चितवन- पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व भएको छ।
भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो।
उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ। त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ। त्यहाँ पनि सडक बन्द भएको छ।
ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो।
पहिरोको उच्च जोखिम रहेकाले मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।