काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका दौरान राजधानी दुलहीझैं सिँगारिएको छ । तर, त्यही सजावट वातावरणका लागि कति हानीकारक छ भन्ने कमैले ध्यान दिएका होलान् ।
राजधानी काठमाडौं आफैंमा कला र संस्कृतिको धनी क्षेत्र हो । तर, यहीं प्लास्टिकबाट बनाइएका फ्लेक्सहरू प्रशस्तै देखिए, बिमस्टेक सम्मेलनमा ।
जानकारहरूका अनुसार त्यस्ता फ्लेक्स सिन्थेटिक पोलिमर अर्थात् पोली भिनाइल क्लोराइड (पीभीसी)बाट बनेका हुन्छन्, जसमा अत्यधिक मात्रामा प्लास्टिकको प्रयोग भएको हुन्छ । प्लास्टिक कुहिँदैन र नास हुँदैन । जलाउँदा त्यसबाट निस्किने ग्यासले प्राणघातक रोग क्यान्सरसम्म हुन सक्छ ।
फ्लेक्समा गरिएको प्रिन्ट झनै घातक हुन्छ । उक्त प्रिन्टमा प्रयोग गरिने रंग घातक हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । त्यसैले फ्लेक्स जलाउँदा सल्फेट र नाइट्रेटजस्ता घातक ग्यास उत्पन्न हुन्छन् । वातावरणविद्हरूका अनुसार ती ग्यास अक्सिजनभन्दा गह्रुँगो हुने भएकाले तल्लो सतहमै रहिरहन्छन् । र, अक्सिजनको बहावमा अवरोध पुर्याउँछन् ।
सम्मेलनमा देखिएको अनौठो पक्ष भनेको सरकारी पक्षबाटै यति घातक वस्तु प्रयोगको विषयमा देखिएको उदासिनता हो । यति सामान्य जानकारी पनि नभएझैं देखिएको सरकारी निकायको रवैयाले यसपटक ।
अझ, यस्ता स्वागत द्वार निर्माण गर्ने निकाय अरू कोही नभएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत्को निर्माण व्यवसाय विकास परिषद हो । तर, यससम्बन्धमा मन्त्रालयका प्रवक्ता भुपेन्द्रबहादुर श्रेष्ठ अनभिज्ञता प्रकट गर्छन् । उनी भन्छन्, 'कामचाहीं परराष्ट्र मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरे, त्यसको जानकारी मात्र हामीलाई दिए ।'
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने परराष्ट्र मन्त्रालयले डिजाइनसहित ६ वटा गेट निर्माणको जिम्मा दिएको र सोहीअनुसार काम गरिएको बताउँछन् । 'छिटो बनाउनुपर्ने भएकाले फ्लेक्स प्रयोग गरिएको हो,' कार्की भन्छन्, 'सोही कारण यसपटक वातावरणीय पक्षमा ध्यान दिन सकिएन ।' सरकारी निकायको यस्तो उदासिनतापूर्ण कुरा सुन्दा जोकोहीलाई उदेक लाग्छ ।
'प्लास्टिकजन्य वस्तुहरू सबै वातावरणलाई हानी पुर्याउने हुँदैनन् । तर, नेपालमा पुनप्र्रयोग र विसर्जन गर्ने प्रविधि नभएकाले वातावरणमा असर पारिरहेका छन्,' त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्राध्यापक रेजिना मास्के भन्छिन्, 'अझ फ्लेक्समा प्रयोग हुने रंग साँच्चिकै हानीकारक हुन्छ ।'

मुलुकहरूबीच उच्चस्तरीय भ्रमण आदानप्रदान सदियौंदेखि चलिआएको चलन हो । विदेशी पाहुनालाई स्वागत गर्ने नेपालको आफ्नै परम्परा र विशिष्टता छ । र, त्यस्तो विशिष्टता प्रदर्शन गर्ने मौका पनि हुन्, यस्ता ठूला सम्मेलनहरू । तर, बिमस्टेक सम्मेलनमा देखिएको सरकारी रवैया हेर्दा आफ्नो मौलिकताको प्रचारप्रसार र 'मार्केटिङ'मा पूर्ण उदासिनता प्रदर्शन भएको छ ।
फ्लेक्सका स्वागतद्वार बनाउन करोडौं खर्च भएको छ । तर, यो काम बिनाटेन्डर गरिएको छ । जबकि, सार्वजनिक खरिद ऐनले २५ लाख रुपैयाँभन्दा बढीको काम गर्नु पर्दा टेन्डर आव्हान गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
स्वदेशमै पनि पूर्वराजाहरूले गर्ने भ्रमण क्रममा गाउँ र बजारहरू तामझामसाथ सजाइएका हुन्थे । तर, त्यसका लागि प्रायः स्थानीय वस्तुको प्रयोग हुने गथ्र्यो । बाँस, छ्वाली, पराल, धुमी, माटाका घैला, कपडालगायत वस्तु प्रयोग गरेर स्वागत द्वारहरू बनाइने गरेको दृष्य देख्ने पुस्ता अझै सक्रिय जीवनमै छ । तर, त्यही पुस्ताको सक्रियतामा गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा वातावरण र जनस्वास्थ्यका लागि घातक वस्तुको प्रयोग गरिनु आफैंमा अनौठो हो ।
भर्खरै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । डेनमार्कका प्रधानमन्त्री लार्स लोक्के रास्मुसेनले फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोंलाई साइकल चढाएर कोपनहेगन घुमाएको दृष्य थियो त्यो । त्यति उच्चस्तरको भ्रमणमा न त कतै स्वागत द्वार देखिन्थ्यो, न फ्लेक्सकै प्रयोग । कुनै सडकमा सवारी साधन पनि रोकिएका थिएनन् ।
युरोपेली मुलुकसँग अहिले नै तुलना नगरौं भन्ने हो भने भारतको दक्षिणी भेगका शहरहरूको उदाहरण लिए पनि पुग्छ । ती शहरमा फ्लेक्सको प्रयोगमै प्रतिवन्ध लगाइएको छ । तर, हामीकहाँ अधिकांश सरकारी कार्यालयकै बोर्डसमेत फ्लेक्सकै टाँगिएको देख्न सकिन्छ ।