शनिबार, जेठ २, २०८३

दुई वर्षपछि गोकर्णेश्वरमा जम्मा भए लाखौं भक्तजन

दुई वर्षपछि गोकर्णेश्वरमा लाखौं भक्तजनले निर्धक्कसँग दिवङ्गत पितृप्रति श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- दुई वर्षपछि गोकर्णेश्वरमा लाखौं भक्तजनले निर्धक्कसँग दिवङ्गत पितृप्रति श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन्।

National life

विसं २०७७ र २०७८ मा कोरोनाका कारण भक्तजन मन्दिर क्षेत्रमै प्रवेश गर्न पाएका थिएनन्। विसं २०७७ मा मन्दिर क्षेत्र नै सिल गरिएको थियो। विसं २०७८ मा केही भक्तजन मन्दिर क्षेत्र प्रवेश गरे पनि केही समयमै प्रहरीले हटाएको थियो। विगत दुई वर्षका तुलनामा यो वर्ष कोरोनाको त्रास कम भएको र धेरैले खोप लगाइसकेकाले धेरै भक्तजन जम्मा भएर दिवङ्गत पितृप्रति श्रद्धा प्रकट गरेका हुन्।

उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दुई वर्षपछि विशेष मेला लाग्यो। यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान गरेमा २१ पुस्ताका पितृ तर्छन् भन्ने धार्मिक विश्वास रहेको छ।  

चारवटै नाकाबाट गरी करिब डेढ लाख भक्तजनले यस क्षेत्रमा आज पितृप्रति श्रद्धाभाव प्रकट गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए। मेलाका कारण आज जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधन बन्द गरिएको थियो। जोरपाटीबाट नारायणटार हुँदै साँखु जाने सवारीसाधन पनि प्रभावित भएको उनले सुनाए।

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ। बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ।

आजको दिन थोरै दान गरे पनि हजारौं गुणा बढी फल पाइने भएकाले पूण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो। अरु दान दिन दुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ। 

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत लाखौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन्।  

मनाइयो कुशे औँसी (गोकर्णे  औँसी)  

वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षभर देव एवं पितृकार्यका लागि आवश्यक कुश आज घरघरमा भित्र्याएका छन्। भाद्र कृष्ण औँसीका दिन आज शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। कुश राखेको पानी शुद्ध हुन्छ भन्ने मान्यता छ। यसैगरी कुश रोपेको वरपर कीरा फट्याङ्ग्रासमेत नआउने वैज्ञानिकरुपमा समेत प्रमाणित भएको छ।  

मनाइयो पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बाबुको मुख हेर्ने पर्वसमेत मनाएका छन्। बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका थिए।

शनिबारको सार्वजनिक बिदाको दिन भए पनि आज पितृ सम्मान दिवस परेकाले सडकमा चहलपहल बढेको देखिन्थ्यो। नेपाली महिलाको महान् पर्व तीज नजिकिएकाले पनि मानिस बजारमा किनमेल गर्न निस्किएका थिए।

प्रकाशित: Aug 27, 2022| 21:41 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।