धनगढी- कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ। आइतबार साँझदेखि परिरहेको अविरल वर्षासँगै नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले जिल्ला प्रशासनले बताएको छ। जल सतह बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको बताए।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन विभागको आग्रह छ।