तुलसीपुर- राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको हो।
विभिन्न तीन-चार ठाउँमा पहिरो गएको छ र हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो खसिरहेकाले हटाउन समस्या भएको र त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजाने काम भइरहेको बताइएको छ। पहिरो हटाउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ।
गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो। पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ।