मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • खोटाङको चुनावी जोडघटाउ: गठबन्धनमा टिकट बाँडचुँड गर्न सकस, एमालेभित्र आकांक्षीको ओइरो

खोटाङको चुनावी जोडघटाउ: गठबन्धनमा टिकट बाँडचुँड गर्न सकस, एमालेभित्र आकांक्षीको ओइरो

एक निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पनि हेभिवेट नेतालाई नै उम्मेदवार बनाउने तयारी गरेपछि स्थानीय तह चुनावको अंकगणितमा एमालेले बाजी मार्ने अड्कल गरिएको छ।
 |  आइतबार, भदौ १९, २०७९

खिला कार्की

खिला कार्की

आइतबार, भदौ १९, २०७९

काठमाडौं–  प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिँदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन्। चुनावको समय मात्र गाउँ पुग्नेहरू अहिले जनतालाई अनुहार देखाउनै भए पनि आइपुगेका छन्। गाउँमै बस्नेहरू टिकट आफ्नो पक्षमा पार्न ठूला नेता फकाउन सहर पसेका छन्। 

triton college

सत्ता गठबन्धन आगामी ४ मंसिरमा हुने चुनावमा पनि तालमेल गरेरै जाने भएको छ। त्यसको प्रत्यक्ष असर प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पर्ने देखिन्छ। गत प्रतिनिधिसभा निर्वाचनमा ठूलो बनेको एमाले यस पटक कमजोर हुने देखिएको छ। 

प्रमुख सचेतक विशाल भट्टराईले चुनाव जितेको खोटाङमा यो पटक एमालेलाई सकस पर्ने देखिन्छ। २०७४ मा वाम गठबन्धन गरेको एमाले यो पटक एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदै छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरिसकेका छ। तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेदवारको नाम सिफारिस गर्ने तयारी छ। 

केही समय अगाडि भएको स्थानीय तह चुनावले तताएको गाउँघर सेलाएको थियो। अहिले पुनः चोकमा, चिया पसलमा, चोताराहरूमा निर्वाचनका गन्थन हुन थालेका छन्। मानिसको भेटघाट बाक्लिएको छ। राजनीतिक दलहरूले बैठक निरन्तर गरिरहेका छन् भने मत आफ्नो पक्षमा कसरी पार्ने भनेर रणनीति पनि बनाइरहेका छन्। 

स्थानीय तहमा परिणाममा एमाले नै अगाडि  
गत वैशाखको स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले नै पहिलो पार्टी छ। तर अघिल्लो स्थानीय तह चुनावमा ५ पालिका प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमाले यस पटक २ पालिका प्रमुख, २ उपप्रमुख र १९ वडाध्यक्षमा खुम्चिएको छ। स्थानीय तह चुनावमा पनि पाँच दलबीच गठबन्धन भएको थियो। वडाध्यक्षले पाएको मतअनुसार एमालेको २८ हजार ७९७, कांग्रेसको २६ हजार ६३३, माओवादीको १८ हजार ७३६, जसपाको २ हजार ९१६, नेकपा एसको २ हजार १४४ र राप्रपाको ८१५ छ। 

corrent noodles
Metro Mart

गठबन्धनबाट उम्मेदवार 
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीले पनि हेभिवेट नेतालाई नै उम्मेदवारी बनाउने तयारी गरेका छन्। माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज समिता कार्की, पोलिटब्युरो सदस्य एवं प्रदेशमन्त्री रामकुमार राई, पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईलगायतका नेताको दाबी छ। 

कांग्रेसबाट पूर्वराज्यमन्त्री सम्वद्र्धन राई, सरस्वती बजिमय, युवा नेता सुवासकुमार पोखरेललगायतको दाबी छ। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले भने संघीय परिषद् अध्यक्ष अशोक राई र डा. कृष्णकुमार राईको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ। २०४८ र २०५१ को निर्वाचनमा उनी खोटाङबाट निर्वाचित भएका थिए।

नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य तथा प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

एमालेबाट अरू पनि आकांक्षी 
४ मंसिरमा हुने चुनावमा भट्टराई एमालेबाट फेरि पनि मैदान जाने तयारीमा छन्। एमालेका अन्य नेताहरू पनि आकांक्षी छन्। तर पार्टी अध्यक्ष केपी ओलीले विशाललाई नै टिकट दिने स्रोतको दाबी छ। प्रदेश सांसद उषाकला राईसँगै केन्द्रीय सदस्यद्वय खगेन्द्र राई र रमेश पौडेल पनि आगामी हुने प्रतिनिधिसभा सदस्यको आकांक्षी छन्। 

