काठमाडौं– आउँदो मंगलबारबाट काठमाडौंमा महिला साफ च्याम्पियनसिप आयोजना हुँदै छ। २०१० बाट सुरु भएको महिला फुटबलको क्षेत्रीय प्रतिस्पर्धाका सबैजसो प्रतियोगिताको फाइनलमा पुगे पनि नेपालले जित्न सकेको छैन।
जति तयारी गरे पनि नेपालको सबैभन्दा ठूलो बाधा बनेर भारत नै आउने गरेको छ। तर घरेलु मैदानमा यो वर्ष नेपाल जसरी पनि साफको उपाधि घरमै राख्न चाहन्छ। नेपाली टिमका मुख्य प्रशिक्षक कुमार केसी यस्तै भन्छन्।
‘हामी कन्फिडेन्ट, तयार र उत्साही छौं,’ उनी भन्छन्, ‘भारतसँग हामी धेरै स्टरेरियो टाइप भएका छौं। हारिन्छ भन्ने मानसिकता खेलअघि नै बन्छ। त्यसो त साफको प्रतियोगितामा जित पनि निस्किएको छैन।’
भारतसँगै सबै प्रतिद्वन्द्वीलाई हराउन नेपालले काठमाडौंका विभिन्न ठाउँमा पाँच साताको अभ्यास गरिसकेको छ। ‘मैले ५८ जनाबाट ३५ र त्यसमध्य २३ खेलाडी छनोट गरेको छु। पहिलो छनोटबाट २३ जना खेलाडी निकालेका थियौं। अहिले जुन खेलाडी छन्, म उनीहरूबाट सन्तुष्ट छु,’ उनले भने।
राष्ट्रिय फुटबल टिमका लागि सात हप्ताको अभ्यास भनेको धेरै हो। धेरै देशमा राष्ट्रिय टिमले लगातर सात हप्ताको अभ्यास गर्दैनन्। त्यसैले केसी आफूले पाएको समयमा सन्तुष्ट छन्। ‘यो पाइन, त्यो भएन भन्नु बेकार हो। हामीलाई चुनौती मौसम अनि मैदानको रह्यो। त्यो समयलाई खेर नफाली हामी काममा लागेका छौं,’ उनले भने।
अहिले नेपाली टिममा तीन नयाँ खेलाडी रहेका छन्। दीपा शाही, समीक्षा घिमिरे र अमिष कार्की। तर नेपाली टिम कप्तान रेनुका नगरकोटे घाइते भएकी छन्। अन्तिम ३५ मा रहेकी पूजा राना घाइते भइन्।
यो दुःखको कुरा भयो। खुसीको कुरा पनि छ। तीन खेलाडीले अहिले कमब्याक गरेका छन्। मुटुको उपचारपछि पुनम जर्घा मगर अनि घुँडाको उपचारपछि सावित्रा भण्डारी टिममा फर्किएका छन्। त्यस्तै, रेखा पौडेलले लामो समयपछि टिममा स्थान बनाएकी छन्।
‘हामीले नयाँ खेलाडीमा क्वालिटी भएरै टिममा राखेका हौं,’ केसीले खेलाडीबारे भने, ‘टिम सन्तुलित छ। यो टिमसित हामी सकारात्मक र आशावादी छौं।’
त्यसो त, प्रतियोगितामा नेपालका लागि घरेलु मैदान थप सहयोगी बन्न सक्छ। तर नेपालले घरेलु मैदानमै भएका पछिल्लो दुई प्रतियोगितामा जित निकाल्न सकेका छैन, जुन नेपालका लागि दुर्भाग्य हो।
‘नेपालमा भएका साफ र सागमा हामीले गोल्ड जित्न सकेनौं। तर यो पटक कोसिस गर्नेछौं। देशलाई स्वर्ण दिलाउने मेरो पनि इच्छा छ,’ फर्वार्ड सावित्रा भण्डारीले भनेकी छन्, ‘यो टिममा अनुभवी र उदाउँदा खेलाडी छन्। सबैको सहयोगमा हामीले जित्छौं भन्ने लागेको छ।’
सन् २०१६ मा सिलिगुडीमा भएको महिला साफमा कुमार नै नेपाली टिमका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा पनि नेपालले भारतसँग सेमिफाइनलमै हार बेहोरेको थियो। त्यसपछि उनी फेरि नेपाली टिमको मुख्य प्रशिक्षक बनेका छन्।
