काठमाडौं- काठमाडौं महानगरपालिकाले गत हप्ताको मंगलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचना हटाउन थालेको छ।
नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहको निर्देशनमा महानगरले भत्काउन थालिएको हो।
अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ।
यस्तै त्रिपुरेश्वरस्थित राहादानी विभागको अन्डरग्राउन्ड पनि महानगरले खाली गराएको छ। दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगरले निर्देशन दिइसकेको छ।
महानगरको निर्देशनलाई अटेरी गर्दा अवैध संरचनामा डोजर चलाउन महानगर बाध्य भएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।
नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो।
'आज हामीले रत्नपार्क क्षेत्र र भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउँदै छौं। महानगरले ३५ दिने सूचना जारी गर्दा पनि अवैध संरचना हटाउन अटेर गरेको पाइएकाले महानगर हटाउन बाध्य भएको हो,' उनले भने। उनले यो अभियानले निरन्तरता पाउनेसमेत बताए।