संसद् विघटन गर्दा उषाकला र उनका श्रीमान् शेरबहादुर तामाङले ओलीलाई साथ दिएका थिए। तत्कालीन नेकपा विभाजनको सँघारसम्म आइपुग्दा उनीहरू माधवकुमार नेपाल समूहमा खुलेका थिए। तर त्यसको केही दिनमै पत्रकार सम्मेलन गर्दै ओली समूहमा फर्किएका थिए। त्यसैले उषाकलालाई टिकट दिन ओलीलाई दबाब पर्न सक्छ। समस्या पर्दा साथ दिएका कारण देखाउँदै ओलीबाट टिकट फुत्काउने दाउमा छन्, उषाकला। भट्टरार्ई जिल्लामा राम्रै नेताको रूपमा चिनिन्छन्। यसले गर्दा पनि एमालेले उनलाई टिकट दिइने एमाले नेताहरू नै बताउँछन्। टिकट पाउने आशमै उनले निर्वाचन केन्द्रित कार्यक्रम गर्न थालिसकेका छन्। 

२०७४ को परिणाम 
२०७४ को निर्वाचनमा एमालेका विशाल भट्टराई ३५ हजार ३७७ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरेकी थिइन्। २०७४ को निर्वाचनमा विशाललाई नेकपा माओवादी केन्द्रको साथ थियो। २०७० मा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र–२ बाट उनी निर्वाचित भएका थिए। त्यो बेला खोटाङमा २ निर्वाचन क्षेत्र थिए। प्रदेशसभा ‘क’मा कांग्रेस उम्मेदवार सुवासकुमार पोखरेललाई ५ हजार ५ सय २२ मतले पछि पार्दै वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजन राई विजयी भएका थिए। राईले १८ हजार ९ सय ३३ मत ल्याएका थिए। पोखरेलले १३ हजार ४ सय ११ मत पाएका थिए। 

त्यस्तै, प्रदेश ‘ख’ मा कांग्रेसका उम्मेदवार विष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी विष्णुले १२ हजार २ सय ३९ मत ल्याउँदा विजयी राईको १८ हजार ३ सय ७२ मत आएको थियो। तर २०७४ को चुनावमा प्रदेशसभा सदस्य बनेका दुवै जना अहिले एमालेमा छैनन्। एमाले तर्फबाट उम्मेदवार बनेका राजन राई अहिले नेकपा एसमा लागेका छन् भने रामकुमार राई माओवादी केन्द्रमा छन्। 

प्रदेशका उम्मेदवार 
कांग्रेसबाट प्रदेश ‘क’ मा नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुको नाम सिफारिस भएको छ। कांग्रेसले प्रदेश ‘ख’बाट उम्मेदवार सिफारिस गरेको छैन। कांग्रेसले प्रतिनिधिसभातर्फ पनि सिफारिस गरिसकेको छैन। 

जसपाबाट प्रदेशसभा ‘क’ मा राकेश राई, नवीन राई, विवेक राई, हेमन्त राई र  मवीन्द्र राई, प्रदेशसभा ‘ख’ मा देवराज राई र प्रेमकुमार राईको नाम सिफारिसमा परेको छ। नेकपा एसले प्रदेश ‘क’ मा वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई, विष्णु दाहाल र तेजबहादुर राई र प्रदेश ‘ख’ मा बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री र शम्भु घिमिरेको नाम सिफारिस गरेको छ।

त्यसैगरी माओवादी र नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवार सिफारिस गरिसकेको छैन। प्रदेशसभा सदस्यमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई उम्मेदवार बनाउने सम्भावना पनि उत्तिकै छ। अझ गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँट गरिए प्रतिनिधिसभा माओवादीको भागमा पर्दा कांग्रेसले दुवै प्रदेशसभा पाउने अवस्था छ। तर प्रतिनिधिसभाको सिट कांग्रेसको भागमा परे ‘क’ प्रदेश नेकपा एस र ‘ख’ प्रदेश माओवादीको भागमा आउन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन्। 

खोटाङको विगत
बहुदल स्थापनापछिको पहिलो आमनिर्वाचनदेखि २ वटा क्षेत्र रहँदै आएको खोटाङ अहिले एउटा क्षेत्रमा सीमित भएको छ। सोही समयदेखिको निर्वाचन नतिजालाई हेर्दा एमालेका टंक राई र कुलप्रसाद शर्मा २०४८ मा विजयी भएका थिए। त्यस्तै, २०५१ को चुनावमा पनि एमालेकै टंक राई र अशोककुमार राई विजयी भएकामा २०५६ को चुनावमा भने कांग्रेसका सवद्र्धन राई र शिवकुमार बस्नेतले बाजी मारे। पहिलो संविधानसभा निर्वाचनमा देशभरजस्तै माओवादीको लहर आयो र दुवै क्षेत्रमा उक्त पार्टीका उमेदवारद्वय क्रमशः रामकुमार राई र समिता कार्की विजयी भए।

२०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा क्षेत्र–१ बाट एमालेका पाँच कर्ण राई निर्वाचित भएका थिए भने क्षेत्र २ बाट अहिले वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका विशाल भट्टराई विजयी भएका थिए।

प्रकाशित: Sep 04, 2022| 12:54 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...