंचा, केन्द्रीय नहर र नहरका दुवैतर्फका डिलमा १७ प्रजातिका रुख रोप्नुपर्छ।

१.८ किमिमा भिरालो देखिने गरी ती रुख रोप्नु पर्ने गुरुयोजनाको प्रस्ताव छ। यस्तै, गुम्बाहरूको वरिपरि घुम्न मिल्ने गरी आँगन, ६ मिटर फराकिलो मुल सडक र चार मिटर चौडाइका सहायक सडक निर्माण हुनुपर्छ । ती सबै सडकका ट्रयाक भने खुलिसकेका छन् । प्रत्येक संरचना निर्माण गर्दा तीन अग्निनियन्त्रण रेखा तयार पार्नुपर्छ।

बौद्ध संसारको चौथो ठूलो धर्म हो। बैद्ध धर्मालम्बीहरुको पवित्रस्थल लुम्बिनी नै हो। बुद्धले आफ्ना शिष्य आनन्दको प्रश्नमा आफ्ना लागि ४ मुख्य केन्द्र जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त भएको बोधगया, पहिलोपटक शिष्य जम्मा गरेर ज्ञान बाँडेको सारनाथ र महापरिनिर्वाण लिएको कुसीनगर हो। 

हरेक बौद्ध धर्मावलम्बी जीवनमा एक पटक भएपनि यी चारै स्थलमा पुग्न चाहन्छन् । संसारमा बौद्धमार्गी जनसंख्या डेढ अर्बभन्दा बढी रहेको अनुमान छ। त्यसको एक प्रतिशत अर्थात् एक करोड ५० लाख मात्र लुम्बिनी घुम्न आउँदा पनि देशको अर्थतन्त्रमा कायापलट हुन्छ,। चीन, जापान, कोरिया, थाइल्यान्ड, लाओस, म्यानमार, भियतनामका बौद्धमार्गीलाई मात्र ल्याउन सके बर्सेनि एक करोड पर्यटक नेपाल आउने आशा गर्न सकिन्छ ।

लुम्बिनीको मायादेवी मन्दिर मात्र नभई त्यस वरिपरि बुद्ध र उनको जीवनीसँग सम्बन्धित एक सय ६० भन्दा बढी धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थल छन्। रुपन्देही, कपिलवस्तु र नवलपरासीको बृहत्तर क्षेत्रमा छरिएर रहेका छन् ती स्थल। ती सबै समेटेर बृहत्तर विकासमा ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन्।

जसमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धत्व प्राप्तिपछि उनलाई भेट्न बाबु शुद्धोदनले बनाएको विहार रहेको कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटीहवा, बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा, मावली देवदह, हजारौं संख्याका शाक्यहरूको हत्या गरिएको स्थान सागरहवा मुख्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।