कोहलपुर- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन्।
पछिल्लो गतिविधिबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबरजस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रस्ट पारे।
देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा बलजफती रूपमा अस्थायी संरचना हटाउने प्रयास भइरहेको तर्फ इङ्गित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताए।
नागरिकको शान्ति सुरक्षा र उनीहरूको व्यवस्थापन गर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री अथकले सस्तो लोकप्रियताका लागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताए।
देशभर अव्यवस्थित रूपमा रहेका संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी नीति बनाइरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न नहुने प्रतिक्रिया समेत दिए।
उनले वार्ता र संवादबाट सबै खालका समस्या समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुनसमेत आग्रह गरे।