आफूले राष्ट्रिय टिममा दोस्रो जीवन पाएजस्तो लाग्छ, कुमारलाई। उपाधि जित्ने आश भए बाँकी टिमको अनुमान लगाउन भने गाह्रो देख्छन्, उनी। भन्छन्, ‘फुटबलमा कुनै कुराको अनुमान लगाउन सकिँदैन। हामीले अरूको तीन वर्षअघिको खेल मात्र हेरिरहेको हो। पाकिस्तान कस्तो छ, थाहा छैन।’
उनले थपे, ‘बंगलादेश राम्रो छ। भुटान पनि राम्रो छ। मुख्य कुरा साफमा सात देश खेलिरहेका छन्।’
१२ वर्षसम्म पनि भारतीय टिमलाई हराउन नसकेको नेपाली महिला फुटबल टिमले आउँदो प्रतियोगितामा नेपालकै मैदानमा घरेलु समर्थकमाझ उत्कृष्ट खेल खेल्नैपर्ने दबाब छ।
केही समयअघि भारतको फुटबल संघ फिफाबाट प्रतिबन्धमा परेको थियो। भारत ‘सस्पेन्ड’ भएपछि नेपाल च्यम्पियन हुन्छ भन्ने धेरैलाई लागेको थियो। तर प्रतिबन्ध फुकुवा भइहाल्यो। अहिले नेपाली टिमको चाहना छ–भारतलाई हराएर च्याम्पियन बन्ने।
‘साफमा भारत नहुनु भनेको नुन नहालेको तरकारी खाएजस्तै हुन्छ। हामीले स्वादविहीन खेल जितेर उपाधि जित्छौं भन्ने सोचेका थिएनांै,’ कुमारले भने, ‘नेपाल जहिल्यै पनि फाइनल पुगेको छ। मैले २०१६ मा खेलाउँदा मात्र सेमिफाइनलबाट फर्किएको हो। नेपालले जहिल्यै राम्रो खेलेको छ। हामीले पनि त्यहीअनुसारको रणनीति बनाएका छौं।’
त्यसो भए के भारतसँग बदलाको भावना छ? त्यसो पनि होइन। फुटबलमा बदलाको भावना नहुने केसी बताउँछन्। ‘हामीले शून्यबाट सुरु गरेर जित निकाल्ने हो। हाम्रो लक्ष्य भनेको कमभन्दा कम गल्ती गर्ने हो। मैले भिडियो हेरेको छु। हामीे गल्ती धेरै गरिरहेका छौं। फुटबलमा गल्ती सबैले गर्छन् तर हामीेले गल्ती घटाउने हो। सबै ठाउँमा राम्र्रो गरेर कम गोल खानुपर्यो। स्ट्राइकरले गोल गर्नुपर्यो,’ उनले भने।
त्सो त, फुटबलमा ठूलो समर्थक भेला गर्न सक्ने नेपाल आफ्ना घरेलु समर्थकमाझ जित निकाल्न चाहन्छ। ‘१२ वर्ष भइसक्दा पनि एउटै टिमलाई नहराउनु भनेको नेपालका लागि दुखद् कुरा हो। एउटा टिमसँगै जहिल्यै हारेर बस्नु खेलाडीका लागि पनि राम्रो होइन। पीडा पनि हो,’ कुमारले भनेका छन्।
आफूले पाएको दोस्रो जीवनलाई सदुपयोग गर्ने विचार छ, उनको। दक्षिण एसियाली स्तरमा महिला फुटबलमा जित्नै नसक्ने भन्ने पनि छैन। तर नेपालली टिमले भारतसँग खेल्दा होस् वा अन्य देशसँग खेल्दा धेरै गल्ती गरेकै हो। अनावश्यक गल्तीले नेपाललाई पिरोलिरहेको कुमारको ठम्याइ छ।
भारतसँगको स्तर समान भए पनि उसँग पराजित भएको इतिहास र दबदबाले नै नेपाली खेलाडीको मनोभावना कमजोर बनाउने गर्छ। त्यसविरुद्ध एन्फालाई भनेर मोटिभेसन कक्षा सञ्चालन गर्ने प्रतियोगिताअघिको लक्ष्य रहेको उनले सुनाए।
‘प्रतियोगितामा मोटिभेसन कक्षा राख्ने भन्ने सोचिरहेका छौं। यो खासमा रिसर्च गरेर गर्नुपर्ने हो। तर अहिले जे स्रोत उपलब्ध भइरहेको छ, त्यसलाई नै प्रयोग गर्ने विचारमा छौं,’ कुमारले भने, ‘भारतसँग हामी धेरै स्टरेरियो टाइप छौं। १९९७ देखि पुरुषको साफ सुरु भएको हो। त्यसयसता साफमा जितेकै छैन। सन् २०१० देखि महिलाको साफ सुरु भएयता जित निकालेको छैन।’
