काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन्। स्टान्डअप कमेडीमार्फत नेवार समुदायको संस्कृतिमाथि व्यंग्य गरेको उजुरी परेपछि उनी समातिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। उनले भने, ‘जाहेरी परेपछि उनहलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान भइरहेको छ।’
केही समयअघि कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत उनको एउटा स्टान्डअप भिडियो सार्वजनिक भएको थियो, जसमा उनले नेवार संस्कृति र लवजमाथि व्यङ्ग्य गरेका थिए।
शनिबार केही अभियन्ताहरूले नेवार समुदायको आस्थामाथि उक्त भिडियोले चोट पुर्याएको भन्दै परिसरमै पुगेर सिंहमाथि कारवाही गर्नुपर्ने मागसहित उजुरी दिएका थिए। भिडियोको आलोचना भएपछि सिंहले माफी मागेर उक्त भिडियो हटाएका थिए।