काठमाडौं– गत बिहीबार प्रहरीले लखेटेपछि भागेका युवकको शव चार दिनपछि आइतबार गोकर्णस्थित बागमती नदीमा भेटिएको छ। बिहीबारदेखि बेपत्ता ओखलढुंगाको चम्पादेवी–९ का दुर्गाधन सुनारको आइतबार बिहान शव फेला परेको हो।
शवमा चोटपटक देखिएको मृतकका भाइ विनोद सुनारले बताए। पेसाले सिभिल इन्जिनियर सुनार ७ भदौमा काठमाडौं आएका थिए। दाइ विनोदका अनुसार उनी आफ्ना शैक्षिक प्रमाणपत्र लिन बुधबार काठमाडौं आएका थिए।
बिहीबार बेलुका साथीहरूलाई भेट्न जान्छु भनी निस्किएका उनले बौद्ध महाँकालमा उनीहरूसँगै बसेर खानपान गरेका थिए। ६ साथीमध्ये तीन जनासँग छुट्टिएर विनोदसहितका अन्य तीन जना साथीहरू एउटै बाइकमा मनोहराको कोठामा जाँदै गर्दा गोकर्णमा गस्तीमा रहेको प्रहरीसँग भेट भएको थियो।
‘भाइ र भाइका साथीहरूबीच बाइक कसले चलाउने भनेर विवाद भइरहेको रहेछ। स्थानीय एक पसलको सटरमा पनि उनीहरूले हानेको भन्ने छ,’ मृतकका दाइ विनोदले भने, ‘प्रहरीले लखेटेपछि भाइ र उसको एक जना साथी भागेछन्। लीला गुरुङ पक्राउ परेछन्।’ त्यसपछि बेपत्ता भाइको खोजी गरे पनि नभेटिएको र आइतबार शव भेटिएको जानकारी उनले दिए।
प्रहरीले लीलालाई भ्यानमा हालेर लग्दै गर्दा बाटोमा भाइ देखेपछि लखेटेको आरोप उनको छ। ‘हामीसँग सिसीटिभी क्यामेराको फुटेज सुरक्षित छ। गोकर्णेश्वर महादेव बोर्डिङ स्कुलको फुटेजमा प्रहरीले ११ः१५ मा भाइलाई लखेटिरहेको देखिएको छ,’ उनले भने।
बिहीबारदेखि बेपत्ता ओखलढुंगाको चम्पादेवी–९ का दुर्गाधन सुनारको आइतबार बिहान शव फेला परेको हो।
शव फेला परेपछि किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी नलिएको गुनासो उनको छ। ‘हामीले भाइका साथीसहित गोकर्ण प्रहरी बिटका इन्चार्ज रमेशप्रसाद (आरपी) पाण्डेलगायत विरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मिल्दैन भन्छ,’ उनले भने, ‘त्यहाँ पाण्डेले भाइलाई लखेटिरहेको देखिन्छ। सोही कारण उहाँलाई समेत अनुसन्धानको घेरामा राख्नुपर्छ भन्ने हाम्रो माग हो।’
प्रहरीकै नाम परेपछि उसले जाहेरी लिन नमानेको हो। प्रहरीले आइतबार जाहेरी नलिएपछि आफन्तले सोमबार प्रहरी वृत्त बौद्धअघि प्रदर्शन गरिरहेका छन्। घटनाका विषयमा बुझ्न खोज्दा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जाहेरी लेखनको काम भइरहेको बताए। ‘जाहेरी लेखनको काम भइरहेको छ। जाहेरी आएपछि घटनाबारे अनुसन्धान गरी दोषी जो भए पनि कारबाही हुन्छ। प्रहरीले जाहेरी नलिने भन्ने हुँदैन। नलिने भनेको छैन।’
यद्यपि, मैनालीपछि मृतकका दाइ विनोदसँग बुझ्दा भने प्रहरीले जाहेरी लिन नमानेको बताए। उनले भने, ‘गोकर्ण प्रहरी बिटका इन्चार्ज पाण्डेले भाइलाई लखेटिरहेको सिसीटिभी फुटेज हामीसँग सुरक्षित छ। तर प्रहरीको नाम लेख्न मिल्दैन भनेर जाहेरी नै लिन मानेको छैन।’