इतिहास हेर्दा साफको उपाधि अकासको फल भनेजस्तै भएको छ। तर नेपालको घरेलु फुटबलको संरचना राम्रो नहुँदा खेलाडीले राम्रोसँग अभ्यास गर्न पाएका छैनन्। नेपालमा महिलाको क्लब छैन र विभागीय टिमले मात्र महिला खेलाडी राखिरहेका छन्।
कुमार प्रश्न गर्छन्, ‘महिला फुटबल र क्लब लेभल कहाँ छ? भारतको जस्तो छ?’ त्यति मात्र होइन राष्ट्रिय टिमको अभ्यासमा पनि समस्या भोग्यो, नेपालले। व्यवस्थित मैदान भएन। पहिले राखेपले आयोजना गरेको अभ्यासमा नेपाली महिला टिमले रंगशालामा अभ्यास गरेको थियो। त्यसपछि आर्मीको मैदान र सेन्ट जेभियर्सको मैदानमा अभ्यास गर्न पुगेको नेपाली टिमले पछिल्लो समय चर्च ब्वाइज क्लबका अभ्यास मैदानमा अभ्यास गरिरहेको छ।
‘हामीले अभ्यासका लागि रंगशाला भए सजिलो हुन्थ्यो। काठमाडौंमा बाँकी मैदान कहाँ छन्? हामीले पहिले जवालाखेलमा, पछि सातादोबाटोमा पनि अभ्यास गरेकै हो। एन्फा कम्लेक्सको पिच प्रतियोगितामैत्री हुँदै होइन। त्यस्तोमा अभ्यास गरेको हो,’ कुमारले भने।
नेपाली टिमले एक समय टर्फमा, अर्को समय जावलाखेलमा अभ्यास गरेको हो। तर अब त्यो बिर्सिएर अघि बढ्ने प्रशिक्षक बताउँछन्। भन्छन्, ‘हामी खेलमा तयार हुने बेला भएको छ। मैत्रीपूर्ण पाइएन, मैदान भएन, खेलाडी घाइते भए भनेर क्षमायचना माग्ने बेला छैन। त्यो दिइए पनि म लिँदिनँ।’
जे भए पनि नेपाली टिमलाई सहयोग गर्नु सबैको कर्तव्य हो। त्यसमाथि अहिले नेपाली टिम कन्फिडेन्ट, तयार र उत्साही छ। सक्दो कोसिस गर्न खेलाडी र प्रशिक्ष अभ्यासमा लागिपरेका छन्। ‘उपाधि दिलाउन नसके मैले दोस्रो पटक राष्ट्रिय टिम हेर्न पाएको के मतलब? अहिले खेलाडी भएर जितेनन् भने उनीहरूलाई पनि पछुतो हुन्छ भन्ने सोचेरै खेल्ने विचार गरेका छौं,’ कुमारले भने।
कुमार २०१६ को प्रतियोगिता सम्झिएर आफैंलाई एक पटकको ‘फेलियर’ ठान्छन्। अघिल्लो च्याम्पियनसिपमा उनले सेमिफाइनलमै हार बेहोरे। भारतलाई हराएको भए उपाधि जित्ने सम्भावना थियो त्यतिबेला तर त्यसो भएन।
‘त्यतिबेला बाधा थियो, भारत। तर अहिले भारतको बाधा पन्छाएर अघि बढ्ने सोचेका छौं। त्यो बेला पहिलो पटक भनेर क्षमा माग्ने पाउने अवस्था थियो। तर अहिले दोस्रो पटक हो। यस पटक उपाधि जित्न असफल भए महिला फुटबल र मेरो करियरमा ठूला धब्बा हो,’ उनले भने।
नेपालले एसिया कप खेल्दा सावित्रा चोटग्रस्त थिइन। अहिले रेनुका र पूजालाई चोट लागेको छ। यसले नेपाली टिमलाई कस्तो असर गरिरहेको होला? ‘राम्रा खेलाडी नहुँदा दुःख लाग्छ। तर यो अवस्थामा यही २३ जना भनेको देशकै सबैभन्दा राम्रो टिम हो। उनीहरूको फ्यान, मिडियाले तुलना गर्ने हो। टिमले जिते सबै हिरो हो।’
राष्ट्रिय टिममा पुगेका नयाँ खेलाडीले पनि पछिल्लो समय महिला लिग खेलेका छन्। अमिषा र दीपा विभागीय टिममा पुगेका छन्। आ–आफ्नो क्षेत्रमा उनीहरू उत्कृष्ट रहेको कुमार बताउँछन्।
‘मैले ३५ जनाबाट सबै भागमा एक–एक जना खेलाडी मात्र घटाएको छु। बाहिरिएका खेलाडीभन्दा उनीहरू उत्कृष्ट छन्। नयाँ खेलाडीले पहिलो खेलमै खेल्छन् भन्ने लागेको छ,’ कुमारले भने।