काठमाडौं- काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ। दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरे।
यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साबिकभन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बन्चरेडाँडा लैजाने गरिएको छ। यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ।