इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ हरेक दिनजसो केही न केही विषयमा फेसबुक लाइभ गरिरहेका हुन्छन्। बुधबार बिहान 'ग्यालेक्सी फोर के टेलिभिजन'लाई दिएको अन्तर्वार्तासमेत उनले लाइभ गरे। सोही क्रममा पत्रकारले फोहोरमैला व्यवस्थापनको विषयमा प्रश्न गरेका थिए। अन्तर्वार्ताका क्रममा मेयर साम्पाङले पत्रकारहरुलाई प्रतिप्रश्न मात्र गरेनन्, वन क्षेत्रमा फोहोर नफाल्न भनिएपनि आफूहूले त्यही स्थानमा फोहोर विसर्जन गर्ने अड्डी कसे।
संघीय सरकारले बजेट नदिएको कारण देखाउँदै समस्या बढेको आरोप पनि उनको छ। फोहोर धरानको मात्र समस्या नभएको बताउँदै उनले नेपालमा पैसा नभएको कारण काम गर्न नसकिने धारणा राखे। केन्द्र सरकारले एक खर्ब रुपैयाँ दिए विदेशमा जस्तै चिम्नी राखेर फोहोर जलाउने कुरा सुनाए। जंगलमा फालिएको फोहोर व्यवस्थापनमा गम्भीर नदेखिएका उनले त्यसको असर न्यूनीकरणबारे कुनै योजना सुनाउन सकेनन्, बरु लाइभ अन्तर्वार्तामा मजाक गरिदिए।
काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र शाहको आलोचना गरेपछि उनी प्रश्नको घेरामा परेका छन्। धरान उपमहानगरपालिकाको फोहोर जलेर निस्किने धुवाँको कारण जनस्वास्थ्यमा समस्या देखिएको गुनासो बढ्दै गएको छ। विगत ६ वर्षदेखि फोहोर जलेको धुवाँले इटहरी-१९ भवानीपुरका स्थानीय सास्ती खेप्न बाध्य छन्।
धरानले फालेको फोहोरले जनस्वास्थ्यमा मात्र समस्या सिर्जना गरेको छैन, धरान नगरपालिकाले कानुन पनि उल्लंघन गरेको देखिएको छ। वन ऐन २०७६, फोहोरमैला व्यवस्थापन ऐन २०६८, फोहोरमैला व्यवस्थापन नियमावली २०७०, वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७ का व्यवस्था स्थानीय सरकारले नै उल्लंघन गरेको मात्र छैन, स्थानीय सरकार प्रमुख अझ त्यही स्थानमा फोहोर फालिरहने बताइरहेका छन्।
धरानले फालेको फोहोरले जनस्वास्थ्यमा मात्र समस्या सिर्जना गरेको छैन, धरान नगरपालिकाले कानुन पनि उल्लंघन गरेको देखिएको छ।
वन ऐन २०७६ को दफा ४९ ले वनविनाश र आगजनीलाई कसुरको रुपमा प्रष्ट पारेको छ। वन फाड्ने, आगजनी गर्नेदेखि वन क्षेत्रको अतिक्रमण गर्नुलाई कसुरको रुपमा व्यख्या गरेको छ। समुदायिक वनको जिम्मेवारी पाएको धरान उपमहानगरपालिका आफैँ वन क्षेत्रको दुरुपयोग गरिरहेको छ।
फोहार मैला व्यवस्थापन ऐन २०६८ को दफा ६ बमोजिम स्थानीय तहले फोहोरमैलालाई कम्तीमा जैविक र अजैविक गरेर स्रोतमा नै छुट्याउनुपर्ने हुन्छ। ऐनको दफा ११ को उपदफा २ मा फोहोरमैला स्थानान्तरण तोक्दा जनस्वास्थ्य वा वतावरणमा प्रतिकूल प्रभाव नपर्ने र दुर्गन्ध नआउने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।
फोहोर मैला व्यवस्थापन नियमावली २०७० को नियम ८ को उपनियम १ मा स्थानीय निकायले फोहरमैला व्यवस्थापनस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने नियमबारे व्यवस्था गरेको छ। उपनियम १ (क) मा फोहरमैला व्यवस्थापनस्थलको सञ्चालन गर्दा निस्कने लिचेट, ग्यास र दुर्गन्धलगायतका कारणबाट त्यस क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अपनाउनुपर्ने उल्लेख छ।
त्यस्तै फोहरमैला व्यवस्थापन स्थल वरिपरिको जनजीवनमा पर्न सक्ने आर्थिक, सामाजिक, भौतिक तथा जैविक प्रभाव र त्यसको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। उपनियम १ (ङ) मा फोहरमैला व्यवस्थापनस्थल सञ्चालन हुने समयमा सो स्थानमा आवतजावत बन्द गर्नु पर्ने र सो सम्बन्धमा अपनाउनु पर्ने सचेतनासम्बन्धी व्यवस्था छन्। तर यी कुनै प्रावधान नगरपालिकाले पालना गरेको छैन।
कानुनी कारबाही गर्ने प्रमुख निकाय धरान उपमहानगरपालिका आफैँले कानुनी व्यवस्था उल्लंघन गर्दै आएको छ।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३० को उपदफा ५ मा नेपाल सरकारले कुनै हानिकारक वा जोखिमयुक्त पदार्थ वा फोहोरमेला भण्डारण वा विसर्जन गरेको स्थान वा अन्य कारण अत्यधिक प्रदुषण गरेको स्थानलाई प्रदुषित क्षेत्र तोकी सवारीसाधन वा मानव आवतजावतमा रोक लगाउने उल्लेख छ। तर धरान उपमहानगरपालिकाले राजमार्गको छेउमै फोहोरमैला विसर्जन गरी वातावरण प्रदुषित बनाउँदै आएको छ।
वातावरण संरक्षण नियमावली २०७७ को नियम १४ को उपनियम २ मा स्थानीय तहले प्रदुषणको प्रकृतिअनुसार कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्ने उल्लेख छ। उपनियम ३ मा उद्योग वा अन्य कारणबाट निस्कने फोहोरले जनस्वास्थ्य वा वातावरणमा प्रभाव पर्न गए क्षतिपूर्ति असुलउपर गर्नुपर्ने समेत उल्लेख छ। उता धरान उपमहानगरपालिका आफैँले उत्सर्जन गरेको फोहोरले जनस्वास्थ्य र वातावराणमा प्रतिकुल असर गरिरहेको छ।
कानुनी कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी पाएको स्थानीय सरकार नै कानुनी व्यवस्था उल्लंघन गर्दै आएको छ। डिभिजनल वन कार्यालय सुनसरीले बारम्बार सचेत गराउँदा समेत धरान उपमहानगरपालिकाले चासो दिएकै छैन।
जनस्वास्थ्य विज्ञ डा सागर प्रसाई फोहोर जलेर निस्कने कार्बनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता ग्यासको कारण फोक्सो, मुटु र आँखामा असर गर्ने बताउँछन्। यस्तो असर गर्भवती महिला र गर्भको शिशु दुवैमा प्रतिकूल हुने उनले प्रष्ट पारे। बालबालिकामा निमोनिया हुने र यसले दीर्घकालीन रोग जन्माउने प्रसाइले बताए। सानो उमेरमै प्रदुषणमा हुर्कीएका बालबालिकाको वृद्धिदर कम हुने र किशोर अवस्थामा मनोवैज्ञानिक समस्या देखिन सक्ने उल्लेख गरे। वृद्धवृद्धमा श्वासप्रश्वाससम्बन्धी समस्यालाई पनि थप बढाउने उनको भनाइ छ।